चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसीले अबदेखि आफ्ना म्युजिक भिडियोहरूमा धुम्रपान तथा मद्यपानका दृश्यहरू समावेश नगर्ने घोषणा गरेका छन्।
सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘कथाको माग’ भन्दै यस्ता दृश्य राख्ने चलन गलत भएको र आफूले व्यक्तिगत रूपमा यसलाई निरुत्साहित गर्ने निर्णय लिएको बताए।
‘दृश्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ ?’ नामक शीर्षकमा आयोजित उक्त कार्यक्रममा बोल्दै बिसीले भने, ‘पहिले-पहिले पात्रलाई ‘डन’ वा अलि ‘रफ’ र गाउँले देखाउनुपर्यो भने त्यसलाई जस्टिफाइ गर्न हामी हुक्का, चुरोट वा रक्सीका दृश्यहरू राख्थ्यौँ। तर, समयसँगै हामीले यसको नकारात्मक प्रभावबारे बुझ्दै गयौँ।’
उनले यस्ता दृश्यले समाजमा नकारात्मक सन्देश जाने र फिल्म महोत्सवहरूमा समेत पठाउन नमिल्ने जस्ता समस्याबारे थाहा पाएपछि आफूले व्यक्तिगत रूपमा यस्ता दृश्य नराख्ने निर्णय गरेको स्पष्ट पारे। उनले थपे, ‘मैले पर्सनल्ली ती कुराहरू, चुरोटहरूलाई, मदिराहरूलाई, ती कुराहरूलाई चाहिँ नराख्ने नै गरेको छु।’
सोमबार आयोजित उक्त कार्यक्रममा चलचित्र तथा म्युजिक भिडियोमा देखाइने सुर्तीजन्य पदार्थको प्रयोग, त्यसको प्रभाव र कानुनी प्रावधानबारे छलफल भएको थियो।
कार्यक्रममा कलाकार दिनेश डिसी, टिकटक स्टार तथा मोडल मिस पवि लगायत चलचित्र तथा संगीत क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले विशेषगरी युवा पुस्तामा यस्ता दृश्यले पार्ने नकारात्मक असरबारे चिन्ता व्यक्त गरेको थियो।
प्रकाशित: २ असार २०८२ १५:४४ सोमबार