कला/साहित्य

नाम नपाएको सम्बन्ध

कथा

मेरो अन्तरंग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी गृष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिएँ, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिएँ कि गृष्मा पनि तयार भएकी थिइन् राधालाई भेट्न। गृष्मा राधाको व्यक्तित्वबाट अति नै प्रभावित हुन पुगेकी थिइन्। हामी डिनरका लागि आमन्त्रित भने राधा र दिवाकर दुवैको तर्फबाट भएका थियौ।

प्रारम्भमा भने म मात्र राधालाई भेट्न र डिनर खान जाने योजना बनेको थियौ, नेपाल पुगेपछिको दोस्रो दिन। नेपाल आउनुपूर्व मैले न त राधाको बारेमा न त दिवाकरको बारेमा गृष्मालाई केही भनेको थिएँ। उनलाई पटकै थाहा थिएन।

अमेरिकादेखि नेपालसम्मको बाटोमा मैले गृष्मालाई राधाको बारेमा भने बताएको थिए। गृष्मा र म अमेरिकाबाट नेपाल पुगेका थियौ, करिब दुई महिनाको छुट्टी बिताउन। मैले अध्यापन गर्ने र गृष्माले पढ्ने, दुवै कलेज समर भेकेसन भएकाले बन्द थिए, अनि घुम्न सजिलो भएको थियो पनि। गृष्माले मास्टर्स गर्दै थिइन्।

काठमाडौं, लाजिम्पाटस्थित राधाको घर पुग्ने क्रममा हामी बाटोमा थियौ। हाम्रो यात्रा इमाडोलबाट शुरू भएको थियो। रातिको खानाका लागि हामी आमन्त्रित थियौ तर दिउँसो नै राधा कहाँ पुग्ने मैले निधो गरेको थिएँ। यो घटना सन् २०१६ अगस्टको हो। हामी दुवै जना टेक्सीमा थियौ। काठमाडौंमा हुने डरलाग्दो सडक जामलेआधाको घण्टाको यात्रा दुई घण्टा पार्ने तर्खर गर्दै थियो।

मैले गृष्मालाई भने, “राधाका पति दिवाकर मेरा घनिष्ट मित्र हुन्। हामी दुवै वीरगंजका, अनि स्कूल र कलेजदेखिका साथी पनि हौ। दिवाकर यहाँको एक अस्पताल, वीर अस्पतालमा गैस्ट्रो इन्टेराइटिस सर्जन छन्। उनले ख्याति र पैसा दुवै उत्तिकै कमाएका छन्। म काठमाडौं आएको बेलामा दिवाकरलाई भेट्न छुटाउँदिन। साथै राधालाई पनि। राधालाई त झन् छुटाउँदिन। जुनसुकै अवस्थामा पनि उनीलाई भेट्छु नै।”

गृष्माले प्रश्न गरिन्, “बुआ, दिवाकर अंकल तपाइँको एकदम घनिष्ट साथी हो?”

“हो।” मैले उत्तर दिएँ।

“तर तपाइँले न त कहिले पनि दिवाकर अंकलको न त राधा अन्टीको बारेमा कुरा गर्नु भयो, किन?”

“त्यस्तो समय आएमा भन्ने विचारमा थिएँ”, मैले जवाफ दिएँ।

हामी दिवाकरको निवासमा पुग्दा साँझ पर्न थालेको थियो।

भवन निर्माण–दुर्घटनामा परी मलद्वारामा बाँस पस्न गएको एक मजदूरलाई अति नै आपतकालीनस्थितमा वीर अस्पताल पुर्याइएको र उक्त विरामीको तत्काल अपरेशन गर्नुपर्ने र त्यो अपरेशन घन्टौसम्म चल्न सक्ने हुनाले दिवाकर घरमा आउन पाएका थिएन। उनले फोनद्वारा हाम्रो स्वागतका लागि उपस्थित हुन नपाएकोमा खेद व्यक्त गर्दै राधालाई टेक्सट मैसेज छाडेका थिए।

हामी पुग्नसाथ राधा, म र गृष्मा बीच कुराकानीको सिलसिला सुरू भएको थियो। कुराकानी निकैबेर चल्यो।

रातिको नौ बज्दा खाना खाने कार्य सुरू भयो।

खाना खाएपछि मेरो र राधा बीच कुराकानीको सिलासिला पुनः सुरु भयो। तर यो पटक भने गृष्मा हामी दुई बीचको कुराकानीमा सरिक नभएर राधाको छोरा सुयोगसँग कुरा गर्नमा व्यस्त भइन्। लिभिंग रुममा नबसेर माथिल्लो तल्लामा रहेको सुयोगको कोठामा पुगिन्। संयोगले केही महिना पूर्व मात्र एमबीबीयस सक्याएका थिए।

राधा, म दिवाकर तिनै जनाले सँगै आइयस्सी पढेको र हामी तिनै जना घनिष्ट साथी भएको हुनाले मैले राधा भन्ने गरेको थिएँ, भाउजू भन्ने गरेको थिइन।  

लिभिंग रूममा लामो समयसम्म कुरा भएपछि राधाले केही तस्वीर हेर्न आग्रह गरिन्। ती तस्वीर हेर्न उनको बेडरूममा हिंडन उनीले इसारा गरिन्। हामी दुवै बेडरूममा लाग्यौ र केहीबेर तस्वीर हेर्‍याैं। हामीले बेडरूममा बसेर निकैबेरसम्म गफ पनि गर्‍याैं।

बेडरूमबाट बाहिर आउँदा रातिको एघार बजिसेको थियो। ग्रृष्मा र सुयोग अझै माथि कुरा गरिहरेका थिए। अपरेशन सफल भए पनि विरामी अबजर्भेसनमा राख्नुपर्ने भएकाले दिवाकर राति दुई बजेतिर मात्र घर आउन सक्ने जानकारी राधाले फोनबाट पाइसकेकी थिइन्।

मैले हाँस्दै भने, “राधा, दिवाकरको स्केज्युल निकै टाइट हुँदो रहेछ, कामबाट फुर्सत पाउन निकै गाह्राे हुने...। है?”

राधाले भनिन्, “दिवाकरको जीवनको तिन चौथाई समय अस्पताल र क्लिनिकमा बित्छ र एक चौथाइ मात्र घरमा वित्छ।” यति भनेर राधा केहीबेर हाँसिन् पनि।”

निकै ढिलो भएको अनुमान गर्दै आफ्नो आवाज केही चर्को पारेर मैले भने, “गृष्मा, घर जाने होइन? झन्डै आधा रात हुन थाल्यो। आज यतै बस्ने विचार छ कि क्या हो?”

यस्तो भनेर हामी जाने हतारमा रहेको सूचना मैले राधालाई पनि दिन चाहेको थिएँ।

हामी हाम्रो निवास इमाडोलतर्फ लाग्न राधाको दरवारझैं प्रतीत हुने घर छोड्दा रातिको एघार बजेको थियो। हामीलाई घरसम्म पुर्याउन राधाले आफ्नो ड्राइभरलाई आग्रह गरेकी थिइन्।  

भोलिपल्ट हामी, म र गृष्मा वसन्तपुर दरवारको अवलोकन गर्दै थियौ। केही महिना पहिले गएको डरलाग्दो भुइँचालोले दरवारलाई नराम्रो गरी क्षतिग्रस्त गरेको दृश्यले हामीलाई साह्रै दुःखी पारेको थियो। दरवार परिसर हेरिनै रहेको क्रममा मैले प्रसंग परिवर्तन गर्दे भने, “गृष्मा, कुनै यस्तो सम्बन्ध हुन्छ जसको कुनै नाम त हुँदैन तर त्यो वर्षौदेखि कायम रहन्छ।”

प्रसंग परिवर्तन सहित आएको नौलो विषयले गृष्माको ध्यान तुरन्त आकृष्ट गर्‍याैं। दरवार परिसरतिर फैलिएको दृष्टिलाई मतिर केन्द्रित गर्दै उनले प्रश्न गरिन, “के भन्न खोज्नुभएको, मैले त प्रष्ट गरी बुझिन, बुआ?”

“मैले अघि भनेको कुरालाई उदाहरण सहित भन्छु। यस्तो गरेमा बुझ्न सजिलो होला?” मैले भने।

कथाकार विश्वराज अधिकारी

मैले भने, “हेर गृष्मा, एक महिला र दुई पुरुष गरी तिन जना घनिष्ट मित्र छन्। तिनै जना कलेजमा एउटै कक्षामा, एउटै विषय पढ्छन्। ती युवतीको पहिलो युवकसँग प्रेम हुन्छ। प्रगाढ प्रेम हुन्छ तर युवतीको बिहे भने दोस्रो युवकसँग हुन्छ। पहिलो युवक गरिब परिवारको भएको र दोस्रो युवक धनी परिवारको भएकाले युवतीको आमाबाबुले बलपूर्वक ती युवतीको बिहे दोस्रो युवकसँग गरिदिन्छन्। दोस्रो युवकलाई भने केही थाहा छैन। पहिलो युवक र युवतीको प्रगाढ प्रेमको बारेमा उसलाई केही थाहा छैन, अनुमान पनि छैन। दोस्रो युवक केवल पढाइमा केन्द्रित रहने प्रकृतिको छ।”

मैले भन्ने क्रम जारी नै राखे, “बिहेपछि पनि पहिलो युवक ती युवतीलाई भेट्न निरन्तर जान्छ तर दोस्रो युवकले एक असल मित्र उसलाई निरन्तर भेट्न आएको विश्वासमा बस्छ। यो क्रम आज तीस वर्षदेखि चलिरहेको छ। निरन्तर रूपमा।”

“पहिलो पुरुष र ती महिला, अबको स्थितिमा, बीचको सम्बन्धलाई के नाम दिने, हँ गृष्मा?” मैले प्रश्न गरे।

“खोई, म भन्न सक्ने स्थितिमा छैन। मलाई थाहा भएन पनि।”

गृष्माले थपिन, “त्यो पहिलो युवक नरेन्द्र उपाध्याय हो। तपाइँ नै हो। यतिचाहिं भन्न सक्छु।”

“हैन त?” गृष्माले प्रश्न पनि गरिन्।

“तिम्रो यो उमेरले तिमीलाई यो प्रश्नको उत्तर दिन सजिलो पारिदियो।” यति भनेर म निकैबेर हाँसे।

गृष्मा पनि हाँसिन्।  

प्रकाशित: १२ जेष्ठ २०८२ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App