मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा फिल्म ‘जिरो’ रिलिज पछि फिल्मी पर्दाबाट गायब छिन्। यो फिल्म व्यावसायिक रूपमा असफल भएपछि अनुष्काले नयाँ फिल्ममा हस्ताक्षर गरेकी छैनन्। यही बीचमा अनुष्काको फिल्मी करियरसँग जोडिएको एक समाचार सार्वजनिक भएको छ।
समाचारअनुसार अनुष्काले बलिउड छोड्ने योजना बनाएकी छन्। उनले यो निर्णय लिनुको पछाडि क्रिकेटर पति बिराट कोहलीको हात रहेको अनुमान गरिएको छ। त्यसो त अनुष्का गर्भवती पनि रहेको हल्ला नचलेको होइन। तर हल्लाको स्वतन्त्र पुष्टि गर्ने आधार केही भेटिएको छैन।
अनुष्का निकट स्रोतका अनुसार विराटको सल्लाहमा अनुष्काले अभिनय छोड्ने योजना बनाइरहेकी छन्। अनुष्काले ज्यादा भन्दा ज्यादा समय परिवारलाई दिओस् भन्ने विराटको चाहनालाई मान्नकै लागि अनुष्काले फिल्म छोड्ने योजना बनाएकी छन्। तर गर्भवतीका विषयमा अनुष्काले पहिल्यै नै निराधार हल्ला भनिसकेकी छन्।
हालका दिनमा अनुष्का फिल्मी कार्यक्रम तथा पार्टीमा कम उपस्थित हुने गर्दछिन्। उनी आजकल पति विराटसँग बिदा मनाउन या क्रिकेट प्रतियोगितामा पतिको हौसला बढाउनमा व्यस्त छिन्। अनुष्काको हातमा फिल्म ‘जिरो’ पछि कुनै पनि फिल्म आएको छैन। तर शेखर कपुरको ‘पानी’ र सञ्जय लीला भन्सालीको एक बेनाम फिल्ममा अनुष्काले काम गर्ने चर्चा छ। तर नायिका तथा निर्माताले यो विषयमा केही पुष्टि गरेका छैनन्। नवदीप सिंहको कन्नड फिल्ममा पनि अनुष्का काम गर्ने चर्चा छ।
अनुष्कासँग फिल्ममा स्क्रिन शेयर गरेका नायिकाहरू भने बेरोजगार छैनन्। भूमि पेडनेकर, तापसी पन्नू, आलिया भट्ट, कटरीना कैफ, कंगना रनावत, दीपिका पादुकोण एक पछि अर्को राम्रो फिल्ममा अनुबन्धित भइरहेका छन्। विराटसँग अनुष्काले २०१७ को डिसेम्बरमा लगनगाँठो कसेकी थिइन्। विवाहपछि अनुष्काको ‘परी’, ‘सन्जू’, ‘सुई धागा’ र ‘जीरो’ रिलिज भएका थिए। यी सबै प्रोजेक्ट अनुष्काले विवाह अघि नै साइन गरेकी थिइन्।
फिल्मकर्मीका अनुसार अनुष्काले पति विराटसँग समय बिताउनका लागि पनि ब्रेक लिएकी हुन्। विश्वकप क्रिकेटसुरु हुन लागेकाले अनुष्काले पतिलाई समर्थन गर्नकै लागि पनि अभिनयबाट विश्राम लिने मनस्थिति बनाइसकेकी छन्। उनको प्रोडक्सन हाउस पनि छ। यो हाउसमार्फत फिल्महरू ‘परी’, ‘फिल्लौरी’ र ‘एनएच १०’ बनिसकेको छ। प्रोडक्सन हाउससँगै दोस्रो व्यापारिक काममा अनुष्का व्यस्त हुने भएकाले पनि उनले अभिनयलाई समय दिने छैनन्। तर अभिनय छोड्ने विषयमा अनुष्काले हालसम्म केही नबोलेकोले पनि विश्वकप क्रिकेट २०१९ पछि नै उनको भविष्य के हुने भन्ने निश्चित हुनेछ।
प्रकाशित: ३ वैशाख २०७६ ०३:०२ मंगलबार



