मैले हिँडेको बाटो यस्तो होस्, जहाँ समयको छेकबारले पाइला अवरोध नगरिदेओस्। मौसम र स्वास्थ्यले साथ देओस्। देख्नुपर्ने दृश्यहरूलाई बादल र तुवाँलोले नढाकिदेओस्। रात परेपछि बस्ने बास पाइयोस्। थाकेर बास बस्दा स्वादिष्ट खाना खाएर घुप्लुक्क मिठो निद्रा सुत्न पाइयोस्।
बिहान सबेरै निन्द्राले छोडोस्। सखारै जर्याकजुरुक्क उठेर पाइतो सार्न जाँगर चलोस्। बाटोले बाटो देखाइदेओस्। नयाँ दृश्य देखेर ती दृश्यमा मन रमाइरहन सकोस्। बाटोले कहिल्यै पाइला नगलाओस्। बाटोले अल्छी नपारोस्। बाटो काट्न हैरानीले हिरिक्क कदापि पार्न नसकोस्। बाटो यात्राभरि साथी बनेर सँगसँगै हिँडिरहोस्। बास बसेको ठाउँबाट बिहान हिँडाएर बेलुका फेरि अर्को बासमा सकुशल पुर्याउन मद्दत गरोस्।
मैले हिँड्ने बाटो यस्तो होस्, जहाँ काँडा बिझ्दा पनि फूल टेकेझैं आनन्द मिलोस्। ठेस लाग्दा पनि खुट्टाले म्वाइँ खाएझैं मृदु स्पर्शको मिठास महसुस होस्। मैले हिँड्ने बाटोमा कुनै किसिमको अवरोध नहोस्। कुनै माग पूरा गर्न धर्ना, जुलुस र आमसभाले बाटो अवरुद्ध नगरेको होस्। हिँड्दा हिँडिरहन बाटोले डोर्याइरहोस्। बाटोले बाटो देखाउँदै, मन भुलाउँदै हिँडाइरहोस्। गन्तव्य नपुगेसम्म बाटोले साथ नछोडोस्। बाटोले पाइलालाई सफलताको चुलीसम्मै पुर्याओस्।
मैले हिँडेको बाटो यस्तो होस्, जुन बाटो हिँड्दा बाटो काटेको पत्तै नहोस्। बाटोमा देखिएका दृश्यहरूमा आँखा रमाउँदै जाओस्। नवविवाहित दम्पतीझैं वा प्रेमीप्रेमिकाजस्तै भेटिएपछि गफमा मस्त बाटो हिँडेको पत्तै नहोस्।
यस्तै कामना बोकेर हिँडेको यात्रामा मैले भने जस्तै मौसमले साथ दियो। स्वास्थ्यले साहस दियो। यात्राले गन्तव्यतिर निरन्तर हिँडाइरह्यो। म हिँडेको बाटोमा एकान्तता र शान्ति थियो। प्रकृतिको चोखो सौन्दर्य थियो। त्यहाँ कुनै प्रदूषणको चपेटाले चोट पुर्याएको थिएन। त्यहाँ कुनै ध्वनि प्रदूषणको मारमा कान टट्टाएको थिएन। त्यहाँ कुनै भिडमभिडमा मान्छे अलमलिएका थिएनन्। कुनै ट्राफिक जाममा परेर मान्छे हैरान भएका थिएनन्।
मैले हिँडेको बाटोमा शब्दभन्दा परको शान्ति थियो। भिडको होहल्ला, गाडीको कर्कश आवाज थिएन। त्यो बाटो मानौं समयको सन्दुकजस्तै थियो। त्यहाँ अतीतको सुवासले वर्तमानलाई समेट्दै लगेको अमूल्य खजाना थियो। म त्यही बाटो हिँडिरहेको थिएँ। साथमा थिए मेरा विचार, मेरो मनको एकान्त र त्यस एकान्तभित्र लुकेको प्रकृतिप्रतिको आदरभाव। मैले हिँडेको बाटोमा देखिने दृश्यहरू हेर्नुको उत्सुकता, मनको चौचौ र चञ्चलता कति थिए कति !
बिस्तारै उकालो लाग्दा, पाखामा फुलेका लेकाली फूलहरूले मेरा पाइलापाइलालाई स्वागत गरिरहेजस्तो लाग्थ्यो। कतै गुराँसको लाली, कतै घाँसको हरियाली। हावामा कुनै धुलो, धुवाँ थिएन। त्यहाँ प्रकृतिले आफैं सिर्जेको मौन संगीत बजिरहेको थियो। त्यहाँ न बज्थ्यो मोबाइलको घण्टी, न सुनिन्थ्यो ट्राफिकको तीव्र हर्न। त्यहाँ एम्बुलेन्स, दमकलको कानै खाने हर्नले पेल्दै हिँड्ने हतार थिएन। केवल पातहरूले चलाएको पवनको मन्द स्वर, चराहरूको मृदु चिरबिर, कलकल बगिरहेको पिऊँपिऊँ लाग्ने खोलाको पानी थियो। प्रकृति आफैंले सिर्जना गरेर सजाएको रूप–लावण्य थियो।
त्यो बाटोको सौन्दर्य ‘क्यामेराको फ्रेम’ भन्दा बाहिरको थियो। यो अनुभूति थियो, देखाइ मात्र होइन। यथार्थ पनि यस्तो सुन्दर हुनसक्छ भनेर विश्वास गर्न त्यहाँ पुग्नैपर्ने ठाउँ थियो।
मान्छे छैनन् भन्ने होइन तर मान्छेहरू परस्परको मौनता बुझ्थे। एकअर्कालाई ‘नमस्ते’ भन्दा अगाडि आँखाले सम्मान दिन्थे। शिर निउराएर श्रद्धा प्रकट गर्थे। ती मान्छेलाई कहिल्यै ‘देखेको’ होइन, कतै ‘भेटेको’ पनि होइन तर मित्रता ‘उहिल्यै चिनेको’ जस्तो गहिरो थियो। नबोल्दा पनि मुस्कान साटिन्थ्यो। नमस्कारको आदानप्रदान हुन्थ्यो। फेरि आआफ्नो बाटो हिँडिन्थ्यो, उकालोमा छुटिन्थ्यो, फेरि बिसौनीमा भेटिन्थ्यो।
सम्झना क्षणिक थियो। भेट पनि एकैछिनको मात्र ! तर स्मृतिमा यो सानो क्षण निकै नै महत्त्वपूर्ण थियो। यात्रामा मैले हिँडेको बाटो र भेटिएको भेटको चिनो यस्तै थियो। मैले भेटेको दृश्य यस्तै थियो। मैले अनुभव गरेको कुरा यस्तै थियो। घडीको समयभन्दा बढी महत्त्वपूर्ण लाग्थ्यो पाइला मिलाएर हिँडेको क्षण।
त्यस यात्राले मलाई आफूभित्र फर्किन सिकायो। प्रदूषणरहित आकाशको छायाले मलाई मेरो आत्मा देखायो। मानौं जीवन कुनै दौड मात्र होइन, कुनै अवलोकन पनि हो। त्यहाँ म हिँडिरहेको थिएँ। तर लाग्थ्यो– मेरा हरेक पाइलामा मैले जीवन बुझ्दै थिएँ।
साँझ पर्न थालेपछि बाटो झन् गहिरो भयो। जंगलको सुस्केरा झन् मिठो हुन्थ्यो। जून उदाउँदै थियो। आकाशको रङ बदलिँदै जान्थ्यो। मेरो मनभित्रको सहर एकछिनलाई निदाउँथ्यो। म त्यो बाटोमा एकान्त, शान्त र सुन्दर यात्रामा पूर्ण भएर बाँचिरहेँ।
मैले हिँडेको बाटो यस्तो थियो। त्यहाँ मन रमाउने प्रकृतिका अनेक दृश्य थिए। कतै झरनाको छङछङ एकनासले झरिरहेको। कतै बादलका बथान, कतै पुग्न हतारिएर दौडिरहेको। कहिले हावाको मन्द वेग, कहिले तीव्र प्रवाह, कहिले चराको उडान, कहिले पदयात्रीको ताँती ! कुनै बेला चकमन्न सन्नाटा मात्र हुन्थ्यो। एक्लै यस्तो एकलासमा हिँड्दा बेलाबेला डरले झसङ्ङ पनि पार्थ्याे।
मैले हिँडेको बाटो एक नयनाभिराम यात्रा थियो। त्यहाँ मौनताले गीत गाएको हुन्थ्यो। एकान्तले संवाद गर्न आउँथ्यो। त्यहाँ प्रकृति आफैंले खनेको ढुंगामाटोको प्राकृतिक बाटो थियो। त्यहाँ आफ्नो पूरै हृदय प्रकृतिले खोलिदिएको थियो। विशाल चट्टानबाट सुरु भएको पानीरूपी झरनाको राग, ठुलो आवाज नपारी पनि हृदयसम्म पुग्थ्यो। कतै बादलका बथान आकाशमा दौडिरहेका थिए। मानौं तिनीहरू पनि यात्रा गरिरहेका यात्री नै हुन्, जुन गतिमा उनीहरू दौडिए, त्यसैको समानान्तर मनको भाव पनि दौडिन्थ्यो।
कहिले हावाको वेग बग्थ्यो। त्यसले पातहरूलाई नचाएर कुनै पुरानो गीत सम्झाइदिन्थ्यो। चराहरू आकाशमा उडिरहेका हुन्थे। तिनको उडानमा तिनको लय र स्वतन्त्रता थियो। बाटोमा अनेक देशका पदयात्रीहरूको लर्को लागिरहेको भेटिन्थ्यो। तर त्यो कुनै मेला होइन, न त कोलाहल नै। प्रत्येक हिँडाइमा आफ्नै किसिमको अनुभूति थियो। आफ्नै मौनता थियो। सबैजना आफैंभित्रका एक्ला यात्रुजस्ता लाग्थे। आफू आफैंमा मग्न, मस्त, व्यस्त। गुनगुनाउँदै, गफिँदै, सुसेल्दै आनन्दले रमाएर लम्किरहेका !
त्यो दृश्यको सौन्दर्य कुनै चित्रकारको क्यानभासमा अटाउन सक्दैन। कुनै कविको कवितामा छचल्किन सक्दैन। बरु कुनै गफाडीको गफमा अझ बढी फूलबुट्टा भरेर व्यक्त हुन सक्ला !
अनुपम दृश्यसँगको साक्षात्कारमा आफूलाई सामेल गराउन कठिन उकालो उत्साहले चलिरहेका ज्यानहरू। यात्राको अन्तिम गन्तव्यमा पुगेर प्रकृतिसँग नजिक संवाद गरेर रमाउँदै फर्किएकाहरू। ओरालो झर्दै गरेका पदयात्रीहरू उनीहरूको अनुहारमा खुसी छचल्किरहेको अनुभव हुन्थ्यो। उनीहरूको जीवनमा यो यात्राले दिएको प्रभाव र प्रेरणा अनुहारमा पोखिरहेको महसुस हुन्थ्यो।
अपरिचित अनुहारको भावमा झल्किएका खुसीका रङहरू बेग्लै थिए। तर ती परिचितजस्तै लाग्थे। त्यो आफ्नै जस्तो लाग्थ्यो। प्यारो लाग्थ्यो र मायालु देखिन्थ्यो। त्यो प्रकृति र जीवनको रङ थियो। त्यो यात्राको रङ र आफूले हिँडेर पाएको सन्तुष्टिको रङ थियो।
वास्तवमा त्यो हिँडेर महसुस गर्न मिल्ने अनुभूति हो। त्यहाँ हरियाली मात्र थिएन, त्यहाँ जीवनको शुद्धता थियो। न प्रदूषण, न ध्वनि, न अस्तव्यस्तता। समय स्वयं त्यहाँ बिर्सिएकोजस्तो लाग्थ्यो।
त्यो बाटो शान्त र मौन थियो। सुनसान–सुनसान र चुपचाप–चुपचाप। प्रकृति बोलेको थियो, तर कुनै शब्दबिनै। म हिँडिरहेको थिएँ, म बोलिरहेको थिइनँ। तर लाग्थ्यो, मेरो मौनता र प्रकृतिको मौनता एउटै भाषामा कुरा गरिरहेका छन्। प्रकृतिसँगको संवाद र प्रेमिल संलापमा रोमाञ्चित हुँदै पाइला चालिरहेको थिएँ।
मानौं जीवनका सबै कोलाहल त्यस बाटोको सुरुवातमै झरिदिएका थिए। बाँकी थियो केवल हिँडाइ शुद्ध, सौम्य र आत्मीय।
मैले हिँडेको बाटो यस्तो थियो– त्यहाँ प्रकृति आफैंले मलाई ‘मेरो बिर्सिएको’ जीवन सम्झाइरहेको थियो। मेरा पाइलालाई कुनै हतारो थिएन। दौडधुप र कुदाकुदको आवश्यकता थिएन। ‘पुगिहाल्नुपर्ने’ र ‘बसिहाल्नुपर्ने’ कुनै औचित्य थिएन। आरामले बसेर सुस्ताइ रहनुपर्ने वा मस्तले एक निन्द्रा सुतेर हिँड्ने सुरसार गर्नुपर्ने पनि थिएन।
मैले हिँडेको बाटोमा हेर्नु थियो– हेर्नुको भोक मेटाउँदै। देख्नु थियो– दृश्यको सौन्दर्यमा रमाउँदै। महसुस गर्नु थियो– आफ्नै पहाडपर्वत, हिमाली, छाँगा र छहराका स्वरूपहरूलाई नियाल्दै।
मैले हिँडेको बाटोमा वयोवृद्धहरूको अनुभव पोखिएको थियो। बालबालिकाको जिज्ञासा सोधिरहेको हुन्थ्यो। यात्रुहरूको मौन यात्रासँगै गहिरो अनुभूति पनि बगिरहेको थियो। कहिले गुराँसको बोटमुनि बसेर मैले थकाइ मारेँ। कहिले झरना छेउमा उभिएर आकाश हेरेँ। त्यही बाटोमा पहिलोचोटि मैले कुनै घुमन्तेको भाका सुनेँ। एक्लो गोठालोको बाँसुरी महसुस गरेँ। त्यहाँ मलाई आफ्नै हृदयको धड्कनको संगीत मन पर्यो। बाटोमा प्रकृतिको स्वाद लिँदै म हिँडिरहेँ। पदयात्रीका अनुभव साट्दै पाइला चालिरहेँ। त्यो शान्त घडीमा मैले बुझेँ– गन्तव्यभन्दा गहिरो कुरा यात्रा रहेछ। यात्राभन्दा गहिरोे बाटो रहेछ। त्यसलाई मैले आफ्नो पाइला दिएको थिएँ।
आज म त्यो बाटोलाई फर्केर हेर्छु र सम्झिन्छु। त्यहाँ म छु, मेरो हाँसो, मेरो आँसु र मेरो यात्राको पाइला पनि छ। त्यो बाटो अब मसँगै छ– मेरो स्मृतिमा, मेरो लेखनीमा र मेरो मनका कुनाकाप्चामा। किनभने मैले हिँडेको बाटो अरूको थिएन। त्यो बाटोमा म स्वयं थिएँ। मैले हिँडेको बाटो यस्तो थियो। त्यो बाटोको यात्री म नै थिएँ। त्यो बाटोको भुक्तभोगी म आफू नै थिएँ। त्यसैले मैले हिँडेको बाटो मेरा लागि प्रिय थियो। मेरो प्रेरणाको स्रोत थियो। मेरो जीवनलाई ऊर्जा दिने माध्यम थियो। मेरो खास जीवन र ज्यान थियो।
प्रकाशित: २४ जेष्ठ २०८२ ०९:५१ शनिबार