कला/साहित्य

निमोनियाको उपचारपछि धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

दिग्गज बलिउड अभिनेता तथा हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको छ। उनलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पताल भर्ना गरिएको थियो।

बीबीसी हिन्दीका अनुसार उपचार गर्ने डाक्टरहरूको टोलीका डा. प्रीत सम्दानीले धर्मेन्द्रलाई बुधबार बिहान अस्पतालबाट घर लगिएको जानकारी दिएका हुन्। 

स्वास्थ्य अवस्थाबारे सोध्दा डा. सम्दानीले भने, ‘म यो भन्दा बढी केही भन्न सक्दिन। उनलाई लैजाने निर्णय परिवारको थियो।’

यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले सञ्चारमाध्यममा उनको ‘मृत्यु’को गलत समाचार फैलिएपछि असन्तुष्टि व्यक्त गरेका थिए।

ईशा देओलले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘मिडिया हतारमा छ, गलत समाचार फैलाइरहेको छ। मेरो बुबा स्थिर हुनुहुन्छ। निको भइरहनुभएको छ। उहाँको स्वास्थ्य लाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।’

हेमा मालिनीले लेखिन्, ‘जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन्?’

उनले थपिन्, ‘यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।’ धर्मेन्द्रलाई आदर्श मान्ने सलमान खान सोमबार साँझ अस्पताल जाँदै गरेको देखिए। धर्मेन्द्रसँग धेरै फिल्ममा काम गरेका गोविन्दा पनि राति अबेर भेट्न पुगेका थिए।

धर्मेन्द्रको टोलीका एक सदस्यले पठाएको सन्देशमा भनेका थिए, ‘धर्मेन्द्रको अवस्था अहिले स्थिर छ र उनलाई निगरानीमा राखिएको छ। हामी सबैसँग धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न र परिवारको गोपनीयताको सम्मान गर्न अपिल गर्दछौँ।’ 

अस्पताल भर्नादेखि नै न अस्पतालले न डाक्टरहरूले स्वास्थ्य बुलेटिन जारी गरेका छन्। 

सोमबार बिहान अस्पतालमा चहलपहल देखियो। जेठा छोरा सनी देओल बिहान उपस्थित थिए, दिउँसो निस्किए। अनि साँझ फर्किए। हेमा मालिनी पनि अस्पतालमा देखिइन् र केही समयपछि कारमा निस्किइन्।

प्रकाशित: २६ कार्तिक २०८२ ०९:३४ बुधबार