चलचित्र पत्रकार संघ, नेपालको दोस्रो राष्ट्रिय भेलाले ११ बुँदे घोषणापत्र जारी गरेको छ । राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा २६औं वार्षिकोत्सव अवसरमा इलामको श्रीअन्तुमा जेठ ६ देखि ९ सम्म आयोजित भेलाले सिने पर्यटनलाई जोड दिँदै घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजार विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय गरी प्रोत्साहन, प्रवर्द्धन गर्न पनि आग्रह गरिएको छ ।
अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनमा समेट्न माग गर्दै संघले आफ्नै पहलमा कल्याणकारी कोष खडा गर्ने योजना रहेको घोषणापत्रमा उल्लेख छ । साथै, कल्याणकारी कोष शीर्षकमा नेपाल पत्रकार महासंघलाई बुझाउँदैआएको शुल्क अब आफ्नै कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय पनि भेलाले गरेको छ ।
विधागत पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन संघले माग गरेको छ । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन पनि माग गरिएको छ । ‘इलामका स्थानीय तहमा चलचित्र र पर्यटन विकास, विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ, ‘सूर्याेदय नगरपालिका भारतीय सीमासँग जोडिएको स्मरण गराउँदै केही भू–भागमा दुई मुलुकबीच आवतजावत असहज भएकाले सहज हुने वातावरण निर्माणका लागि जोडदार माग गर्दछ ।’
सूर्याेदय नगरको पर्यटन विकास र विस्तारमा सघाउन तथा सिनेमा पर्यटनलाई जोड्दै विभिन्न कार्यक्रम तय गर्न पनि संघको माग छ । भेलामा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकारहरू शिव श्रेष्ठ, बसुन्धरा भुसाल, गौरी मल्ललगायत पनि सहभागी भए । भेलामा चलचित्र क्षेत्रमा योगदान गर्ने सात पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रकाशित: ९ जेष्ठ २०८२ १९:०७ शुक्रबार