कला/साहित्य

आचरण सिकाउने असल शिक्षक

व्यक्तित्व

ओखलढुंगा, हालको कोसी प्रदेशअन्तर्गत पर्ने एक सुरम्य पहाडी जिल्ला हो। नेपालका अरू जिल्लाभन्दा फरक ढंगमा ओखलढुंगा चिनिएको छ। ओखलढुंगालाई युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लिखित ‘ओखलढुङ्गा’ शीर्षकको कविताले जनमानसमा बढी चिनाएको छ।

‘तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो, खेल्यो वनकुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुङ्गा।’

यस सुन्दर कविताले नेपालीका मन मनमा ओखलढुंगालाई सम्मानित गराएको अनुभव गर्न सकिन्छ। यस जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि र इतिहास पनि सुदीर्घ रहेको छ। ओखलढुङ्गामा जन्मेका कैयौं व्यक्तिले राजनीति, साहित्य, कला, संस्कृति, अध्ययन अन्वेषण, शिक्षा, पत्रकारिता, सैनिक सेवालगायत क्षेत्रमा मुलुककै लागि ठुलो योगदान पुर्‍याएका छन् र पुर्‍याउँदै आएका छन्।

शैक्षिक क्षेत्रको सन्दर्भमा ओखलढुंगामा आधुनिक शिक्षाको संस्थागत विकासको आरम्भ २००७ सालपछि नै भएको मान्न सकिन्छ। २००७ सालको ऐतिहासिक जनक्रान्ति मुलुकको राजनीतिक परिवर्तनका लागि मात्र नभई सामाजिक परिवर्तनका लागि पनि आधारविन्दुका रूपमा रहेको हुँदा त्यसको महत्त्व ठुलो छ।

२००७ सालअगाडि नेपालमा ज्यादै सीमित संख्यामा मात्र शिक्षण संस्थाहरू थिए। ती पनि प्रायः काठमाडौं उपत्यकामा मात्र स्थापित थिए। उपत्यकाबाहिर त झन् नगण्य संख्यामा मात्रै थिए। जनस्तरमा आधुनिक शिक्षाको अवसरको अभाव थियो। यसैकारण आमजनतामा शैक्षिक चेतनाको स्तर न्यून हुनु स्वाभाविकै थियो।

जहानियाँ राणा शासकले नेपाली जनतालाई आधारभूत मानवीय स्वतन्त्रताका अवसरबाट पनि वञ्चित नै राखे। निरक्षर जनतामाथि हुकुमीतन्त्रको माध्यम अपनाएर नै राणाहरूले एक शताब्दीभन्दा बढी समयसम्म शासन चलाए। २००७ सालको जनक्रान्तिले जनतालाई राणातन्त्रबाट मुक्त गराई चौतर्फी परिवर्तनका लागि ढोका खोलिदियो। यसपछि सामाजिक परिवर्तनका लागि संस्थागत आधारशीलाको निर्माण क्रमशः हुँदै आयो।

राष्ट्रिय विकासको मेरुदण्ड नै शिक्षा भएको हुँदा प्रजातन्त्रको उदयपछि मुलुकमा क्रमिक रूपमा सार्वजनिक वा सामुदायिक शिक्षण संस्थाहरू खुल्न थाले। ओखलढुंगाको शैक्षिक उत्थानका लागि विगतदेखि वर्तमानसम्म कैयौं समाजसेवी, शिक्षासेवी, शिक्षकवर्ग आदिको भूमिका महत्त्वपूर्ण रहनु स्वाभाविकै हो।

विगतमा असंख्य शिक्षक–शिक्षिकाले जिल्लाको शैक्षिक चित्रलाई सुन्दर बनाउन आआफ्नो ठाउँबाट योगदान पुर्‍याउँदै आउनुभएको प्रस्ट छ। यस सन्दर्भमा अन्य कैयौं शिक्षक–शिक्षिकाका साथै जिल्लाका विभिन्न माविमा कार्यरत रहेर नारायणबहादुर सैंजू, षडानन्द दाहाल, दिलराम लामिछाने, सोमनाथ घिमिरे, आनन्दीप्रसाद सिंहलगायत कैयौं अग्रज शिक्षकले ओखलढुंगाको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ।

ओखलढुंगाको पहिलो सार्वजनिक माध्यमिक विद्यालयका रूपमा २००८ सालमा सगरमाथा पब्लिक हाई स्कुलको स्थापना भयो। यस स्कुलका प्रथम प्रधानाध्यापक हुनुहुन्थ्यो– रामबहादुर राजभण्डारी। यसक्रममा पद्मराज वैद्य, पदमबहादुर कार्की, केवलबहादुर थापा, कृष्णप्रसाद दाहाल, वैकुण्ठदास श्रेष्ठलगायतले विद्यालयको नेतृत्व गर्नुभएको पाइन्छ। स्थापनाकालमा स्वभावतः विद्यालयमा साधनस्रोत, जनशक्ति एवं विद्यार्थीको संख्यात्मक न्यूनता थियो। समयसँगै विद्यालयको भौतिक उन्नयनका साथै अध्ययन–अध्यापनमा गुणात्मक वृद्धि हुँदै आयो।

स्थापनाकालीन सगरमाथा पब्लिक हाई स्कुलको नाममा केही परिवर्तन गरिँदै हाल सगरमाथा जनता माध्यमिक विद्यालयका नामबाट पठनपाठन हुँदै आएको पाइन्छ। एकपटक त स्कुलको नाम सगरमाथा व्यावसायिक मावि पनि रहेको थियो। यस आलेखमा ओखलढुंगाको यसै सगरमाथा जनता मावि र ओखलढुंगा क्याम्पसमा समेत गरी झन्डै चालिस वर्षसम्म अध्यापन गरी आफ्नो जीवनको अधिक समय व्यतीत गर्नुभएका ओखलढुंगाकै शैक्षिक व्यक्तित्व नारायणबहादुर सैंजूको कर्मयात्रासम्बन्धी चर्चा गरिन्छ।

नारायणबहादुर सैंजूको जन्म १९९६ वैशाखमा ओखलढुंगा बजारमा भएको हो। उहाँका पिता रणकबहादुर सैंजू र माता धनकुमारी सैंजू हुनुहुन्थ्यो। उहाँले प्रारम्भिक शिक्षा स्थानीय स्कुलमा प्राप्त गरी नेसनल कलेजबाट स्नातक एवं त्रिविबाट अंग्रेजीमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभयो। अध्ययन गर्दागर्दै सैंजूले ओखलढुंगा हाई स्कुलमा २०२४/२५ सालदेखि नै अध्यापन पनि गर्न थाल्नुभयो। उहाँले केही वर्ष पहिल्यै स्वयंसेवी शिक्षकका रूपमा पनि पढाउनुभएको थियो। शिक्षण सेवामा स्थायी भएपछि सैंजूले केही वर्ष सहायक प्रधानाध्यापक र २०३१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी वहन गर्नुभयो। त्यसबेला २०२८ सालदेखि देशमा चरणबद्ध रूपमा नयाँ शिक्षा प्रणाली लागु गरिएको थियो।

 पुरानो शैक्षिक प्रणालीमा अभ्यस्त रहँदै आएको स्कुलको शैक्षिक वातावरणलाई नयाँ शिक्षा प्रणालीअनुसार सहजीकरण गराउँदै सैंजूले स्कुलको शैक्षिक पठनपाठनलाई खस्किन दिनुभएन। तत्काल ओखलढुंगामा सीमित संख्यामा मावि थिए। ओखलढुंगाका अतिरिक्त रुम्जाटार, च्यानम, रामपुर र निशङ्खेमा गरी पाँच मावि मात्र सञ्चालित थिए।

ओखलढुंगामा नै उच्च शिक्षाको संस्थागत विकासका लागि सैंजूले विशेष योगदान पुर्‍याउनुभएको छ। प्रअको जिम्मेवारी वहन गर्दै आउनुभएका सैंजूले स्थानीय शिक्षासेवीसमेतको सहयोग प्राप्त गरी ओखलढुंगामा क्याम्पस स्थापना गर्न नेतृत्वदायी अग्रसरता लिनुभएको पाइन्छ।

उमेरका हिसाबले वृद्धावस्थामा पुग्नुभएका नारायणबहादुर सैंजू (८७) विभिन्न कालखण्डमा लागु भएका शैक्षिक प्रणाली, नीति एवं तदनुसारको पाठ्यसामग्री सँगसँगै जोडिएर आउने गरेको मुलुकको समग्र शैक्षिक अवस्थाबारे जानकार रहनु स्वाभाविकै हो।

मुलुकको वर्तमान शिक्षा प्रणालीमा नैतिक एवं व्यावहारिक पक्षसहितको पठनपाठनमा जोड दिनुपर्ने सैंजूको विचार छ। उहाँ भन्नुहुन्छ, ‘वर्तमान शिक्षा प्रणालीबाट सामान्यतः सन्तुष्ट रहन सकिए पनि यसमा नैतिक र व्यावहारिक शिक्षालाई सँगसँगै उच्च प्राथमिकतामा राखेर पठनपाठनको स्तरीयतालाई बढाउँदै जानु आवश्यक छ।’

समाजको भौतिक विकासको गति तीव्रतर छ। विज्ञान र प्रविधिको असीम विकासको परिणति सामाजिक मूल्यमान्यतामा क्षयीकरण हुनेक्रम बढिरहेको छ। सैंजू नेपाली समाज र सभ्यताभित्रका सुदीर्घ सामाजिक, सांस्कृतिक मूल्यमान्यतालाई सम्मान गर्न सिकाउने शिक्षातर्फ बढी जोड दिनुपर्ने बताउनुहुन्छ, ‘नेपाली समाजको आधारभूत प्रकृतिलाई ध्यानमा राख्दै हाम्रा असल सामाजिक, नैतिक र सांस्कृतिक मूल्यमान्यतालाई पनि सम्मान गर्न प्रेरित गर्ने शिक्षाको बढी आवश्यकता रहेको महसुस गरेको छु।’

नयाँ पुस्ता आधुनिक प्रविधिप्रति आकर्षित हुनु स्वाभाविकै हो। शैक्षिक जगत्मा पनि आधुनिक प्राविधिक शिक्षालाई समयको मागका रूपमा स्विकार्न थालिएको छ। आधुनिक प्राविधिक शिक्षाबिना विद्यार्थीको भविष्य सुन्दर बन्दैन। औपचारिक पठनपाठनको समाप्तिपछि उपयुक्त रोजगारी पाउने अपेक्षा विद्यार्थीहरूमा रहन्छ नै। यद्यपि प्राविधिक शिक्षातर्फ मात्र जोड दिइएमा आफ्नो सामाजिक धरातलीय ज्ञान र त्यसको व्यावहारिक उपयोग गर्नबाट विद्यार्थीहरू टाढिँदै जानसक्ने हुँदा यसतर्फ ध्यान पुर्‍याउनु जरुरी भएको कुरा उहाँ बताउनुहुन्छ, ‘नयाँ पुस्तामा देखिँदै आएको आधुनिक प्राविधिक शिक्षा समयको माग हो। यसतर्फ आकर्षण पनि बढ्दै आएको छ। यसबाट हाम्रो सामाजिक धरातलीय ज्ञान र त्यसको उपयोगबाट विद्यार्थीहरू टाढिँदै जान सक्छन्। तसर्थ समयसापेक्ष आधुनिक प्राविधिक ज्ञान र सिपका साथै नैतिक, मौलिक र व्यावहारिक ज्ञान दिलाउने शिक्षामा ध्यान जानुपर्छ।’

प्राचीन पौरस्त्य वाङ्मयमा शिक्षाको महत्तामाथि विशद चर्चा गरिएको पाइन्छ। शिक्षाको ध्येय ज्ञान नै हो। नैतिक, चारित्रिक, आध्यात्मिक, आत्मिक वा सामाजिक मूल्यमान्यताको सचेत अवलम्बनबाट नै व्यक्ति स्वपरिमार्जित र परिष्कृत बन्दै जान्छ।

सामान्य तवरले ज्ञान प्राप्त गर्नु शिक्षाको प्रथम ध्येय हो तर व्यक्तिमा रहेको अथाह सम्भावनालाई पहिल्याउँदै निरन्तर आत्मोन्नयतर्फ जागृत रहन प्रेरित गर्ने माध्यम नैतिक शिक्षा नै हो। विद्यालयले विद्यार्थीमा आत्मानुशासनको प्रथम पाइला टेक्न सिकाउने नैतिक शिक्षाले नै हो। सैंजूले यसैकारण विद्यालयस्तरमा नैतिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने महसुस गर्नुभएको छ।

२०४२ साल ओखलढुंगा क्याम्पसको स्थापना हुनुअघि क्याम्पसको पूर्वाधार खडा गर्नका लागि उहाँले मिहिनेत र संघर्ष गर्नुभएको कुरा क्याम्पस सञ्चालक समितिमा लामो समय रहेर योगदान पुर्‍याउनुभएका ९४ वर्षीय समाजसेवी तथा शिक्षासेवी भैरवबहादुर श्रेष्ठ बताउनुहुन्छ, ‘प्रारम्भमा क्याम्पस खुले पनि त्यसका लागि आर्थिक अभाव थियो। प्रशासन गुहारियो। तत्काल सहयोग प्राप्त नभए पनि ओखलढुंगा जिल्ला मालपोत कार्यालयसँग अनुरोध गरेपछि जग्गा करबाट सयकडा असी पैसाका दरले क्याम्पसका लागि आर्थिक सहयोग उपलब्ध गराउने भयो। यसका निम्ति क्याम्पस प्रमुखसमेतको जिम्मेवारीमा रहनुभएका नारायणबहादुर सैंजूले ठूलो संघर्ष गर्नुपरेको थियो।

म सञ्चालक समितिको अध्यक्ष तथा समितिका अन्य पदाधिकारीहरूले पनि निकै मिहिनेत गरेका हौं। क्याम्पसलाई स्थायी तवरमा अगाडि बढाउन उहाँको योगदानको सम्मान गर्दै अवकाश पाउने समयमा उहाँलाई क्याम्पसले रु. दस लाख प्रदान पनि गर्‍यो। क्याम्पस स्थायी तवरमा सञ्चालन हुन थालेपछि जिल्लाकै लागि ठुलो योगदान पुग्दै आउनु स्वाभाविक थियो। ओखलढुंगाको शैक्षिक उत्थानमा उहाँले पुर्‍याउनुभएको योगदानलाई कसैले बिर्सन सक्दैन। उहाँ जिल्लाकै एक अग्रणी शिक्षक तथा प्राध्यापक हुनुहुन्छ।’

सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्की बताउनुहुन्छ, ‘सैंजूले सगरमाथा जनता माध्यमिक विद्यालय, ओखलढुंगा र ओखलढुंगा क्याम्पसलाई हालको अवस्थामा विकसित तुल्याउन आफ्नो सक्रिय जीवन र समय त्याग गर्नुभएको हो। उहाँले आफ्नो सक्रिय कार्यकालमा ठुल्ठुला आश्वासन र व्यक्तिगत उन्नतिका लागि महत्त्वपूर्ण अवसरहरू पाउँदा पनि त्यसतर्फ आकर्षित हुनुभएन। बरु ती अवसरलाई त्यागेर उहाँ ओखलढुंगाको शैक्षिक उत्थानका लागि समर्पित हुँदै आउनुभयो।’

प्रकाशित: २१ असार २०८२ ११:०४ शनिबार

# Nagarik