कला/साहित्य

राष्ट्रिय पोसाक

लघुकथा

‘आज हाम्रो विषय छ राष्ट्रियता’ हेडसरले सबै विद्यार्थीलाई जानकारी गराउँदै भने।साथै कालाेपार्टीमा पनि लेखे।

‘जी सर!’ सबै बालबालिकाले एकमुस्ट समर्थन जनाए।

‘आज हाम्रो देश विदेशीको मण्डी बनेको छ। हाम्रो पहिचान गुम्दै गएको छ।’ हेडसरले सबैतिर नजर घुमाउँदै भने।

सबैले समर्थन गरे, ‘जी सर!’

‘कुनै पनि देशको आफ्नो भाषा, संस्कृत र राष्ट्रिय पोसाक, चिन्हहरू हुन्छन्।’ हेडसरले जानकारी गराए।

विद्यार्थीले समर्थन गरे, ‘जी सर!’

‘तिमीहरूलाई थाहा छ हाम्रो राष्ट्रिय पोसाक केके हुन?’ हेडसरले सोधे।

सर! म भनौं?’ रमेशले भन्ने अनुमति माग्यो।

‘भन!’ हेडसरले अनुमति प्रदान गरे।

‘राष्ट्रिय पोसाक- दाैरा, सुरूवाल र टोपी’ रमेशले भन्यो र सिटमा बस्यो।

‘अरू कसैलाई केही भन्नु छ?’ हेड सरले सोधे।

एउटा हात उठ्यो।

‘भन’ हेडसरले अनुमति दिए।

‘सर, म विनिता नेपाली कक्षा पाँच रोल नम्वर १२ के भन्न चाहन्छु भने। हाम्रो देशमा विदेशी अतिक्रमण भयो भनेर हामीले भन्छौं अनि आफैले ठाउँ छाड्दिन्छौं।’

हेडसरले बिचमै सुझाए, ‘सटिकमा विषयवस्तुतिर जाउँ।’

‘जी सर! मैले त्यही भन्न खोजेकी छु।

हाम्रो स्कुलमा कुनै सरहरूले राष्ट्रिय पोसाक लगाएको अहिलेसम्म मैले देखेकी छैन।’ विनिताले आफ्नो विचार राखी।

हेडसरले भने, ‘आजको क्लासमा राष्ट्रिय पोसाकका कुरा भए पनि कसले लगायो कसले लगाएन त्यो अहिलेको विषय होइन।’  

‘जी सर!’ सबैले सर्मथन गरे। विनिताले सबैतिर नियालिरही।

प्रकाशित: ७ जेष्ठ २०८२ १३:४५ बुधबार

# Laghukatha # Nagarik