नेपाल कला परिषदमा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ। लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै बाैद्ध धर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नेपाली नाै महिला कलाकारले आफ्नो कला मार्फत पृथ्वी, पानी, आगो, हावा र आकाश जस्ता जीवनका मौलिक तत्त्वहरूको गहिरो सम्बन्ध प्रस्तुत गरेको भन्दै तारिफ गरे।
‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई अझै नजिकबाट पन्च तत्त्वको महत्त्व बुझ्न मद्दत गरेको छ। मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु। म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझै उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने।
बबरमहलमा आउँदाे असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, विधाता केसी, वर्षा मुखिया, रश्मि कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्त्वको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभाव कलामा समेटिएको क्युरेटर मिशेल लामाले जानकारी दिइन्।
प्रदर्शनीमा मिथिला चित्रकलालाई प्रस्तुत गरेकी कलाकार रश्मि कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोण जोड्दै दर्शकहरूलाई प्रकृतिप्रति साझा उत्तरदायित्वबारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ। यो विशेषत नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ। हामीले मिथिला चित्रकलालाई दिइएको विषयसँग जोडेर प्रस्तुत गरेका छौं’, उनले भनिन्।
प्रदर्शनीको पहिलो दिन लिच्छवि हाउसद्वारा तयार गरिएको चर्या नृत्य प्रस्तुत गर्दै प्रदर्शनीको सुरुआत गरिएको थियो। पहिलो दिन कलाकार रविन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराईले कला अवलोकन गरेपछि त्यसको ज्ञानको प्रभाव कलाकारितामा पर्ने विश्वास व्यक्त गरे।
असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएका छन्।
प्रकाशित: १५ असार २०८२ १२:४८ आइतबार