कला/साहित्य

बालगीतको बलियो पाइलो

पुस्तक

बालगीत बालबालिकाको जिब्रोजिब्रोमा गुन्जिन सकोस्, बालगीतले बालबालिकाको मस्तिष्क छाम्न सकोस्। बालगीत उनीहरूका लागि ज्ञानवर्धक बनोस्। बालगीतबाट उनीहरूले केही सिकून्, केही जानून्। गीतले दिएको सन्देश दिमागले टिप्न सकोस्। बालमनले गीत गुनगुनाउन सकोस्। सरल होओस्, कोमलभावले भरिपूर्ण होस्।

सरल तुकबन्दीमा बालगीत लेख्नुको सार्थकता हुन्छ। क्लिष्टताभन्दा पर होस् बालगीत। बौद्धिकताको कसीमा नघोटिने भए पनि केही फरक परोइन। तब पो बालगीत बलशाली हुन्छ। चकलेटजस्तो मिठो होस् बालगीत। मन छोओस् बालबालिकाको। लयात्मक भावको गीतलाई बालबालिकाले गुनगुनाइरहून् माहुरीले झैं। तब पो बालगीत लेख्नुको सार्थकता हुन्छ। बालबालिकालाई सत्चरित्रमा लाग्न प्रेरित गर्ने, असल पथप्रदर्शक बन्ने भावका गीतहरू भए जीवनोपयोगी हुन्छ। उनीहरूमा सिर्जनशीलता भर्ने गीतहरू प्रभावकारी हुन्छन्।

गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित ‘प्रज्ञा नेपाली बालगीत’ प्रतिनिधिमूलक बालगीतहरूको सँगालो हो। यो सङ्ग्रहले छरिएर रहेका, हिजो रेडियो नेपालमा रेकर्ड गरिएका बालगीतहरू समेत संहिताकरण गरेको छ।

यसै कृतिमा नेपालमा बालगीतको सिद्धान्त, परम्परा र प्रवृत्तिमाथि विश्लेषणसमेत गरिएको छ। एक सय पचास सर्जकका बालगीतहरू एकै ठाउँमा भेला पार्ने कार्य निश्चय नै कठिन हो। यो कृति बालगीत विषयमा अध्ययन, अनुसन्धान र अध्यापन गर्नेहरूका लागि महत्त्वपूर्ण हुन सक्छ।

साहित्यको एक सशक्त विधा हो काव्य। काव्यमा गेयात्मक विधा गीत हो। हरेक गीतमा रचनाकारको वैयक्तिक विचार रहन्छ। गीत शक्तिशाली, लोकप्रिय विधा हो। बालबालिकाका निम्ति उनीहरूको रुचिलाई ध्यानमा राखेर बालगीत रचिन्छ। उनीहरूको भावनालाई गीतमा समेटिएको हुन्छ। उनीहरूको मनोविज्ञान बुझेर गीत लेखिन्छ। उनीहरूले गीतमा मनोरञ्जन लिन सके भने गीत सिर्जनाले सार्थकता पाउँछ।

बालगीत बालबालिकाको पहुँच पुग्ने भाषामा लेखिनुपर्छ। गहकिला तर्क र दर्शन बालमस्तिष्कमा घुस्न सक्दैन। त्यसैले बालगीतका विषयवस्तु चयनमा विशेष ध्यान पुुग्न जरुरी हुन्छ। बालबालिकाको उमेर, रुचि र बुझाइ बुझेर बालगीत सिर्जना गरियो भने त्यस्ता गीत प्रिय बन्छन्।

यस कृतिमा समावेश भएका सबै बालगीत बालबालिकाका मर्मसँग सम्बन्धित छन्। उनीहरूको मनोविज्ञान बुझेर लेखिएका छन्। कृतिमा समेटिएका बालगीत बालमस्तिष्कमा देशप्रेम र राष्ट्रभाव झल्काउने प्रकृतिका छन्। सुकोमल मनले अनुभव र अनुभूति गर्नसक्ने छन्।

विभिन्न शब्दहरूको जानकारी सहजै पाउन सक्ने माध्यम बन्न सक्छ बालगीत। यति भएपछि भन्न सकियो, बालगीतले विद्यालयमा औपचारिक पढाइमा स्थान पाउनुपर्छ। यस कृतिमा बालमनोविज्ञानका विषय, रोचकता र मनोरञ्जनप्रद विषय, ज्ञानवर्धक विषय, कल्पनाशीलता, दैनिकीलगायत विषयमा लेखिएका गीतहरू समावेश भएका छन्।

प्रस्तुत कृति तीन अध्यायमा बाँडिएको देखिन्छ। पहिलोमा ढुङ्गानाले नेपाली साहित्यमा गीतको उत्पत्ति र विकासको अवस्था समेटेका छन्। बालगीतका रचनाविधान, तिनमा हुनुपर्ने तत्त्व जस्ता सैद्धान्तिक विषयको सूक्ष्म अध्ययनबाट प्राप्त जानकारीलाई समेत पस्केका छन्। नेपालमा विभिन्न कालखण्डमा बालगीत कसरी विकास हुँदै आयो भन्ने जानकारी पनि सम्पादकले दिएका छन्। बालगीतका प्रवृत्तिसमेत पुस्तकमा प्रस्तुत  गरिएको छ।

कृतिले बालगीत रचनाका केही नमुनासमेत दिएका छन्। ३२ पृष्ठमा उनले नेपाली बालगीतको सिद्धान्त, परम्परा र प्रवृत्तिबारे चर्चा गर्दै त्यसमा बालगीतलाई बालसाहित्यको एक भेदका रूपमा लिँदै बालगीतको सैद्धान्तिक पाटाको विवेचना गरेका छन्। यो भागमा विभिन्न कालमा बालगीतको प्रवर्धन र विकासमा लागेकाहरूको नामसमेत प्रतिनिधिमूलक रूपमा राखिएको देखिन्छ।

समग्रमा हेर्दा एक सय ५० सर्जकका तीन सय १८ बालगीत यस कृतिमा समावेश गरिएका छन्। राष्ट्रकवि पुस्तादेखि अनुज पुस्तासम्मका बालगीत एउटै मालामा उन्ने काम पुस्तकमा भएको छ।

पुस्तकको दोस्रो अध्यायमा ‘नेपालमा बालगीत’ शीर्षक राखेर एक सय ५९ बालगीतकारका गीतहरू समावेश गरिएको छ। प्रत्येक गीतकारका दुई थान बालगीत कृतिमा समावेश गरिएका छन्। कृतिमा प्रत्येक गीतकारको संक्षिप्त परिचयसमेत दिइएको हुँदा गीतकारको सामान्य जानकारी समेत पाठकले पाउन सक्छन्। यसमा नेपाली मात्र नभएर भारतीय नेपाली गीतकारका बालगीत पनि समावेश भएका छन्।

कृतिको तेस्रो अध्यायमा रेडियो नेपालको ध्वनिसङ्ग्रहालयबाट सङ्कलन गरिएका ५६ वटा बालगीतका गीतकार र संगीतकारको नामसहितका गीतहरू समावेश गरिएका छन्। बालगीतको विकासमा रेडियो नेपालको भूमिका उल्लेख्य छ।

हिजो रेडियो नेपालमा बज्ने बालगीतमा स्वर भर्ने गायकहरूको नाम पनि दिइएको छ। यस खण्डमा सात दशकअघिदेखिका गीत समावेश गरिएका छन्। ती गीतहरू वर्णानुक्रमअनुसार मिलाएर कृतिमा समावेश गरिएको छ। हिजो सञ्चारजगत्मा रेडियो नेपालबाहेक अरू माध्यम नहुँदाको अवस्थामा रेडियो नेपालमा रेकर्डिङ गरेर बजाइएका गीतहरू मिहेनत गरी खोजेर समावेश गर्नु निश्चय नै सह्रानीय कार्य भएको देखिन्छ।

बालगीत लेख्न बालमनोविज्ञान जान्नुपर्छ। भावना बुझ्नुपर्छ। बालसुलभ हुन सक्नुपर्छ। यति ज्ञान भएन भने बालगीत लेख्न सकिँदैन। संहिताबद्ध नहुँदा बालगीतहरू हराउँदै जान सक्छन्। फेरि अन्य विधामा भन्दा बालगीतको क्षेत्रमा पुस्तकहरू पनि कम लेखिएको समयमा चार सय दश पेजको सङ्ग्रह आउनु महत्त्वपूर्ण उपलब्धि हो।

एउटै पुस्तकमा बालगीतको इतिहाससहित उतिबेला रचिएका बालगीत र वर्तमान पुस्तासम्म आइपुगेर सिर्जना गरिएका बालगीतसमेत एउटै कृतिमा अटेका छन्।

यति हुँदाहुँदै पनि कृतिमा आउनुपर्ने धेरै बालगीत छुटेका छन्, ऐतिहासिक महत्त्व राख्ने बालगीतकार अन्यायमा परेका छन्। आगामी संस्करणले तिनीहरूलाई समेट्न जरुरी देखिन्छ। यो पुस्तक हरेक विद्यालयमा बालबालिकालाई पढाउन सक्ने वातावरण बन्नुपर्छ।  

प्रकाशित: १७ जेष्ठ २०८२ ०८:०९ शनिबार

# Nagarik # Balsahitya