कला

घटस्थापनामा साजनकाे एकल साँझ

काठमाडौं – गायक साजन राईको ‘पाँचौँ एकल साँझ’ हुने भएको छ । दसैं र तिहारको अवसरमा गणेश रसिक फाउन्डेसन र संवृद्धिका लागि सांस्कृतिक अभियानले संयुक्त रुपमा राजधानीमा आगामी असोज २४ गते घटस्थापनाका दिन एकल साँझ गर्न लागेको हो।

फाउन्डेसनका अध्यक्ष गणेश रसिकले सोमबार पत्रकारमाझ एकल साँझ गायक राईलाई प्रबद्र्धन गर्न आयोजना गर्न लागिएको बताए । ‘विराटनगरलाई कर्मथलो बनाउँदै आएका साजनलाई यसपटक हामीले काठमाडौं ल्याएका छौं ’ उनले भने । कार्यक्रममा सर्वसाधारणका लागि प्रवेश निःशुल्क राखिएको छ । तर, केही टिकट भने ‘पुस सेल’ गरिने आयोजकले बताएको छ।

सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका गायक राईको ‘सेक्रेट हार्ड’, ‘तराना’, ‘पर्खाइ’ र ‘कान्छी’ गरी पप/आधुनिक विधामा चार सोलो एल्बम बजारमा आइसकेको छ । उनले यसअघि विराटचोक, दमक, बेलबारी र विराटनगरको आरोहण गुरुकुलमा एकल साँझ गरिसकेका छन्।

तीन घन्टा चल्ने कार्यक्रममा उनलाई श्रेयसी चेम्जोङ र राधा राईले गायनमा सघाउँदै छन् । शीलाबहादुर मोक्तान, मनोहर सुनाम, दीपक थापा, रविन, अनुप दास, भरत बुढाथोकी, पोषण घर्तीमगर, रत्न विकलगायत १२ जनाको लाइभ म्युजिकमा साजनले गाउने छन्।

एकल साँझमा गायक राईले ‘नेपाली नेपाली हामी नेपाली,’ ‘पूर्वको माया पश्चिमलाई,’ ‘दिन रात सानु,’ ‘तिमी गयौ र,’ ‘पैसा र बैस थाहा हुन्न कान्छी,’ ‘साइलो,’ ‘धुम तानाना,’ ‘तिमीले छमछम छमछम,’ ‘देश कहिले अन्तुमा काटिन्छ’लगायत झन्डै डेढ दर्जन गीत गाउनेछन्।

प्रकाशित: १० आश्विन २०७५ ०५:१३ बुधबार

गायक_साजन_राई एकल_साँझ