कला/साहित्य

उद्यमी बन्दै सेलिब्रिटी

नाम कमाउन मात्र गाह्रो हो, त्यसपछि दाम कमाउन गाह्रो छैन। अहिले विज्ञापनको विश्व बजारमा प्रख्यात सेलिब्रिटीले आफ्नो प्रसिद्धिलाई आम्दानीको राम्रो माध्यम बनाउन थालेका छन्। 

यो आम्दानी विज्ञापनमा मात्र सीमित छैन। उनीहरूले अहिले आफूलाई उद्यमीका रूपमा पनि विकास गरिरहेका छन्। प्रख्यात गायक जस्टिन बिबरकी पत्नी हेली बिबरको परिचय चर्चित मोडलका रूपमा थियो। अहिले उनले आफ्नै मेकअप ब्रान्ड ‘रोड’ बनाइन्। त्यसको मोल एक अर्ब डलर पुगेपछि उनले बेचिदिइन्। 

रियालिटी टेलिभिजनकी प्रख्यात अनुहार किम कार्दसियनको पहिरन ब्रान्ड ‘स्किम्स’को वार्षिक व्यापार एक अर्ब डलरभन्दा बढी छ। यो यति प्रख्यात छ कि अहिले यसलाई सेयर बजारमा सूचीकरण गर्ने तयारी भइरहेको छ। अर्की गायिका रिहाना अर्बपति भइसकेकी छन्। उनको आम्दानी गायनबाट बढेको होइन। उनको पनि सौन्दर्य ब्रान्ड ‘फेन्टी ब्युटी’को चर्चा सर्वत्र छ।

हलिउडका अभिनेता रायन रेनोल्ड्सले टेलिकम, एभिएसन इन्फोटेन्मेन्ट र अनलाइन सेक्युरिटीजस्ता अनेक क्षेत्रमा लगानी गरिरहेका हुन्छन्। यी सबैको अर्थ के भने पहिले कलाकार वा संगीतकर्मीले अरूका लागि व्यापार बढाइदिने काम गर्थे। अरूको व्यापार बढाउन आफ्नो अनुहार प्रयोग गर्थे। व्यापार त आफ्नो क्षेत्र होइन भन्नेमा उनीहरू विश्वस्त हुन्थे। त्यो अब पुरानो कुरा भइसक्यो। उनीहरू व्यवसायीमा परिणत भइसके। त्यो पनि सफल व्यवसायी।

प्रचारदेखि स्वामित्वसम्मको यात्रा 
बास्केटबलका महान् खेलाडी माइकल जोर्डनले नाइकसँग ४० वर्षे साझेदारी गरेका थिए। यो साझेदारीबाट उनले डेढ अर्ब डलरभन्दा बढी कमाए। कफी कम्पनी नेस्प्रेसोले अभिनेता जर्ज क्लुनीलाई ब्रान्ड एम्बेसडर बनाउन चार करोड डलर बढी खर्च गर्‍यो।

दुई दशकअघि पहलवान हल्क होगनले ‘हल्कस्टर’ नामक चिजबर्गर बजारमा मदत गरेका थिए। हुँदाहुँदा यस्तो काम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अगाडि नै देखिए। उनले आफ्नो पहिलो कार्यकाल सकिएपछि एउटा सेन्ट (पफ्र्युम) लाई बजारमा जारी गरे। उनको एउटा सेन्टको मूल्य २ सय ४० डलर पर्छ। बजारमा पाइने अनेकन परफ्युमको तुलनामा यो निकै महँगो हो।

रोचक त के भने यी सारा सामग्रीहरू सर्वसाधारणले सगर्व खरिद गर्छन्। प्रख्यात कलाकार, खेलाडी तथा राजनीतिज्ञसमेतले आफ्नो दशकौंदेखि बनाएको छवि र प्रतिष्ठा विभिन्न कम्पनीको उत्पादनमा प्रयोग गर्ने पुरानो शैलीलाई परिवर्तन गरेर आफैं त्यस्तो उत्पादनको मालिकका रूपमा चिनाउन थालेका छन्।

पुराना र नयाँ सेलिब्रिटीहरूमा फरक के छ भने पहिले उनीहरूले आफ्नो अनुहार र प्रख्याति बेच्थे, अहिले स्वयं सामग्री नै बेच्छन्। बेच्ने मात्र होइन, कम्पनी खडा गरेर तिनलाई व्यवस्थापन पनि राम्रोसँग गर्छन्। सेलिब्रिटीहरू भनेको केवल देखाउने अनुहार मात्र होइन भन्ने प्रमाणित नै गरेका छन्। धेरैजसो अवस्थामा कम्पनी निर्माण गर्ने, व्यवस्थापन, सञ्चालनदेखि त्यो कम्पनीको महत्वपूर्ण अंशियारसमेत हुने गरेका छन्।

सामाजिक सञ्जालको सहज प्रयोग र तिनको व्यापक पहुँचका कारण सेलिब्रिटीहरूले आफ्ना प्रशंसकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने बाटो खुलाएको छ। यसले परम्परागत विज्ञापन सम्झौता र शैलीको मूल्यांकन गर्ने परम्परामा पुनर्विचार हुन थालेको छ। प्रत्यक्ष–उपभोक्ता वितरण मोडलले उत्पादनलाई बजारमा पुर्‍याउन अझ सजिलो बनाएको छ। वास्तविक लाभ ब्रान्ड निर्माण र स्वामित्वमा नै निहित भएकाले धेरै सेलिब्रिटीहरूले आफ्नै उत्पादन सुरु गर्ने रणनीति अपनाएका छन्। 

उपभोक्ता उद्योगको पुनर्निर्माण 
यस प्रवृत्तिले उपभोक्ता वस्तु उद्योगको गतिशीलतालाई नै परिवर्तन गरिदिएको छ। पहिला जसरी औषधी कम्पनीका दिग्गज सञ्चालकले नयाँ औषधीको पाइपलाइनको खाली ठाउँ भर्न बायोटेक स्टार्टअपहरू अधिग्रहण गर्नेगर्थे र अहिले पनि गरिरहेका छन्, ठीक त्यसैगरी प्रमुख उपभोक्ता कम्पनीहरूले सफल सेलिब्रिटी ब्रान्डहरू खरिद गरिरहेका छन्।

रोचक त के भने यो साझेदारी पूर्णतया तर्कसंगत छ। कुनै पनि ब्रान्डको लागि पहिलो एक लाख युनिट बिक्री गर्नु नै सबैभन्दा चुनौतीपूर्ण हुन्छ तर सेलिब्रिटीहरूसँग पहिले नै वफादार प्रशंसक समुदाय छ। तिनले आफ्ना प्रिय सेलिब्रिटीको उत्पादनलाई हातहातै किनिदिन्छन्। ब्रान्डको यो सुरुवाती सफलतापछि, ठूला उपभोक्ता कम्पनीहरूले आफ्नो वैश्विक उत्पादन र वितरण नेटवर्कमार्फत यसलाई अझ विस्तार गर्छन्। 

उल्लेखनीय सौदा 
यसको प्रमाण विभिन्न ठूला व्यापारिक सम्झौताहरूमा देख्न सकिन्छ। सन् २०१४ मा प्रविधि दिग्गज एप्पलले संगीत निर्माता डा. ड्रेले अर्का एक जना साथीसँग मिलेर स्थापना गरेको बिट्स इलेक्ट्रोनिक्सलाई तीन अर्ब डलरमा खरिद गरेको थियो। यति धेरै रकम एप्पलले तिर्‍यो भन्दा धेरैलाई आश्चर्य लागेको थियो। त्यसैगरी मदिरा निर्माता कम्पनी डिएजिओले जर्ज क्लुनीले अर्का एक साझेदारसँग स्थापना गरेको टकिला कम्पनीलाई एक अर्ब डलरमा किनेको थियो । त्यस्तै हलिउडका अर्का कलाकार रायन रेनोल्ड्सको जिन डिस्टिलरीलाई ६० करोड डलरमा अधिग्रहण  गरिएको थियो।

सफलताका पछाडिका चुनौती 
प्रसिद्ध नाम मात्रले खराब उत्पादनलाई सफल बनाउँदैन। कुनै पनि कस्मेटिक्स पसलमा हेर्दा रोजी हन्टिङ्टनह्वाइट्लेको सौन्दर्य उत्पादन वा सारा जेसिका पार्करको सुगन्धित पदार्थहरू छुटमा पाइन सक्छ। ट्रम्पको नयाँ सुगन्धित पदार्थ पनि यस्तै भाग्य हुन सक्छ। एउटा सुगन्ध समीक्षा वेबसाइटले ट्रम्पको ‘भिक्टोरी ४५/४७’ (पुरुष उत्पादन) लाई ‘खासै याद गर्न लायक छैन’ भनी टिप्पणी गरेको छ।

अहिलेका उपभोक्ताहरू सामाजिक सञ्जालमा तुरुन्तै समीक्षा गरिहाल्छन्। प्रशंसकहरूले आफूलाई मनपर्ने सेलिब्रिटीको उत्पादन एक पटक अवश्य प्रयास गर्न सक्छन् तर गुणस्तरले निराश पार्‍यो भने एकै पटक जमिनमा थचारिदिन्छन्। सेलिब्रिटी ब्रान्डहरू नवीन र लाभदायक हुन सक्छन् तर चलचित्रजस्तै यसमा असफलताको सम्भावना पनि उच्च हुन्छ।

यसले देखाउँछ कि प्रसिद्धिको आधारमा मात्र दीर्घकालीन व्यावसायिक सफलता हासिल गर्न सकिँदैन। गुणस्तर, नवीनता र उपभोक्ता आवश्यकताको बुझाइ नै निर्णायक हुन्छ। अहिलेका सेलिब्रिटीहरू पहिलेका सेलिब्रिटीभन्दा लगानीका सन्दर्भमा स्मार्ट हुन थाल्नुलाई सबैभन्दा रोचक पक्ष मान्न सकिन्छ।
अनुवाद : अच्युत कोइराला (द इकोनमिस्ट)

प्रकाशित: २४ असार २०८२ १०:१९ मंगलबार

#NagarikNews #NepaliNews