स्रष्टा मोदनाथ खनालको प्रबन्ध कृति ‘मानिस किन बिदेसिन्छन्?’ को लोकार्पण भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व राजदुत तथा परराष्टविद डा. दिनेशराज भट्टराई, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, काँग्रेसका नेता गुरु घिमिरे, छविरमण सिलवाल, प्राडा मुकुन्द लामिछाने, ज्ञानु अधिकारी तथा स्रष्टा मोदनाथ खनाल लगायतले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले बाल्यकालदेखिका कुरा सहित नेपालका विविध विशेषता समेत उल्लेख गरिएको कृति वर्तमान नेपालको राजनीतिक बेथिति उजागर गरेको र मानिस विदेसिनुका कारणहरू स्पष्ट राखेको बताए।
पूर्वमन्त्री चीनकाजी श्रेष्ठले नेपालको वर्तमान राजनीतिप्रति रोष प्रकट गरे। उनले भने, ‘राजनीति लोभीपापीहरूको अखडा बनेको छ। असल व्यक्तित्वहरू पछि पर्ने अवस्थाले देश दूरावस्थामा गएको हो। यसैले खनाल जस्ता इमान्दार व्यक्ति नेपाल फर्केर राजनीतिमा सक्रिय हुनुपर्छ। सही मान्छेले सही ठाउँ नपाएर विदेसिनुपरेको वर्तमान यथार्थता हो।’
अर्का नेता गुरु घिमिरेले पनि राजनीतिक बेथिति मन नपरेको बताए। उनले नेताहरूमा भनाइ र गराइमा फरक परेको बताए। कार्यक्रममा पत्रकार किशोर नेपालले शुभकामना मन्तव्य व्यक्त गरे।
कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले भनिन्, ‘पुस्तकको शीर्षक नै मूर्त भएकाले शीर्षकले नै धेरै कुरा बोलेको छ। आजको समयको जल्दोबल्दो विषयमाथि भोक्ताले लेखेको कृति हो। यसमा विदेसिएका मान्छेको मनोदशा आएको छ। राजनीतिक दल र तिनका नेताहरूको अदुरदर्शिताको कारण धेरै नेपाली विदेसिएको कुरा कृतिमा प्रष्ट्याइएको छ।’
अर्का टिप्पणीकर्ता प्राडा मुकुन्द लामिछानेले भने, ‘दार्शनिक चेतमा खनालको यो कृति आएको छ। मूलत: दर्शन र राजनीतिलाई विषय बनाएर राजनीतिक कारणले नेपालीहरू विदेसिनुपरेको तथ्य राखिएको छ। कृतिले तीनखुट्टे ओदानको रूपमा वर्तमान तीन ठूला दलहरूको अर्कमण्यताले मानिस विदेसिन वबध्य भएका छन् भन्ने कुरा प्रष्ट पारेको छ।’
कृतिकार खनालले लेखिंरहँदा आफूलाई आनन्द लाग्ने बताए। उनले पुस्तक रचनागर्भबारे भने, ‘लेख लेख्छु भनेर थालनी गर्दा किताब तयार भयो। मैले मेरो भोगाइ र अनुभूतिहरूलाई पुस्तक मार्फत प्रकट गरेको छु।’
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासेको सञ्चालन तथा प्रतिष्ठानका महासचिव कवि, नियात्राकार प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए।
लोकार्पण कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रकाशित: १५ वैशाख २०८२ १२:५६ सोमबार