कला/साहित्य

कवि किरातीलाई ‘लिब्जु-भुम्जु पुरस्कार’

कवि सोनाम सज्जन किरातीलाई ‘लिब्जु-भुम्जु पुरस्कार-२०८१’ प्रदान गरिने भएको छ।

२०५० सालदेखि निरन्तर प्रकाशित ‘लिब्जु-भुम्जु’ त्रैमासिक पत्रिकाको सय अंक पुगेको अवसरमा उक्त पुरस्कारको घोषणा गरिएको हो।

‘लिब्जु-भुम्जु’ मा वर्षभरि प्रकाशित कवितामध्ये सोनाम सज्जन किराती (देवराज राई) को कविता उत्कृष्ट कविताकाे रूपमा छानिएको हो।

वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोजक रहेकाे पुरस्कार छनोट समितिले किरातीको कवितालाई उत्कृष्ट कविताकाे रूपमा छानेकाे हाे।

लिब्जु-भुम्जु त्रैमासिक ९८औं शृंखला, २०८१ साउन-असोज अंकमा प्रकाशित ‘बुल्याम पो दाजु ब्अिम्सै हाहासिम’ (बुल्यामको बाउ दाजु सोच्दै भक्कानिए) कविताले ग्रामीण जनजीवनको मर्मस्पर्शी रूपमा चित्रण गरेको छ। कविताले रोजगारीका लागि सिलोङ पुगेका एक युवकको कथाकाे माध्यमबाट घरगृहस्थीको साैन्दर्य र लोप हुँदै गएको भाषासंस्कृतिको पीडादायी यथार्थ पस्किएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किरातीका ‘नपुंसक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह, २०७२) र ‘जनयुद्धमा बितेका पल’ (संस्मरणसंग्रह, २०८०) प्रकाशित छन्।

उक्त पुरस्कार नेपाल टेलिभिजनका  पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ सालमा स्थापना गरेका हुन्। अहिलेसम्म यस पुरस्कारबाट २४ कवि पुरस्कृत छन्। सम्मानपत्र सहितको ५ हजार रुपैयाँ राशिकाे उक्त पुरस्कार २५औं वाम्बुले राई भाषाको कविता गोष्ठीमा प्रदान गरिने सम्पादक गणेश राईले बताए।

प्रकाशित: १७ वैशाख २०८२ १२:३९ बुधबार

# Nagarik # Poem # Libju-Bhumju Award