कला

कोरोना मितज्यू

कविता

रेखा सुवेदी

                       

मितज्यू,

दायाँबायाँ कुम जोडेरै  लाएको हुँ मीत

मितेरी सम्बन्ध कसेपछि मैले परैबाट नमस्ते गरेकै छु

मुखलाई सम्हाल्न मुखारी लगाएकैछु

ठोक्किउँला कि भनेर परैबाट तर्किएकै छु

मितज्यू,

मैले त बिर्सिएको थिएँ गुर्जो,अदुवा, बेसारका कुरा

हजुरले कोसेली थमाएपछि

मुख मिठ्याउँदै खाएकै छु

महत्त्व जानेर

माटो नपाउँदा गमलामै पनि रोपेकै छु

लौलौ मितज्यू,

हजुर संसार डुलेर आफ्नै  देश फर्किएपछि

म पनि खुलेर  

एकहल गोरु नारेर मेला पसूँला

हाटबजार, महोत्सव भर्न निस्कूँला

पिपिरीको पात बजाउँदै वल्लोघरेपल्लोघरे सङ्गीहरूसँग  

मीठामीठा गीत गाउँला

फिरफिरी नाचुँला

 

मितज्यू, एउटा आग्रह गरेँ है

हजुर फर्किएपछि

मलाई भेट्न मन भए झट्टै नाउनु होला

बरु भेटौला भर्चुअल पारामा

जुमको लिङ्क पठाउनुहोला

जदौजदौ

आकाशदेवी हवाईजहाज,

जमिनदेवी बस, कार, बाइक, स्कुटी आदि

सबै देवीदेवताहरूलाई फूलपाती चढाइदिएको छु

खुशी हुँदै जानुस्, सुविस्ताले जानुस्

मितज्यू,

फेरि म जीवनलाई बनाउँदै अझ अनुशासित र मिहिनेती

परेका खाल्डाखुल्टी पुर्दै अघि बढूँला

मुस्कानका बिरुवाहरू रोपुँला

जीवजीवात्मा हिँड्ने मार्गका दुई किनारमा  

र यो धरतीलाई स्वर्गको एक टुक्रा बनाउँला है

मितज्यू अलबिदा  

मितज्यू अलबिदा !

प्रकाशित: १९ आश्विन २०७७ ०५:२२ सोमबार

अक्षर