कला/साहित्य

उपन्यासकार किरण आचार्यकाे ‘जरत्कारू’ उपन्यासकाे परिचर्चा

साहित्यिक पत्रकार सङ्घले उपन्यासकार किरण आचार्यकाे ‘जरत्कारू’ उपन्यासकाे परिचर्चा गरेकाे छ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख व्यक्तित्व भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी रहेका थिए।

त्यसैगरी अन्य विशिष्ट व्यक्तित्वहरूमा समालोचकद्वय प्रमोद प्रधान र प्राडा गोविन्दमानसिंह कार्की, आख्यानकार नयनराज पाण्डे, उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा पत्रकार एवम् लेखक राजकुमार बानियाँ लगायतको उपस्थिति रहेको थियो।

प्रमुख व्यक्तित्व डा. लवदेव अवस्थीले जरत्कारू उपन्यास पूर्वीय दर्शनमा आधारित र पौराणिक पात्र र कथासँग सम्बन्धित रहेकाले यसको विशेष महत्त्व रहेको बताए।

कार्यक्रमकाे सभाध्यक्ष लेकालीले उपन्यासकार किरण आचार्यको व्यक्तित्व तथा कृतित्वबारे संक्षेपमा प्रकाश पारेका थिए। उनले किरण आचार्यबाट अरू थप पौराणिक कृतिहरू जन्मिने अपेक्षा गरेको बताए।

अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएको कार्यक्रमको सञ्चालन स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ ले गरेका थिए।

कार्यक्रममा पौराणिक पात्र जरत्कारूबारे उपन्यासका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधान तथा आख्यानकार नयनराज पाण्डेले संक्षेपमा समालोचकीय टिप्पणी गरेका थिए।

उपन्यासकार किरण आचार्यले उपन्यास लेखन यात्राबारे बोल्दै कोभिड महामारीको बेला तथा लकडाउनको अवस्थामा उक्त उपन्यास लेखिएको बताइन्। साथै उनले यसअघि लेखेका पौराणिक उपन्यासहरू ‘अहल्या’ र ‘परशुराम’ बारे संक्षेपमा प्रकाश पारेकी थिइन्।

उपन्यासकार आचार्य नेपालगन्जमा बसेर साहित्य साधना गर्दै छिन्। कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्की, राजकुमार बानियाँ र शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यिक पत्रकार संघकाे तर्फबाट नेपाल लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीलाई बधाई ज्ञापन गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०८२ १२:०६ आइतबार