कला/साहित्य

गीतकार ‘आस्था’ले गीतैमा भनिन्, ‘लाखौं चोट दियौ तिमीले तर चोटमै माया गर्छु’

गीतकार ममिला पौडेल ‘आस्था’ ले आफ्नाे जन्मदिनकाे अवसर पारेर ‘लाखौँ चोट’ बोलको गीत ल्याएकी छन्।

लाेकप्रिय गीतकार तथा मुक्तककार रमेश पौडेलकाे प्रमुख आतिथ्यमा ‘आस्था’ को ‘लाखौँ चोट’ गीतकाे लोकार्पण गरिएकाे हाे। कार्यक्रममा कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’, सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण लामा लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रमुख अतिथि पौडेलले ममिलाकाे गीतकाे शब्द, भाव र भिडियोकाे सुन्दर तालमेल भएको बताउँदै शिवराज गौतमले म्युजिक भिडियोमा गीतकाे न्याय गरेको बताए। आफूले अनेक गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे।

त्यसरी नै विशिष्ट अतिथि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य र गीत, सङ्गीतका निम्ति पनि उत्तिकै उर्वर रहेको बताए। उनले ममिलालाई थप मेहनत गर्न पनि अभिप्रेरित गरे।

भिडियो निर्देशक शिवराज गौतमले भावुक हुँदै यो म्युजिक भिडियो तयार गर्दाका अनुभूति साझा गरे। उनले यो गीत कालजयी बन्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा वागमती टीभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, उपन्यासकार अञ्जना पौडेल लगायतले जन्मदिनको शुभकामना टक्याउँदै उनको उत्तरोत्तर प्रगति, समृद्धि तथा लेखन क्षेत्रमा पूर्ण सफलताको कामना गरेका थिए।

लाेकप्रिय गजलकार विपिन मर्मले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित तमाम आगन्तुकलाई माइन्ड प्लसका प्रमुख नवीन पल्लवले स्वागत गरेका थिए।

सारिका घिमिरे र शिवराज गौतमको सुमधुर स्वर रहेको लाखौं चोट गीतमा रोजन सुन्दास, सुरज सुर्खेती लगायतले मोडलिङ गरेका छन्। शिवराज गौतमले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने कथा तयार पारेका छन्।

प्रकाशित: ११ असार २०८२ ०८:०६ बुधबार

# Nagarik