कला

रोमान्टिक हैन हत्यारा प्रेमी

काठमाडौं – एकैखाले भूमिकामा रमाइरहेको आरोप लाग्न थालेका प्रदीप खड्काले नयाँ फिल्म ‘रोज’मा आफूलाई फरक भूमिकामा प्रस्तुत गरेका छन् ।  आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म ‘रोज’मा प्रदीप रोमान्टिक प्रेमी हैन ‘हत्यारा प्रेमी’को चरित्रमा देखिँदैछन्।

फिल्मको ट्रेलर सार्वजनिक गर्न राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रदिपले भूमिकामा डुब्न निकै समय लागेको खुलाए । ‘प्रेमिकाको हत्या गर्ने प्रेमिको भूमिकामा डुब्न मलाई केही समय लाग्यो । तर यो भूमिकालाई मैले सार्थक तुल्याएको छु,’उनले भने,‘यसपटक मलाई दर्शकले विगतको भन्दा केहीफरक भूमिकामा देख्नुहुनेछ । जुन एउटा सरप्राइज नै हो।’

यसअघि फिल्मको नाम ‘रोजी’ राखिए पनि ललितपुरकी युवती रोजी महर्जनका परिवारसँगको लामो वार्तापछि यो फिल्मको नाम ‘रोजी’बाट ‘रोज’ बनाइएको हो । निर्देशक निरक पौडेलले फिल्मको रोजी महर्जन हत्याकाण्डसँग कुनै सम्बन्ध नरहेको बताए। 

कार्यक्रममा अभिनेता कर्मा र अभिनेत्री मिरुना मगरले पनि फिल्ममा काम गर्दाका आफ्ना अनुभव सुनाए । फिल्ममा निकिता पौडेल र मणिकर्ण केसीको लगानी छ । गोपिकृष्ण मुभिज र आरोही फिल्मस्को  ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको अभिनय छ।

 

प्रकाशित: ८ भाद्र २०७५ ०४:४५ शुक्रबार

फिल्म रोज प्रदीप_खड्का