नेपाल हाम्रो देश हो, जननी हो, जन्मभूमि हो। विश्वको जुनसुकै कुनामा पुगे पनि देशप्रति अगाध श्रद्धा हुन्छ, छ र रहिरहन्छ। आफू जन्मेको भूमि वा आफ्नो मौलिक पहिचान भएको देश नै आफ्नो देश हो। यसप्रति प्रेम गर्नु सबै नागरिकको कर्तव्य पनि हो। देशप्रेमभित्र देशप्रतिको श्रद्धा, माया, नागरिक हुनुको गर्वबोध, सद्भाव, सद्विचार, सहयोगको भावना, सहिष्णुता, संस्कृतिको गौरव, प्राकृतिक सुन्दरताको मोह, जातीय एकताको भावना, देशको गौरवमय इतिहास, अखण्डताप्रतिको मोह, संस्कृत मोह, भाषाप्रतिको प्रेमजस्ता यावत् कुरा समेटिएका हुन्छन्।
आफ्नो देशप्रतिको निःस्वार्थ प्रेमले देशवासीमा देशको माया जगाउँछ। देशप्रतिको राम्रो भावनाले देशप्रेमको अभिवृद्धि गर्छ। देशप्रतिको मायाको परिभाषा देशप्रतिको प्रेमले गर्न सकिन्छ। हामी सबै मिलेर भाइचारा र मायाले बाँचौं भन्ने सन्देश देशवासीलाई दिन पनि देशप्रेम चाहिन्छ। देशका हरेक व्यक्तिले देशको हितका लागि सोच्ने हो भने एक दिन हाम्रो देश अरू देशका तुलनामा धेरै गुना बलियो र विकसित हुन्छ।
देशको संस्कृति व्यापक एवम् विषद् विषय हो। सबै देशका आआफ्नै संस्कृति हुन्छन्। यसलाई मानिसको समग्र जीवनपद्धतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ किनभने संस्कृति मानवनिर्मित वस्तु हो। सुरुसुरुमा गास, बास र कपासको पूर्तिका लागि मानिसले अनेक तरहका व्यवहारहरू गर्ने क्रममा सोहीअनुसारको वस्तु, खाना र पहिरन संस्कृतिको निर्माण भयो। त्यसको निरन्तरता अनवरत छ र रहिरहने छ। यसका अतिरिक्त मनोरञ्जनमूलक संस्कृति, भक्ति र स्तूतिमूलक संस्कृतिको समेत विकास हुन पुग्यो। यसरी सरलताबाट प्रारम्भ भएको सांस्कृतिक परम्परा वर्तमान समयमा भने अत्यन्त जटिल बन्दै गएको पाइन्छ। संस्कृतिलाई पहिले पहिले खानपिन, नाचगान, चाडपर्व, धर्मकर्म, वेशभूषा आदिका रूपमा मात्र बुझिन्थ्यो। वर्तमान समयमा भने संस्कृतिले व्यापक क्षेत्र ओगट्छ जसलाई पालना गर्नु गराउनु देशप्रेम हो।
मानिस संस्कृतिविहीन भएर जन्मन्छ। उसले बिस्तारै आफ्नो उमेर, विवेक, ज्ञान र रुचिअनुसारको संस्कृतिलाई अवलम्बन गर्दै जान्छ। यसका लागि सामाजिक गतिविधि र परम्पराले ठुलो प्रभाव पार्छ। आफू जन्मेको देश, त्यहाँको संस्कार र संस्कृतिको प्रभाव सधैं रहिरहन्छ र त्यसलाई जोगाउनु महŒवपूर्ण हुन्छ किनभने व्यक्ति–व्यक्ति मिलेर परिवार र परिवार परिवार मिलेर समाजको निर्माण भएको हुन्छ। त्यसैले हरेक व्यक्ति समाजको अङ्ग हो भने समाज व्यक्ति र परिवारको सामूहिक रूप हो। त्यसैले कुनै पनि व्यक्ति सामाजिक गतिविधिबाट अलग रहेर बाँच्न सक्दैन। फलतः उसमा समाजको गहिरो प्रभाव पर्छ। संस्कृति निरन्तर रूपमा परिवर्तन भइरहने हुनाले यसको स्वरूप र आयामलाई नियाल्न सहज छैन।
जीवनयापनका क्रममा देखा पर्दै जाने रहर, आवश्यकता, बाध्यता, अभाव, उन्नति, प्रगति तथा विकास र चेतनाका गतिहरूले संस्कृतिलाई परिवर्तन गर्दै लाने हुनाले यसको गति र क्षतिलाई पहिल्याउन कठिन हुन्छ। बसाइँसराइ, मिश्रित सामाजिक संरचना, आर्थिक अवस्था विज्ञान र प्रविधिको विकास, बदलिँदो राजनैतिक परिवर्तन, विश्वव्यापीकरण आदिका कारण संसार सानो गाउँ भएको छ। विश्वको कुनै पनि कुनाको सूचना क्षणभरमा अर्को कुनामा पुग्छ।
वर्तमान समयमा संसारभरमा मानिस विश्वका हरेक मुलुकमा छरिएर बसोबास गर्न थालेका छन्। यसरी एउटा समाजका संस्कृति, एउटा मुलुकका संस्कृति अर्को समाज वा मुलुकमा तुरुन्तै पुग्ने कारण पनि एक अर्को संस्कृतिमा व्यापक पर्छ। हिजो बाँच्नका लागि खाने संस्कृतिको निर्माण भएको थियो, आज खानाकै लागि खाने संस्कृतिको विकास भएको छ। हिजो आवश्यक काम परेको बेला मात्र घुमफिर गरिन्थ्यो, आज केवल घुमफिरकै उद्देश्यले यात्रा गरिन्छ। हिजो रमाइलोका लागि नाचगान गरिन्थ्यो, आज पेसाका रूपमा पनि नाचगान गरिन्छ। हिजो महिनांै हिँडेर पुग्ने ठाउँमा आज घण्टामा पुग्न सकिन्छ। समयको गतिसँगै, मानिसको चेतनाको विकाससँगै संस्कृतिको निर्माण हुँदै जान्छ। त्यसैले संस्कृति अझ व्यापक बन्दै गएको छ। संस्कृतिको स्वरूप विकासको गतिसँगै भिन्न रूपमा पैmलावट हुने हुनाले यसलाई व्याख्या, विश्लेषण गर्न सहज छैन।
प्राचीन समयमा एउटा निश्चित भूभागमा विद्यमान संस्कृति सोही ठाउँमा सीमित हुन्थ्यो भने आज कुनै पनि प्रख्यात संस्कृति तुरुन्तै विश्वभर पैmलन पुग्छ। सांस्कृतिक प्रभाव विशेषतः शक्ति सम्पन्न राष्ट्रहरूको संस्कृतिको प्रभाव विपन्न राष्ट्रहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्ने गर्छ। यसरी हेर्दा वर्तमान समयमा संस्कृतिको स्वरूप व्यापक रूपमा विस्तारित भएको देखिन्छ। हिजो चिठीपत्र लेख्ने हुलाकी संस्कृति, आकाशवाणी, टेलिफोन, पेजर हुँदै मोबाइल संस्कृतिमा पुगेको छ। यसरी नै चोक, बजार, मेला, हाटमा हेरिने सुनिने नाचगान, गीत, सङ्गीत नाट्यशाला, सिनेमाघर टेलिभिजन हुँदै मोबाइलमार्पmत् हातहातमा आइपुगेको छ। विज्ञान र प्रविधिको कारण मान्छेको परम्परित हजारौं संस्कृतिहरू विस्थापित भएर नयाँ नयाँ संस्कृतिको निर्माण हुन पुगेको छ। संस्कृतिले दिनानुदिन आफ्नो स्वरूपलाई निरन्तर परिवर्तन गरिरहेको छ।
जुनसुकै राज्य वा राष्ट्रको निमित्त पनि त्यस राज्य वा राष्ट्रमा आबाद रहेका अधिकांश नागरिकहरूले बोल्ने गरेको एउटा छुट्टै बोली वा भाषा पनि अत्यावश्यक मानिन्छ। यस्तो बोली वा भाषा त्यस राज्य वा राष्ट्रको राष्ट्रभाषा हुन्छ, देशको भाषा हुन्छ। जुनसुकै राज्य वा राष्ट्रमा पनि एउटै बोली वा भाषाको मात्र बोलबाला हुनुपर्छ भन्ने खासै नियम त छैन तर पनि राष्ट्रिय एकताको निमित्त एउटा राज्य वा राष्ट्रमा एउटै मात्र राष्ट्रभाषा हुनु अत्यावश्यक मानिँदै आइएको छ। यो राज्य वा राष्ट्रको अर्को एउटा प्रमुख अंगका रूपमा रहेको हुन्छ। सरकारलाई राज्य वा राष्ट्ररूपी पुरुषको कर्मेन्द्रिय अर्थात् हातखुट्टा मान्ने हो भने राष्ट्रभाषा त्यस पुरुषको मुखरूपी अर्को कर्मेन्द्रिय हो। शासनसंस्था वा सरकारले आफ्ना अन्य अंगहरूको सहायताले साम, दान, भेद तथा दण्ड नीतिहरूको प्रयोग गरी राज्य वा राष्ट्रको सुरक्षाका साथै समुन्नतिका निमित्त भरसक प्रयास गर्ने गर्छ। यो राज्य वा राष्ट्रको प्रमुख कर्तव्य हो। तर राज्य वा राष्ट्रका अन्य कर्तव्यहरू पनि हुन्छन्। आपसमा सद्भाव तथा एकता कायम गरी समग्र देशवासीबिच राष्ट्रिय एकता कायम गर्ने काममा राष्ट्रभाषाले परोक्ष रूपमा नै भए पनि महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। देशप्रेमभित्र भाषाप्रेम पनि हुन्छ। आफ्ना नागरिकको आफ्नो देशमा विकास तथा विस्तार भएका सभ्यता, संस्कृति र कला–कौशलहरूको पनि रक्षा गर्दै रहन सक्छ, यसको एउटा राम्रो उदाहरण भएर हाम्रो आफ्नै देश वा राष्ट्र नेपाल रहेको पाइन्छ। भाषाका माध्यमबाट देशप्रतिको प्रेम बढ्दै जान्छ। आफ्नो स्वतन्त्र राष्ट्रभाषाको अभावमा नागरिकहरूका बिचमा रहेको राष्ट्रिय एकताको भावना क्रमशः शिथिल हुँदै जान्छ। विश्वका प्राणी समूहमा अन्य प्राणी के खाएर मात्र नअघाउने र मस्तिष्कलाई चाहिने अद्भुत प्राणी हो मान्छे। साहित्य र संस्कृतिले उसलाई दिने गर्छ तर साहित्य शाश्वत र सार्वभौम पनि हुन्छ।
जातीयता एक सापेक्षित परिभाषित शब्द हो। यसले बृहत्तम् अर्थमा कुनै एक थरीका जाति तथा निश्चित भूगोलमा बसोबास गर्ने समुदाय पर्छ। राष्ट्र–राष्ट्रका सन्दर्भमा जस्तै नेपाली जातीयता शब्दसित सान्निध्य राख्ने गर्छ। नेपाली जातीय शब्दले कुनै एक विशेष श्रेणी समूहको बोध गराउने हुनाले यस्तो जातीयतालाई साहित्यमा चित्रण गर्न सकिन्छ। यस्तो जातीयता भाषा, संस्कृति, वेशभूषा, रहनसहन, परम्परा र जीवनशैलीका आधारमा बेग्लाबेग्लै हुने हुनाले आफ्नो देशमा बसोबास गर्नेले जातीयताप्रति गर्व गर्छ। त्यहाँ देशप्रेमको भावना जोडिएर आएको हुन्छ। नेपाली जातीय चेतना भन्नाले नेपाली भाषा, संस्कृति, सामाजिकता, अर्थनीतिसहित त्यो भाषाभाषीले निर्भीकतापूर्वक जीवनयापन गर्दै आफ्ना आकाङ्क्षाहरूलाई परिपूर्ति गर्दै लैजाने सम्पूर्ण परिवेशको बोध गराउँछ। नेपालमा बसोबास गर्ने नेपालीको नेपाली भाषा, संस्कृति, सामाजिकता, अर्थनीतिसहित ती भाषाभाषीले निर्भीकतापूर्वक जीवनयापन गर्दै आफ्ना आकाङ्क्षालाई परिपूर्ति गर्दै लैजाने सम्पूर्ण परिवेशको बोध गराउँछ। नेपाल देशप्रति प्रेम भएकाले जनताको भाषा, संस्कृति, अर्थनीति, सामाजिकता आदि कुरामा आफ्नो पहिचान प्राप्त हुने गर्छ। अतः यस्तै परिवेश र परिस्थितिमा साहित्यका माध्यमबाट जातीय गौरव गाथाको स्मरण गराउँदै र भविष्यको स्वअस्तित्व छुटै चिनारी विशेषताको छवि स्पष्ट पार्ने हेतुले नेपाली साहित्यमा साहित्यकारहरूले जातीय सचेतता कायम राख्ने आग्रह आफ्ना रचनाहरूमा परोक्ष र अपरोक्ष रूपमा गर्छन्।
नेपाल बहुधार्मिक अर्थात् धार्मिक सहिष्णुतासम्पन्न मुलुक हो। संविधानमा धर्म निरपेक्ष मुलुक भनी सम्बोधित छ। नेपालमा हिन्दु, बौद्ध, इस्लाम, इसाइ, शिख, जैन आदि धर्मावलम्बीहरू बसोबास गर्छन्। यी सबै धर्मावलम्बीले एकअर्काका धर्मलाई सम्मान गर्दै आफ्नो कर्म गर्दै आएका छन्। नेपाली समाजमा पनि आस्था, विचारधारा र शिक्षाको विविधिता छ। परम्परागत रूपमा प्रचलित एवं पाश्चात्य प्रभावस्वरूप निर्मित नेपाली समाजको आस्था मूलतः अलौकिक शक्तिसँग रहेको छ। ईश्वरवाद यसको आधार बनेको छ। परन्तु बहुदेववादी विचारसँगै एक देवको आस्था पनि यहाँ पाइन्छ। नेपाली संस्कृतिमा रहेको धार्मिक विचारधारा नै यस प्रकारका आस्थाको स्रोत हो। हिन्दु, बौद्ध, इस्लाम, इसाइ, सिख, जैन र अन्य धार्मिक मत सम्प्रदायहरूको उपस्थितिले दर्शाउने विविधतालाई धेरैले अस्वीकार गरेको पाइन्छ।
विश्वासको विविधतामा आस्था राख्ने समुदाय हाम्रो मुलुकमा रहँदै आएका छन्। त्यसैले नेपाली सभ्यता र संस्कृतिका सन्दर्भमा कुनै एक जाति विशेषको योगदानलाई बढाइचढाइ गर्नु अनुपयुक्त हुन्छ र यहाँ प्रचलित धार्मिक विश्वासहरूका सन्दर्भमा पनि मात्राका हिसाबले धेरै थोरै जे भए तापनि हिन्दु, बौद्ध, इस्लाम, इसाइ, सिख, जैन र अन्य आस्थामा बाँधिएका जातीय समूहलाई देशप्रतिको माया वा प्रेम अटल रहेकोछ।
धार्मिक आस्था मानव संस्कृतिको अभिन्न अंग बनेको छ। खासगरी अलौकिक शक्तिसत्ताको काल्पनिक विचारद्वारा मानिसलाई आत्मिक शान्ति दिने साधन बनेर धार्मिक विचार, कला, साहित्य, संगीत एवं त्यसद्वारा सुदृढ पारिएका आस्थाहरू अडेका छन्। सङ्ख्यात्मक दृष्टिबाट हेर्दा हिन्दु आस्था नेपाली समाजको एउटा मुख्य सांस्कृतिक शिक्षा बन्न पुगेको छ। हिन्दु आस्था नेपाली संस्कृतिको मात्र अंग नभएर भारतीय संस्कृतिको पनि अंग बनेको छ। हिन्दु दर्शन, विचारधारा र त्यसद्वारा निर्मित धार्मिक आस्थाको जन्मथलो भरत खण्ड, भारत वर्ष हो। भारत वर्षको सांस्कृतिक इतिहासमा हिन्दुवाद धार्मिक विचारधाराका रूपमा स्थापित छ। लौकिक जीवनशैली जातीय एवम् देशीय छन्। भौगोलिक वातावरण र आर्थिक परिवेशले मानिसको जीवनशैली प्रभावित हुन्छ। तराईमा दोचा लगाइँदैन, हिमालमा कमिज कुर्ताको काम छैन। प्रकृति र जीवनको सम्बन्धजस्तै संस्कृति र समाजबिच अटुट सम्बन्धमा रहिआएको छ। सामाजिक रीति, परम्परा, सोचाइ र सदाचार समयसँगै बदलिँदै आएका छन्। नित्य नवीन प्रभाव ग्रहण गर्दै हाम्रो संस्कृति हुर्किरहेको छ। कैयौं पुराना मान्यता बदलिइसकेका छन् र कतिपय बदलिने प्रक्रियामा छन्। पुरानो विचार, व्यवहार र संस्कारसँग नयाँ विचार व्यवहार र संस्कारको द्वन्द्व सदैव चलिरहेको हुन्छ। विश्वास र सन्देहको द्वन्द्वमा ज्ञानले पाइला अघि बढाउँछ, तर्कले तथ्य केलाउँछ र सत्य निरूपण गर्छ। तर समाजले स्थापित गरेका कैयौं झुटहरू र त्यसमा आधारित सिर्जनाले सांस्कृतिक मूल्य प्राप्त गरेपछि ती हाम्रा सम्पदाका रूपमा रहन पुग्छन्। लोकतान्त्रिक मूल्य मान्यतामा रहनु, श्रमशीलताप्रति आदरभाव राख्नु, सानो ठुलो जातको भावना हटाउनु, जातीय एकतामा लागेर राष्ट्रियताप्रति संवेदनशील हुनु जस्ता क्रियाकलापले देशप्रेमको भावनामा वृद्धि गराउँदै सबै जातिको सहजीवन, एकता र समृद्धिद्वारा राष्ट्र र राष्ट्रियता तथा देशप्रेमको भावना निर्माण गर्ने मानवीय संस्कृति बन्छ।
नेपाली भूमि र जनता दुवै विशिष्ट विविधतायुक्त छन्। जीवनपद्धति र संस्कृति विविधतापूर्ण छन्। भाषा, साहित्य, कला, पर्यावरण, उत्पादन, यातायातको अवस्थामा विविधता छ। जनताको बसोबास, बसाइँसराइ स्वास्थ्य सेवाको पहुँच फरक–फरक छन्। त्यसैले साझा भावनामा परस्पर नबिउँझेसम्म तराईले पहाड र पहाडले हिमाली भूखण्डको कठिनाइ महसुस गर्न सक्दैन। हाम्रो संस्कृतिले यो देखाउन सक्नुपर्छ। व्यापक जनतालाई देशभक्तिपूर्ण निष्ठामा जागृत गर्ने काम नेपाल राष्ट्र र नेपाली राष्ट्रियता रक्षा र संवर्धनका लागि तत्काल गर्नुपर्ने काम भइसकेको छ। आज राज्य पुनर्संरचनासँगै संस्कृतिको पनि पुनर्संरचना गर्नुपर्ने खाँचो छ। अतीतको रक्षा र अतीतबाट मुक्ति संस्कृतिका क्षेत्रमा निरन्तर चल्ने द्वन्द्वको कारण बनेको हुन्छ। यही द्वन्द्वका क्रममा जनहितकारी पक्षलाई जनताले रक्षा गर्छन्। राज्यले जनताको भावनालाई ठिकसँग प्रतिनिधित्व ग¥यो भने जनकल्याणको त्यो तŒव व्यापक मात्रामा सुरक्षित हुन्छ, असल सांस्कृतिक परम्पराले निरन्तरता पाउँछ। पुरातन र नूतनको सम्बन्ध कायम हुन्छ।
देशप्रेमको सन्दर्भमा जातीय कला, भाषा, रीतिथिति, खानपिन, पहिरन र साहित्य गीत, नाचजस्ता कुराको विशिष्ट स्थान रहेको हुन्छ। लिखित साहित्य र अलिखित साहित्यको परम्परा सबैमा समान हुँदैन। भाषाको क्षमता पनि असमान हुन्छ। त्यति भएर पनि ती कुरामा सम्बन्धित जातिको अपनत्व हुन्छ। हाम्रो देशले लामो समयदेखि विभिन्न शासनकालमा फरक–फरक खालका सांस्कृतिक नीतिहरू अँगालेको पाइन्छ। सांस्कृतिक समन्वयको ठोस योजना, प्रोत्साहन र संरक्षणका लागि काम गर्ने सरकार कुन रह्यो भन्ने पक्षमा विचार गर्दा सुस्पष्ट आधार प्रमाणका साथ किटान गर्न सकिने अवस्था छैन। ठोस एवं बहुआयामिक सांस्कृतिक नीति निर्माण नगर्ने हो भने नेपाली राष्ट्रियताको रक्षा र संवर्धन कार्य अघि बढ्न सक्ने छैन। अन्तरजातीय एकता र सद्भाव प्रवर्धन नगरी हाम्रो जस्तो जातीय बनोट रहेका मुलुकले राष्ट्रियता सुदृढ गर्न सकेको छैनन्। मुलुकको सार्वभौम स्वतन्त्रता र अखण्डता गुमाएका घटनाले पनि यस विषयमा राज्य सञ्चालक अगुवाहरूलाई सचेत बनाएकै हुनुपर्ने हो। बाइसौं शताब्दीको द्वारमा खडा भएका नेताहरू बुद्धिजीवी एवम् संस्कृतिकर्मीहरूले देशप्रेमको भावनामा रहेर काम गर्नुपर्छ। देशको मौलिक पहिचान, भाषा, संस्कृतिका पक्षमा काम गर्नुपर्छ। जसद्वारा आम नागरिकमा देश मेरो हो भन्ने देशभक्तिको भावनाको विकास हुन्छ।
नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। यहाँ विभिन्न जातजातिका मानिस बसोबास गर्छन्। तिनको जातीय पृष्ठभूमि पनि भिन्न छ तर संस्कृति भने समान पाइन्छ। विभिन्न जातजातिका आआफ्नै जातीय संस्कार रहेकाले तिनीहरूको जीवनशैलीमा पनि फरकपन पाउन सकिन्छ। नेपालका भूगोलभित्र र भूगोलबाहिर बसोबास गरेका नेपालीहरूले आफ्नो धर्म संस्कृतिको पालना गरिरहेका देखिन्छन्।
पूर्वीय संस्कार र सभ्यताका धरोहरका रूपमा रहेको नेपाली संस्कृतिमा आफूभन्दा ठुलालाई आदर सम्मान गर्ने र आफूभन्दा सानालाई माया गर्ने संस्कृति पाइन्छ। जात, वर्ण, लिंग र धर्मअनुसार कसैलाई भेदभाव नगरी समान व्यवहार गर्ने परिपाटीको विकास भएको पाइन्छ भने मातृदेवो भवः, पितृदेवो भवः, गुरुदेवो भवः भन्दै माता, पिता र गुरुलाई देवताका रूपमा मान्ने संस्कृति पाइन्छ। वृद्धवृद्धाको सेवा गर्ने, मठमन्दिरको भ्रमण गरी पूजाआजा र दान दिने प्रचलन परम्परादेखि चलिआएकाले नेपाली संस्कृतिमा धार्मिक सहिष्णुता पाइन्छ। वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाजस्ता सर्वजन हितायका सूक्तिलाई आत्मसात् गर्दै मानवतावादी विचारलाई विश्व माझ पु¥याउन नेपाली संस्कृति सफल छ। कसैलाई पनि दुःख नदिने, चोरी ठगी फट्याइँ नगर्ने जस्ता वेद निर्देशित आचरणलाई आत्मसात् गर्दै वीर गोर्खालीका नामले विश्व परिचित नेपालीको गौरव गाथाले नेपालको सांस्कृतिक परम्परालाई उँचो बनाएको छ। सरल र सुखी जीवनशैलीका कारण आनन्दपूर्वक बाँच्न सफल नेपाली जाति हिमाल आरोहण गर्ने कला कौशलमा पनि अग्रस्थानमा छ।
बुद्धको जन्मभूमि र सगरमाथाको देशका रूपमा विश्वमाझ परिचित नेपाल जलस्रोतका दृष्टिले विश्वको दोस्रो धनी देशको गणनामा रहेको छ भने प्रकृति पूजा र जीवजन्तुलाई देवताका रूपमा मान्ने संस्कृतिका कारण वातावरण जोगाउने संस्कृतिमा नेपाल अगाडि छ। विश्वमा वीर गोर्खालीको नामले परिचित नेपालीहरू आफ्नो पौरख र गौरवमा बाँचेका छन्। विश्वबन्धुत्व र भातृत्वको भावना लिएर विश्वका विभिन्न देशमा पुगेका नेपालीहरूले आफ्नो देशको नाम उँचो राख्न विशेष भूमिका निर्वाह गरेका छन्। विश्वमा शान्ति स्थापनाका लागि भगवान् गौतम बुद्धको उपदेशलाई पु¥याई सबैलाई शान्त र सुखी बनाउने अभियानमा नेपाली संस्कृतिको अहम् भूमिका निर्वाह गरेको छ। यसरी आफ्नो कला, संस्कृति, धर्म, भाषाका माध्यमबाट विश्वका सबै मानिसमा छुट्टै पहिचान बनाउन सफल नेपाली संस्कृतिले नेपाली जातिको गरिमालाई सधैं उँचो बनाएको छ। यो आफ्नो जन्मभूमि, यो पहिचानयुक्त मानस खण्डमा सभ्य सुुसंस्कृत जातिका रूपमा चिनिएका सभ्य नेपालीले एक अर्काप्रति सदैव सद्भाव राखी जननी र जन्मभूमिप्रति अगाध श्रद्धा राख्नुपर्छ, मिलेर बाँच्नु र बचाउनुपर्छ। खाँचो छ यही राष्ट्रियता र देशप्रेमको।
प्रकाशित: १३ वैशाख २०८२ ०७:३० शनिबार