कला

झलनाथले हेरे ‘अनुराग’

काठमाडौं– सत्तारुढ नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार ऋषि धमलाद्वारा निर्मित फिल्म ‘अनुराग’ हेरेका छन्।

शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’मा अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको बताए। ‘अनुराग अत्यन्तै सबल चलचित्र बनेको छ। मैले हेरेको नेपाली चलचित्रमध्ये यो उत्कृष्ट लाग्यो। सन्देशमुलक छ।’

प्रतिनिधि सभाकी उपसभामुख तुम्बाहाम्फेले पनि अनुराग अत्यन्तै राम्रो चलचित्र बनेको बताइन। उनले भनिन, ‘फिल्म राम्रो लाग्यो। सबै कलाकारहरुको अभिनय जीवन्त छ।’ फिल्मले नेपाली युवा पुस्ताको भावना बोकेको उनको भनाई छ।

कलाकार जितु नेपालले पनि अनुराग राम्रो फिल्म बनेको बताए। उनले भने, ‘ऋषिजीले बनाएको अनुराग उत्कृष्ट छ। धमलाजीको एक्लो प्रयास प्रशंसनीय छ।’

सांगीतिक प्रेमकथा रहेको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो। पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ। एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको अभिनय छ। सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

प्रकाशित: १३ आश्विन २०७५ १४:०८ शनिबार

झलनाथ_खनाल अनुराग ऋषि_धमला