कला/साहित्य

यो शब्दमा श्रीपेच

कविता

हुलाकबाट पठाएको छु

एउटा चन्द्रमा

खराब सपना देखिरहेको सहरमा

सेलेब्रेट गर्न

यसका नागरिकले देखेको सपना

कोसँग छ हातमा

सारङ्गी यस बेला

मैले लेखेको गीत गाउन

हल्ला छैन यो रातमा

र म निस्केको छु शब्दहरूका साथ

तयार छु म आफैं पनि

घोषणा गर्न डोनाल्ड ट्रम्पलाई उता

यो शताब्दीको नायक

खोज्दै यता

प्रमोसन गर्न यो रातलाई

दिनमा

रातमा सिनेमाका भिलेनहरू हेरेर थाकेका

मेरा आँखाहरू

वाचन गर्दैछन् मेरा शब्दहरू

यो दिन

फेरि एकचोटि महान् बनाऊ मेरो देश

मेरै छोरीलाई आमा बनाऊ

र मेरो छोरालाई मेरै माटोमा

बुद्ध बनाऊ

मेरै मौनता गीत बन्छ

नबोलेको दिन यस बेला

मसँग बोल्छ

एउटा नयाँ राष्ट्रगानका लागि

यस पटक मैले हेर्नु छ

मेरो कविको तौल

म बसेको छु मेरो शब्दमा

म्याजिक हेर्न होइन

म्युजिक हेर्न

मेरै मान्छेमा छाती हेरेर

भर्खर फर्केका मेरा आँखा

यस बेला शब्द चाहन्छन्

यस बेला भन्दै छु म गीत गाउनेलाई

बिनासारङ्गी नबोल

छातीको गोली झिक्दा

कति हुन्छ मेरो तौल

बोल्नुपर्छ अब गायकले

नझिक्दा कति जमिनको।

प्रकाशित: १७ जेष्ठ २०८२ ११:१० शनिबार

# Poem # Nagarik