कला/साहित्य

चलचित्र 'शिवांश: च्याप्टर १' को निर्माण घोषणा

नेपाली चलचित्र 'शिवांश' को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै 'शिवाशं: च्याप्टर १' निर्माणको घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिङ्गो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति सङ्घर्षमा आधारित रहेको सङ्केत गर्दछ । तर कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन ।

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको सङ्गीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।

प्रकाशित: १७ वैशाख २०८२ १४:२५ बुधबार

#Flim Siwags Chapter 1