कला/साहित्य

गायिका झुमा भन्छिन्: २५ वर्षमा 'जार' मा गरेको काम चित्त बुझेको छ

गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र 'जार' मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।

साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । 'म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार,' झुमा भन्छिन्,'मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसै जारमा काम गरेँ ।'

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । '२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,' झुमा भन्छिन्,'जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।'

चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ।

प्रिमियरमा चलचित्र 'जार' हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।

'जार' मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

चलचित्र 'जार' मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित: २५ वैशाख २०८२ १६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App