नेपाल स्रष्टा समाजले साहित्यकार तथा पत्रकार जयदेव गौतमको ‘किताबको अँगालोमा’ समीक्षासङ्ग्रहकाे लोकार्पण गरेको छ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिले राजधानीमा शुक्रबार आयोजना गरेको एक समारोहमा प्राडा गोविन्दराज भट्टराई, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. गिता त्रिपाठी लगायतले उक्त कृति लोकार्पण गरे।
प्रमुख अतिथि प्राडा भट्टराईले नेपाली भाषालाई बिगार्नेहरूबाट सजग रहन आग्रह गरे। उनले विदेशमा बसेर पनि, स्वास्थ्य प्रतिकूल हुँदा पनि नेपाली भाषा साहित्यमा योगदान गरिरहेका स्रष्टा गौतमको प्रशंसा गरे।
वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको चर्चा गर्दै भने,"नेपाली साहित्यको पछिल्लो चरणमा कृति केन्द्रित भएर लेखिएका समीक्षा ग्रन्थरू कम छन्। समीक्षकहरू स्रष्टाहरूको प्रशंसाको पुल मात्र बाँध्छन् तर गौतम कृतिका कमजोरीबारे मज्जैले खुलेर लेख्ने हिम्मत गर्छन्।"
प्रधानले समीक्षा गर्दा जयदेव गौतमले कृति छनौटमा सन्तुलन कायम राख्ने गरेको आफूले पाएको बताए। जयदेवजीको समीक्षा शैली आलोचनात्मक चेतले भरिएको बताउँदै गौतमले पचास साल पहिलाका कृतिको पनि समीक्षा गरेको प्रधानले जानकारी दिए।
अर्की समालोचक डा.गीता त्रिपाठीले आँखाबाट ओझेल परेपनि ओझेल नभएको व्यक्तिको रूपमा गौतमको चर्चा गरिन्। शारीरिक अस्वस्थता हुँदा हुँदै किताब पढ्नु र तीनको समीक्षा गर्नु महत्त्वपूर्ण कुरा भएकोमा उनले जोड दिइन्। उनले भनिन्, "नाटकबाहेकका विधा समेटिएको प्रस्तुत समीक्षा कृतिमा ४२ आलेख छन्। अब्बल समीक्षा छन्। तथ्यपरक समीक्षा लेखेर उनले लेखकलाई सचेत पार्ने कोसिस गरेका छन्।"
डा.त्रिपाठीले बौद्धिक, तथ्यपरक र अनुसन्धानात्मक समीक्षा रहेको बताइन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले भने, "विदेशमा बसेर प्रतिकूल स्वास्थ्य हुँदा हुँदै देशमा प्रकाशित हामीले समेत पढ्न नपाएका पुस्तकहरू अध्ययन गरी निर्भयका साथ समीक्षामा कलम चलाउने हिम्मत गर्ने व्यक्ति जयदेव गौतमले विरामी भएर,अशक्त भएर चुप लागेर बस्नु हुन्न भन्ने सन्देश दिएका छन्।"
गौतम अमेरिकाको भर्जिनिया बस्छन्। उनले पठाएको लिखित मन्तव्य उनका साथी विजय थापाले पढेर सुनाएका थिए। उक्त मन्तव्यमा भनिएको थियो- "स्वास्थ्यका कारण उपस्थित हुन सकिनँ। विकसित देशमा समीक्षाको अत्यन्तै महत्त्वपूर्ण स्थान हुने गरेकोमा नेपालमा त्यो परिस्थिति कुनैदिन आउनेछ।"
उनले कृतिको प्रकाशनसँग जोडिएका सबैलाई धन्यवाद दिएका थिए।
श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शंकर भारतीले दिएका थिए। कार्यक्रमको सञ्चालन समाजका सचिव प्रकाश घायलले गरेका थिए।
सुन्दर स्वदेश पब्लिकेशनले किताब अँगालोमालाई प्रकाशनमा ल्याएको हो।
प्रकाशित: १४ असार २०८२ ११:३७ शनिबार