कला/साहित्य

कोइरालालाई ‘सोमनाथ घिमिरे’ र प्रधानलाई ‘सत्यमोहन जोशी’ पुरस्कार

<br>

पत्रकार बीपी कोइराला र साहित्यकार श्याम प्रधानलाई नगद राशिसहितको पुरस्कारबाट सम्मान गरिएको छ।

सञ्चार मञ्च प्रालि र गिद्धे प्रेसले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा कोइरालालाई ‘गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२’ र प्रधानलाई ‘अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार–२०८२’ प्रदान गरिएको हो।

पत्रकारिता र सामाजिक कार्यमा डेढ दशकभन्दा लामो समयदेखि पुर्‍याएको योगदानको मूल्यांकन गर्दै कोइरालालाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस्ता कार्यक्रमले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानलाई जीवन्त राख्ने बताए।

‘यस्ता अभियानले सत्यमोहन जोशीको योगदानलाई जीवन्त बनाउँछ र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुन्छ,’ उनले भने।

कार्यक्रममा डा. तुलसी भट्टराईले पुरस्कृत स्रष्टा प्रधान यस्ता पुरस्कारका लागि योग्य प्रतिभा भएको बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई जोड्ने गिद्धे प्रेसको काम उदाहरणीय रहेको उल्लेख गरे।

वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नाममा पुरस्कार स्थापना भएकोमा आश्चर्य व्यक्त गर्दै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए।

पुरस्कार ग्रहण गर्दै साहित्यकार प्रधानले यति ठूलो नामसँग जोडिएको पुरस्कारले साहित्यकर्ममा थप हौसला मिलेको सुनाए।

कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई समेत सम्मान गरिएको थियो।

प्रकाशित: ८ असार २०८२ २१:५९ आइतबार