कला

सुदूर संस्कृति : बाँचेको खुसीमा ‘ओल्के’ मनाइँदै

डोटीको सिलगढीस्थित पुन्ना गाउँमा ओल्के पर्वको अवसरमा पिङ खेल्दै बालबालिका । तस्बिर सौजन्य : दीपक खड्का

साउन मसान्तसँगै सुदूरपश्चिम प्रदेशमा ‘ओल्के’ पर्वको रमझम बढेको छ । साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुीसयालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्व मनाइन्छ । यहाँ साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महŒवका साथ ओल्के पर्व मनाइन्छ ।

सुदूर पहाडको मौलिक पर्वको रुपमा रहेको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरु समेत फर्कने गर्छन् । यहाँ वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के र दुःखका दिन आउन थालेको दुःखमा विशु पर्व मनाउने गरिन्छ । वैशाख लगत्तै विभिन्न रोग व्याधि तथा दैवी प्रकोपको समय आउने भएकाले मर्नु पर्ने हो कि भन्ने चिन्ताले विशु पर्व मनाउने गरिएको संस्कृतिविद् डा. टीएन जोशी बताउँछन् । उनले दैवी प्रकोपबाट बचेको भन्दै खुसीयालीमा भने ओल्के पर्व मनाउने गरिएको बताए । ओल्केलाई नै लक्षितगरि सुदूरमा ‘बाँचे भनि ओल्के खानु, मरौला भनि विशु खानु’ भन्ने उखान चर्चित रहेको उनी बताउँछन् । उखानबाट नै ओल्के पर्वको महत्व झल्किएको उनले बताए ।

ओल्के पर्वमा कामका लागि बाहिरिएकाहरु समेत घर फर्कने गरे पनि यसपालि भने कोरोनाका कारण घरमै रहेकाहरु परिवारसँगै ओल्के पर्व मनाउन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँगाउँमा ओल्के पर्वको अवसरमा पिङ समेत निर्माण गरिएको छ । ओल्केकै अवसरमा यहाँका स्थानीय डेउडाको भारी खेल समेत खेल्ने गर्छन् । साउन मसान्तको राति र भाद्र संक्रान्तिका दिनभरी भारी खेल खेल्ने गरिएको चर्चित डेउडा गायक दलबहादुर बोगटी बताउँछन् । उनले भने,‘यो पर्वमा मनोरञ्जनका लागि भारी खेल र पिङलाई विशेष महत्व दिइएको छ ।’

गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात  दिएर  वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सद्भाव बाँड्ने गरिन्छ । विशेषगरि मान्यजनलाई पिँडालुका पात, काँक्रा, भाण्टा, मुला र हरियो सागपात उपहार दिने गरिन्छ । यहाँ हरियो सागपातको कोशेलीलाई नै ‘ओल्को’ भन्ने गरिन्छ । उहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुसी साँट्न यो पर्व मनाइने गरिएको डोटेली भाषा संकृतिमा विद्यावारिधि गरेका डा. बद्री शर्मा बिनाडी बताउँछन् । उनले भने,‘दैवीप्रकोपबाट बाँचिएको खुसी साट्न ठूलाबडा तथा जेठो नातापर्नेहरुलाई हरियो सागपात दिएर सम्मान दिने गरिन्छ ।’

ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन् । ओल्केका दिन गाडिएको लिङ्गोलाई भदौ मसान्तमा जलाउने गरिन्छ । भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई ‘बुढी पोल्ने’ भन्ने परम्परा रहेको उनले बताए । उनले भने,‘विशेषगरि ओल्के ठूलाबडाको आदर सत्कार र सम्मान गर्ने पर्व हो ।’

प्रकाशित: ३२ श्रावण २०७७ १४:२८ आइतबार