कोहलपुर वाङ्मय प्रतिष्ठानको सहकार्यमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले समालोचना लेखन सम्बन्धी प्रशिक्षण र कार्यशाला गरेकाे छ।
प्राडा कपिलदेव लामिछानेले समालोचना विधि र नेपाली समालोचनाकाे नवीन प्रवृत्तिमाथि र प्राडा कृष्णप्रसाद घिमिरेले पावरपोइन्ट प्रस्तुतिबाट प्रशिक्षण दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रशिक्षक लामिछानेले समालोचना बौद्धिक कार्य भएकाले साधनाबाट मात्र यसको सिद्धि प्राप्त हुने बताए।
अर्का प्रशिक्षक घिमिरेले समालोचनाका प्रकार र समालोचकले निर्वाह गर्नुपर्ने धर्मबारे प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागीहरूले प्रशिक्षणबाट समालोचनाकाे नवीन शिल्प र शैलीको जानकारी मिलेको प्रतिक्रिया दिए।
कार्यशाला सत्रमा सहभागीहरूले मानक समालोचनाको ढाँचामा तत्काल नमूना समालोचना तयार गरेर सुनाएका थिए।
उक्त कार्यक्रममा पूर्णिमा साहित्य प्रतिठानका संस्थापक प्राज्ञ महानन्द ढकालको समालोचना कृति ‘खटप्वालबाट नियाल्दा’ काे लाेकार्पण गरिएकाे थियाे। उक्त अवसरमा कोहलपुर वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएका कोहलपुर र रैथाने एक अन्वेषण र रोहिणी वर्ष २ लाई पनि लाेकार्पण गरिएकाे थियाे।
कार्यक्रममा कोहलपुर वाङ्मय प्रतिष्ठानबाट यस वर्षबाट सुरु गरिएका जनही १०५००/ राशिको कोहलपुर वाङ्मय साहित्य/ कला पुरस्कारबाट कवि प्रदीप भट्टराई र केशवबहादुर खड्कालाई पुरस्कार प्रदान गरिएकाे थियो।
पूर्णिमाका उपाध्याय डा. खोपीराम वली क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, कोहलपुर वाङ्मय प्रतिष्ठानकी का.भा.अध्यक्ष सुमित्रा न्यौपाने, प्रदीप भट्टलाई लगायतले मन्तव्य राखेका थिए।
५ बजेदेखि सुरु भएको दोस्रो कार्यक्रम क्याफे कविता -२ मा कवि हेम मन्जिल र कल्पना पलकले दमदार कविता प्रस्तुत गरेका थिए।
प्रकाशित: ८ असार २०८२ ११:०७ आइतबार