कला

पर्यटन बाेर्डमा तामाङ ज्ञान महोत्सव

तामाङ ज्ञान महोत्सव उद्घाटनका क्रममा विभिन्न क्षेत्रमा योगदान पु-याएर स्थापित भएका तामाङ व्यक्तित्वहरूको तस्बिर सार्वजनिक गरिँदै। तस्बिरः केशव थोकर/नागरिक

काठमाडौं - तेस्रो तामाङ ज्ञान महोत्सव राजधानीमा सुरु भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवको बुधबार प्रदेश ३ का उपसभामुख राधिका तामाङले उद्घाटन गरिन्।

तामाङ पहिचान दिवसको अवसर पारेर विभिन्न संघसंस्थाले संयुक्तरुपमा ज्ञान महोत्सव आयोजना गरेका हुन् । महोत्सवका संयोजक गणेश योञ्जनले तामाङ जातिको पहिचानसँग सम्बन्धित विविध विषय  उजागर गर्ने उद्देश्यले  महोत्सव आयोजना गरिएको जानकारी दिए । ‘तामाङ जातिको लुकेका र लुकाइएका आफ्नो विशिष्ट पहिचान, सीप, कला, साहित्य र गौरवशाली इतिहासका ती अपार ज्ञान र पहिचानका मुहानलाई उजागर गर्न यो ज्ञान महोत्सव एउटा सशक्त माध्यम हुनेछ,’ संयोजक योञ्जनले भने।

तामाङ समुदायले हरेक वर्ष भदौ ६ गतेलाई पहिचान दिवसको रुपमा मनाउँदै आएको छ । महोत्सवका सहसंयोजक एवं भाषाविद् अमृत योञ्जन तामाङका अनुसार वि.सं. १९८९  भदौ ६ गतेका दिन तत्कालीन राणा सरकारले ‘तामाङ’ लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो। तामाङ लेख्न पाएको सोही दिनलाई तामाङ पहिचान दिवसको रुपमा मनाउँदै आएको उनले बताए। ‘त्यसअघि तामाङलाई आफ्नो थर ‘तामाङ’ लेख्न बन्देज लगाइएको थियो,’ उनले भने, ‘उक्त इस्तिहार जारी भएपछि मात्र तामाङ लेख्न पाएका हौं ।’ यही अवसरमा तामाङ जातिभित्र रहेका विशिष्ट ज्ञानलाई बाहिर ल्याउने उद्देश्यले तीन वर्षयता ज्ञान महोत्सव आयोजना गर्दै आएको उनले बताए। ‘बहस, छलफल, प्रस्तुतिमार्फत ज्ञान र सूचनाको खोजी गर्ने तथा त्यस्ता जानकारी सबैमाझ पु-याउने प्रयास हो,’ भाषाविद् योञ्जनले भने, ‘यो पटकको महोत्सवमा तामाङ जातिसँग सम्बन्धित विभिन्न विषयमा २८ वटा कार्यपत्र प्रस्तुति र त्यसमाथि अन्तरक्रिया हुनेछ।’

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख तामाङले तामाङ संस्कृतिलाई युवा पुस्तामाझ रुपान्तरण गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले तामाङ लगायत आदिवासी जनजातिको संस्कृति मुलुककै सम्पत्ति भएकाले यसको संरक्षण र प्रवद्र्धनमा राज्यबाटै सहयोग हुनुपर्नेमा जोड दिइन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले भाषा, संस्कार संस्कृतिमा रहेको विविधताले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । आदिवासी संस्कृति, ज्ञान र पहिचानको संरक्षणमा सबैले अग्रसरता लिनुपर्ने उनको धारणा थियो।

महोत्सवको पहिलो दिन प्रा.डा. दानराज रेग्मी र डा. अम्बिका रेग्मीले ‘पश्चिमी तामाङ भाषिकामा मातृभाषामा शिक्षा आवश्कता, कार्यान्वयन प्रक्रिया तथा प्रभावकारिता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  त्यसैगरी पत्रकार प्रतीक तामाङले ‘तामाङ भाषा, लिपि र लेखन अभ्यास’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी, पूर्वसचिव धनबहादुर तामाङ, ओमकारेश्वर श्रेष्ठ, लोकबहादुर लोप्चन, अमृत योञ्जन तामाङ, निष्णु थिङ, राजनलाल जोशी, अन्जु तामाङ, प्रतिज्ञा रेग्मी, ध्यानबहादुर मोक्तान, प्रताप बल तामाङ, कर्म लामालगायतले पनि आ–आफ्नो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। महोत्सवको उद्घाटनसत्रमा लेखकद्वय युग पाठक र आहूतिले मुख्य वक्ताको रुपमा तामाङ जातिको इतिहासबारे चर्चा गरेका थिए।

बिहीबारसम्म चल्ने महोत्सवमा तामाङ पुस्तक, पत्रपत्रिका, तामाङ संस्कृति, भेषभुषा, तामाङ पहिचान झल्कने तस्बिर तथा परम्परागत तामाङ सामग्रीसमेत प्रदर्शनीमा राखिएको थियो । महोत्सव उद्घाटनका क्रममा तामाङ परम्परामा अभिन्न अंग मानिने ताम्बाहरूले परम्परागत संस्कृति प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ भाद्र २०७५ ०७:२७ बिहीबार