कला/साहित्य

लुटेरा र पाखण्डीकै तालमेल चलेको छ!

मुक्तक

१) मुक्तक

हुन सक्छ ज्यानमा प्रहार विरोध गर्नै हुन्न

खोसिन्छ है बाँच्ने आधार विरोध गर्नै हुन्न

सुण्ड मुण्ड हुक्केहरूको आडमा उभिएर

डुक्राउँदै छ अहिले सरकार विरोध गर्नै हुन्न।

२) मुक्तक

तलदेखि माथिसम्म जालझेल चलेको छ

लुटेरा र पाखण्डीकै तालमेल चलेको छ

वर्षौंदेखि खाई आएका भ्रष्ट दलालहरूकै,

यो देश लुट्ने सक्ने अहिले खेल चलेको छ।

३) मुक्तक

दुःखीहरूको गाँस बास र कपास हराउँदैछ

जनता लुट्ने नेतामाथि विश्वास हराउँदैछ

भ्रष्ट दलाल तस्करहरूको मनोमानी देख्दा,

यो देश बन्ला भन्ने अब आभास हराउँदैछ।

मुक्तकार नवशीला

४) मुक्तक

बाहिर विरोध गरे जस्तो भित्र मिलीभगत

दलभित्रका दलेहरू हँसाउँछन् यो जगत

असल मान्छे सिध्याउनलाई हात मिलाउने,

ढोंगीहरूको ढोङ हजुर रहेछ केवल फगत।

५) मुक्तक

परेलीमा मलाई गाजल बनी बस्न मन छ

मेरी बनाई न्यानो अँगालोमा कस्न मन छ

चुम्दै हरदम गुलाफी त्यो अधरलाई प्रिय,

मिसिएर तिम्रो तनमा प्रेमले डस्न मन छ।

६) मुक्तक

तिम्रा नयन सजाउने गाजल बनिदिन्छु

तिम्रो रूप ढाक्ने सुन्दर आँचल बनिदिन्छु

मुटु तिमीलाई सुम्पिसकेँ धोका दियौ भने,

धरोधर्म तिम्रो कसम पागल बनिदिन्छु।

७) मुक्तक

भेटेको छु थुप्रै यहाँ गुनको कुरा गर्नेहरू

नपाउँदा निस्तो भात र नुनको कुरा गर्नेहरू

मपाईत्व देखाई जहिल्यै मै हुँ भन्दै दम्भ गर्दै,

वरिपरि छन् हौ हजुर सुनका कुरा गर्नेहरू।

८) मुक्तक

दिवारहरूलाई छेड्नुपर्छ घेराहरू तोड्नुपर्छ

असललाई अँगालेर खराब सबै छोड्नुपर्छ

भएर सचेत नागरिक भरेर अठोट हृदयमा,

सभ्यताको मार्ग हिँड्न गोडाहरू मोड्नुपर्छ।

९) मुक्तक

अभाव र आर्तनादको सफर रहेछ जीवन

पीर पीडा बोकी हिँड्ने डगर रहेछ जीवन

रुवाइरहने समस्याका चाङहरूले जहिल्यै,

डरलाग्दो  भिर अनि अक्कर रहेछ जीवन।

१०) मुक्तक

ज्योति छर्ने घाम बनेर नित्य उदाउनु छ

विश्वास अनि भरोसाको जग बसाउनु छ

त्यागी सारा स्वार्थ एकताको बिगुल फुकी

श्रम अनि मेहनतले यो देश बनाउनु छ।

प्रकाशित: ७ असार २०८२ १३:०४ शनिबार

# Muktak # Story # Niyatra # Nagarik