राजा महेन्द्रबाट अन्तरिम शासनविधान भंग गरी २०१७ पुस १ गते पञ्चायती व्यवस्था लागु गरेको केही महिनापछि नेपालका विभिन्न स्थानमा असन्तुष्ट राजनीतिक पार्टीहरू मिली तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध सशक्त उठाएका थिए। विदेशी भूमिमा रहेर योजना बनाउनेबाहेक यस विद्रोहात्मक आवाज उठाउन सक्रिय रूपमा भाग लिनेमध्ये कप्तान यज्ञबहादुर थापा एक हुन्।
उनी ओखलढुंगाको चिसंखुपाखे भन्ने गाउँमा जन्मिएर नेपाली सेनामा सहसेनानी दर्जामा पुगेका थिए। उनी श्री श्रीजंग गुल्म, ताप्लेजुङमा रहँदा सोही जिल्लाको थुम्फेदिन भन्ने ठाउँमा राजनीतिक कार्यकर्ताहरूसँग मिली हातहतियार लुटाएको अभियोगमा नोकरीबाट पेन्सन नपाउने गरी २०१८ सालमा बर्खास्त भएका थिए। उनी नोकरी खोसिएपछि आफ्नो निर्वासित जीवन व्यतीत गर्न भारततर्फ पसे र विभिन्न दल नेताहरूसँग निकट सम्बन्ध राख्दै विद्रोहीहरूको संगठनतिर लागे। त्यस बखत देशका विभिन्न भागमा फैलिएको आतंकको दमन गर्न राष्ट्रिय स्तरबाट सेना तथा प्रहरीलाई विभिन्न स्थानमा परिचालन गरिएको थियो।
नेपाली सेनाका तत्कालीन कप्तान यज्ञबहादुर थापा श्रीजंग गुल्मलाई कमान्ड गरी ताप्लेजुङको थुम्फेदिनमा बसेका थिए। दलीय झुकाव तथा नेतासँगको मिलेमतोबाट गुल्मका सबै फौजसदस्यलाई बडाखानाको व्यवस्था मिलाएर सबै जवानलाई प्रशस्त मादक पदार्थ सेवन गर्न दिर्ई राजनीतिक कार्यकर्ताहरूद्वारा हतियार लुटाइएको भन्ने अभियोगमा थापालाई नोकरीबाट बर्खास्त गरिएको थियो। यसै पृष्ठभूमिमा ओखलढुंगा काण्ड हुनुका कारणहरू औंल्याउन सकिन्छ:
– भूपू कप्तान यज्ञबहादुर थापाको जागिर खोसिनु र उनी नेपाली कांग्रेसप्रति बढी समर्पित हुनु,
– राजनीतिक कार्यकर्ताहरूले विदेशमा रहेर हतियारधारीको संगठन गर्दै रहेको अवस्थामा कप्तान यज्ञबहादुर थापा उनीहरूको सम्पर्कमा पुग्नु,
– तत्कालीन विद्रोहीहरूले नेपालको सुहाउँदो स्थानमा आफ्नो अखडा बनाउने उद्देश्य लिएर हातहतियार संकलन र संगठन गर्न लाग्नु,
– ओखलढुंगामा नै कार्यरत जमदार कर्णबहादुर बस्नेतले राजनीतिककार्यकर्तालाई मद्दत पुर्याउने पूर्ण आश्वासन दिनु ।
ओखलढुंगा काण्ड गर्नुको उद्देश्य
– ओखलढुंगा जिल्लामा रहेको ब्यारेक कब्जा गरी बैंक लुट्ने र पैसा संकलन गर्ने,
– सोलुखुम्बु र दिक्तेल कब्जा गर्ने,
– सरकारबाट चलाइएको विकासकार्यमा बाधा पुर्याउने,
– तत्कालीन राजा वीरेन्द्रकोे शुभराज्याभिषेक सम्पन्न हुन नदिने,
– जनतामा अशान्ति र सन्त्रास पैदा गरी देशमा अस्थिर वातावरण सिर्जना गर्ने,
– आफ्नो संगठन जमाई बलियो र सुरक्षित क्याम्प खडा गर्ने,
– विद्रोही क्रियाकलाप गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राजनीतिक पार्टीको शक्ति सम्पन्नता देखाउने।
तत्काल ओखलढुंगास्थित विष्णुदल गुल्ममा कार्यरत जमदार कर्णबहादुर बस्नेतले ओखलढुंगाबाट विराटनगर ब्यारेकमा तालिममा जाँदा थापा र राजनीतिक कार्यकर्ताहरूलाई भेटी ओखलढुंगामा आक्रमण गर्नुपरेमा सहयोग दिने वचन दिएका थिए। सो सहयोगबापत कर्णबहादुर बस्नेतले कार्यकर्ताहरूसँग दुई पटक गरी १२ हजार भारतीय रूपैयाँ लिएका र घरमा आएपछि भारतस्थित नेपाली राजनीतिक कार्यकर्ताहरूलाई पत्र पनि लेखेका थिए।
कर्णबहादुरको योजनाअनुसार तत्कालीन विद्रोहीहरूले नेपाली सेनाको ब्यारेक लुट्न आउँदा आफू ड्युटीमा रहने, क्वार्टर गार्डमा आफूले छानेका व्यक्तिलाई मात्र राख्ने र सोही मौकामा ब्यारेक कब्जा गराउन मद्दत पुर्याउने तालमेल मिलाइअनुरूप २०३१ मंसिरमा नै विद्रोहीहरूले ओखलढुंगातर्फ बढ्ने योजना बनाएका थिए ।
२०३१ मंसिर १० गते भारतस्थित चन्दनपटी भन्ने गाउँका नारायणबाबु तिवारीको घरमा राजनीतिक नेताहरूसँग यज्ञबहादुर थापासमेत ३५ जना मानिस भेला भए। भेलाले सगरमाथा अञ्चलको ओखलढुंगामा आक्रमण गरी आफ्नो कब्जामा लिने र बैंक लुट्ने, त्यसपछि सोलुखुम्बु र दिक्तेल कब्जा गर्नका लागि यज्ञबहादुर थापालाई कमान्डर बनाउने निर्णय गर्यो। सोही दिन थापालगायत गोपाल राई, राम, लक्ष्मण, महेश कोर्मोचाहरू फार्वेसगन्ज (भारत) को आँपगाछीबाट कांग्रेस नेताहरूसँग बिदावारी भएका थिए।
रात परेपछि ३५ जना हतियारधारी नेपाल सीमा प्रवेश गर्न हिँडे। यसभन्दा पहिला विष्णुदल गुल्मका नायक अम्बरबहादुरलाई भूपू प्रहरी हवलदार शमशेरबहादुरले २०३१ कात्र्तिक २३/२४ गतेतिर भारतको चन्दनपटी लिएर गएका थिए। सोही बेला यज्ञबहादुर थापाले अम्बरबहादुरसँग ओखलढुंगास्थित विष्णुदल गुल्ममा भएका हातहतियारबारे जानकारी लिएका र कांग्रेस नेताहरूले समेत उनीसँग अन्तर्वार्ता लिएका थिए।
यसरी ओखलढुंगाका बहालवाला सैनिक व्यक्तिहरूको समेत आश्वासन तथा सहयोग पाउनाका साथै सम्पूर्ण गतिविधि थाहा भएका सैनिकहरू आफैंसँग भएपछि ढुक्क भएर ३५ जना हतियारधारीहरू नेपालको सीमा इलाका सिरहाको आँपगाछी आइपुगे। आँपगाछीमा केही कांग्रेसी कार्यकर्ताले ३५ जनाका लागि आवश्यक पर्ने हातहतियार र लुगाफाटा ल्याई वितरण गरेका थिए।
२०३१ मंसिर ११ गते ३५ जनाको विद्रोही टोलीले हतियार, लत्ताकपडासमेत बुझी रातको समयमा ओखलढुंगातर्फ जाँदै गर्दा गोपाल राई, मोहनकुमार गुरुङ र गणेश धिमाल बाटो बिराइ छुट्न गए। बाँकी ३२ जनाको टोली मात्र नेपाल सरहदभित्रबाट लुकिछिपी जयनगर भएर कमला नदीको बाटो हुँदै वडर्वा गाउँनजिक आइपुग्यो। त्यहाँ धान कुर्न बसेका किसानलाई देखेर तितरबितर हुँदा बाटो भुल्न गई ढाकबहादुर र दीपदेवान समूहबाट अलग भए। आफ्नो साथमा रहेका हतियारसमेत लिई आफ्नो टोलीबाट अलग भएकाले टोली प्रमुख यज्ञबहादुरले खोजतलास गर्दा समेत उनीहरू फेला परेनन्। बाँकी रहेका ३० जना मात्र अघि बढे ।
बाटोमा पर्ने कमला नदी तर्दा अम्बरबहादुर भन्नेले आफ्नो साथमा रहेको मार्क ५ राइफल एक र गोली एक सय ५० थान नदीमा खसालेको र बाँकी हतियारसहित विद्रोही उदयपुरको ग्रास भन्ने गाउँमा पुगी लोकबहादुर गुरुङका नातेदार विर्षबहादुर राईको घरमा २०३१ मंसिर १४ गते बिहानको खाना खाए। विर्षबहादुरले विद्रोहीहरूलाई भेडा काटी खुवाएका र उनीहरूलाई थप मद्दतका लागि भूपू सैनिकहरू जम्मा गरिदिने आश्वासन पहिलेदेखि नै दिएका थिए। सोहीअनुसार मद्दत जुट्न नसकेको हुँदा आफ्नो साथमा भएका हतियार एम्युनिकेसनलाई लुगाले बेरेर भरियाद्वारा बोकाई हरिथुम्काको बाटो हुँदै मयखुस्थित एउटा पसलमा गएर बास बसेका थिए ।
विद्रोहीहरूले २०३१ मंसिर १५ गते बास बसेको ठाउँमा अम्बरबहादुरको नेतृत्वमा चार जनालाई हतियार त्यहीं छाडेर गुप्त रूपले सोलुखुम्बुको वस्तुस्थिति बुझ्न पठाएका थिए। उनीहरू अम्बरबहादुर, हर्कबहादुर कार्की, रामबहादुर सुनुवार, भीमबहादुर कटुवाल र केशर राई थिए। सोलुखुम्बुमा पठाइएका व्यक्तिबाहेकका हतियारमध्ये प्रमाणित नभएका र बढी भएका हतियारबारे पछि पक्राउ परेका विद्रोहीबाट जानकारी पाई सेना र प्रहरीबाट बरामद गरी प्रहरी कार्यालयमा दाखिला गरिएको थियो।
२०३१ मंसिर १६ गते बिहान तीन बजे उनीहरू टोक्सेलघाट तरी ओखलढुंगा प्रवेश गरे। सोही दिन उनीहरूमध्येका मदनबहादुर राई बिरामी भएकाले भीमबहादुर अधिकारीको बेँसी घर (भोलुङ खोलाको दोभान) मा होमनप्रसाद राईलाई रेखदेख गर्नेगरी छाडेर विद्रोही अगाडि बढे।
ओखलढुंगा सदरमुकामको वस्तुस्थिति बुझ्नका लागि टीका राईलाई वाकीटकी दिएर बेलुका माझीगाउँको जंगलमा बास बस्न पुगेका थिए। १७ गते उनीहरू सिम्लेबेँसीको जंगलमा पुगी बास बसेका थिए। १८ गते सिम्लेबेँसी जंगलबाट बिहान मोलुङ खोलाको पुल तरी पारा दोभान पुगे। १९ गते तिनीहरू धोद्रेको जंगलमा बास बस्न पुगे। २० गते राति पलुङ खोला तरी ‘थारे साइँली’को घरमा बास बसे।
२१ गते बिहान चन्द्रकान्त शर्मा र भैरव भन्ने बलबहादुर राईको पत्र लिई विद्रोही पेशलकुमार दाहाललाई भेट्न पठाएका थिए। पेशलकुमारलाई ओखलढुंगास्थित नेपाली सेना र प्रहरीको टोलीले प्राप्चा गाउँपञ्चायतको खाल्टेखोल्छी भन्ने ठाउँमा फेला पारी पक्राउ गर्न खोजे। यस क्रममा उनी भागेकाले गोली हान्दा घटनास्थलमा नै मृत्यु भयो।
२०३१ मंसिर २१ गते बिहान ‘थारे साइँली’को घरबाट हिँडेका विद्रोहीहरू सो दिन र २२ गते पनि थारेको जंगलमा बास बसी २३ गते बन्सेको खोला तरेर खिजी पञ्चायतमा प्रवेश गरे। त्यहाँ कामे शेर्पाको घरमा आलु उसिनेर खाई महेश कोर्मोचा मानिस बटुल्न र राडी खरिद गर्न यज्ञबहादुरसँग १२ सय रूपैयाँ लिई आफ्नो घर खिजीभुजी र ससुराली घरतर्फ लागे। अन्य टोलीहरू २०३१ मंसिर २४ गते थाप डाँडामा पुगेर छाप्रो हाली बसे। त्यहींबाट टोली चार समूहमा विभाजन भई नजिकैको डाँडाको टुप्पोमा एम्बुस थापी बसे। सोही दिन मानिस बटुल्न गएका महेश कोर्मोचाको सालो हरि साप्लाचा एम्बुस स्थानमा आइपुगी यज्ञबहादुरसँग भेटे।
‘राडीहरू मानिसद्वारा बोकाई पठाइएको छ, भोलिसम्म आइपुग्छ, बुझिलिनु होला। म र भिनाजु महेश कोर्मोचा मानिस लिएर आउछौं’ भनी एक रात सोही स्थानमा बास बसी भोलिपल्ट गए। २७ गते बिहानसम्म पनि महेश कोर्मोचा आइ नपुगेकाले यज्ञबहादुरको टोली २७ गते तोलु भन्ने ठाउँको बाटो गरी सोलुखुम्बुतर्फ हिँडे। सो टोली २०३१ मंसिर २८ गते आङमाङ भन्ने गाउँमा पुगी मान्छे नबस्ने खाली घरमा बास बस्यो। भोलिपल्ट भूपू प्रहरी नेत्रबहादुरको घरमा पुगी बिहानको खाना खाई राति उनीहरू तिल्पुङको जंगलको एक प्राकृतिक ओडारमा पुगी बास बसे ।
सैनिक कारबाही प्रारम्भ
नेपाली सेनाको स्थापनाकालदेखि नै सैनिक सेवा प्रतिष्ठित पेसाका रूपमा ठहरिएको छ। यस संस्थाभित्र काम गर्ने हरेकले नुनको सोझो गरिआएका छन्। कुनै पनि सैनिकका लागि माथिल्लो तहको आदेश प्राणभन्दा पनि महत्त्वपूर्ण हुन्छ। सैनिक कमान्डरको नैतिकता, विश्वास तथा मातृभूमिको सिन्दूरलाई आत्मसात गरी सेनाले काम गरेका हुन्छन्। देशका लागि पर्दा आफ्नै बाबुलाई काट्न र आमालाई झुन्डयाउन पनि पछि नपर्ने प्रण गरिएको यस्तो पेसामा रहेर विश्वासघात गर्नु सैनिक मर्यादाका हिसाबबाट ठुलो अपराध हो। संसारमै रहेका सेनाको धर्म नै सैनिक नैतिकतामा उभिनु हो।
राजनीतिक तथा व्यक्तिगत सोचाइले जसरी परिभाषित गरे पनि र विश्वमै सर्वाेकृष्ट ठहरिए पनि कुनै सैनिक संस्थागत धर्मलाई विश्वासघात गरी अरूको लहैलहैमा बहकिन्छ भने ऊ अपराधी नै हुनेछ। सैनिक गोपनीयता, ऐन र अनुशासनभित्र कदापि राजनीतिकगन्ध हुनु हुँदैन। उहादरणका लागि दिग्गज राजनेताले सेनाका लागि नीतिनियम बनाउन सक्छन्, निर्णय दिन सक्छन् तर त्यस निर्णयलाई कार्यान्वयन गर्न जाने सैनिक कमान्डरले ‘निमक हराम’ हुनेगरी दुस्मनको पक्षमा वा अह्राएको भन्दा उल्टो कार्य गरेमा देशको सार्वभौमिकतामै खतरा पुग्न सक्छ वा देशले आफ्नो भूभाग नै गुमाउनुपर्ने हुन्छ। परेको बेला एउटा सैनिक नेताको बदमासीले देश नै लोप हुनसक्छ। त्यसकारण सेना र नैतिकताबिच कहिल्यै मोलतोल हुन सक्दैन।
दुईतीन जिल्लाकै सुरक्षा जिम्मा लिई नेपाली सेनाको बर्दी जिउमा र मातृभूमिको सिन्दूर शिरमा लगाई गुल्मपतिको गरिमामय ओहदामा बसेका तत्कालीन क्याप्टेन यज्ञबहादुर थापाले जुन काम गरे, त्यो सेनाका लागि धोका थियो। सैनिक बर्दी लगाएर कदापि राजनीतिक क्रियाकलापमा लाग्नुहुँदैन। सैनिक व्यक्ति पनि देशको नागरिक हो, उसलाई पनि राजनीतिक अधिकार हुन्छ तर त्यो राजनीतिक क्रियाकलाप सैनिक सेवाबाट बाहिर गएर मात्र सम्भव छ।
तत्कालीन ताप्लेजुङ जिल्लामा रहेको श्री श्रीजंग गुल्मका सबैलाई बडा दसैंको बडाखानाको मौकामा मादक पदार्थ खुवाई गुल्मका हातहतियार सरकारले अन्तर्राष्ट्रिय तत्त्व भनी घोषित गरेका पार्टीका हातमा सुम्पिनु नाजायज कुरा हो। राजनीतिकहिसाबले जसरी मूल्याङ्कन गरिए पनि सैनिक हिसाबले त्यो राष्ट्रघात नै थियो। सेनाभित्रका त्यस्ता व्यक्तिले भोलि परेको बेलामा आफ्नो कोतको साँचो दुस्मनलाई दिँदैनन् भन्न सकिँदैन। संसारकै सैनिक कानुनको महलमा त्योभन्दा जघन्य अपराध अरू हुन सक्दैन। उल्लिखित पृष्ठभूमिबाट ओखलढुंगामा भएका विद्रोहीका गतिविधिलाई रोक्न नेपाली सेनाले निम्नानुसार कारबाही सुरु गरेको थियोः
– तत्काल ओखलढुंगा जिल्लास्थित विष्णुदल गुल्मलाई २०३१ मंसिर १६ गते बिहान तीन बजे विद्रोहीहरू हातहतियारसहित ओखलढुंगा जिल्लाभित्र पर्ने टोक्सेलघाटको बाटो हुँदै प्रवेश गरेको खबर विशेष सूत्रबाट १७ गते नै प्राप्त भयो। सम्बन्धित विभागहरूमा प्रतिवेदन बनाई प्रहरी तथा सैनिकहरूलाई सिभिल पोसाकमा उनीहरूबारे जानकारी लिन पठाइयो ।
– सम्बन्धित बाहिनी अड्डाबाट विष्णुदल गुल्मका गुल्मपतिलाई आफ्नो ब्यारेकपरिसरको सुरक्षा व्यवस्था मिलाई उचित ठाउँमा एम्बुस थापी विद्रोहीलाई बरबाद गर्ने योजनाअनुसार उक्त गुल्मले पनि कारबाही गर्ने योजना बनायो। प्राप्त सूचनाअनुसार २५/३० जना विद्रोहीहरू स्थानीय बुद्धिमानको घरमा बसेका र ती भोलुङ खोलाको बाटो हुँदै जाँदैछन् भन्ने खबरसमेत प्राप्त भएको हुँदा गुल्मपतिले जमदार कर्णबहादुरको कमान्डमा उक्त स्थानमा एम्बुस थाप्ने भनी एक सेमु पठाएका थिए।
उक्त टोलीसाथ प्रहरी अधिकृत तथा जवानहरू पनि पठाइएको थियो। तर कर्णबहादुरले निर्धारित स्थानमा एम्बुस नथापी विद्रोहीहरूलाई भगाउने नियतले च्यानम जाने पुलनजिक एम्बुस थापेका थिए। विद्रोहीसँग सञ्चार साधन राम्रो भएकाले उक्त एम्बुस थापेको कुरा पत्ता लगाई पूर्वनियोजित बाटो छाडेर पारा दोभानको बाटो गरी गाउँतर्फ लागेकाले विद्रोही एम्बुसबाट बचे।
– त्यसपछि पुनः सेना र प्रहरीलाई सिभिल पोसाकधारी टोली बनाई प्राप्चाको बाटो गरी थारेमा एम्बुस थाप्न पठाइयो। उक्त टोलीले २०३१ मंसिर २१ गते बिहान प्राप्चा गाउँपञ्चायतस्थित खाल्डेखोल्सी भन्ने स्थानमा विद्रोही पेसालकुमार दाहाललाई पक्राउ गर्न खोज्दा भागेकाले गोली हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो।
– विद्रोहीहरू पुनः टोक्सेलघाटको बाटो गरी प्रवेश गर्दैछन् भन्ने रिपोर्टअनुसार १८ गते नै जमदार कर्णबहादुरकै टोलीलाई पारा गाउँमा बसेका विद्रोहीलाई निर्मूल पारी टोक्सेलघाटमा एम्बुस थापेर बस्न खटाइएकोमा जमदार कर्णबहादुरले सोझै टोक्सेलघाटमा फौज लगेकाले विद्रोही पारा दोभानबाट उम्कने मौका पाएका थिए।
विद्रोही तोलु गुम्बाको बाटो गरी सोलुतर्फ जान्छन् भन्ने पूर्वप्राप्त सूचनाअनुसार एक सेमुलाई एम्बुस थाप्न पठाइयो। विद्रोही त्यस स्थानबाट पनि अगाडि बढी पुस १ गते सल्लेरी बैंक कब्जा गर्ने हेतुले पत्तालेको लेकतिर लागेका छन् भन्ने खबर प्राप्त भएकाले उक्त कुरा सम्बन्धित विभागमा जाहेर गरियो। सम्बन्धित विभागबाट विष्णुदल गुल्मलाई सल्लेरी बचाउका लागि बलियो एक सेनामुख नौ सेमु (४० जनाजतिको समूह) भन्दा बढीको फौज तुरुन्त पठाउने र गुल्मपतिसमेत जान तयार रहनु भन्ने आदेश प्राप्त भएअनुसार विष्णुदल गुल्मका प्रमुख १३ जनाको टुकडीसहित सल्लेरीतर्फ गयो।
– २०३१ मंसिर २८ गते काठमाडौंबाट हेलिकोप्टरद्वारा श्री पशुपतिप्रसाद गणको एक सेमु फौजसहित तत्कालीन सेनानी श्री रघुचन्द्रबहादुर सिंह (पछि उपरथी) जानुभयो। फेरि सेनानी रघुचन्द्रको आदेशमा विष्णुदल गुल्मका गुल्मपति सहसेनानी इन्द्रबहादुर सिजापतिको कमान्डमा एक सेमु फौज हेलिकोप्टरद्वारा २०३१ मंसिर २९ गते सल्लेरीतर्फ गयो।
क्याप्टेन यज्ञबहादुर भागेर हराइसकेपछि उनलाई पक्रन सक्ने मान्छेको खोजी हुँदा तत्कालीन सहसेनानी श्री रुकमाङ्गद कटवाललाई काठमाडाैंबाट ओखलढुंगा झिकाइयो। यज्ञबहादुरलाई पक्रनका लागि उहाँले जोखिमपूर्ण काम गर्नुभएको थियो। यस कारबाहीको प्रमुख कमान्डर सेनानी रघुचन्द्रबहादुर सिंह हुनुहुन्थ्यो।
सोलु पुगेपछिको कारबाही
विष्णुदल गुल्मका गुल्मपति सहसेनानी (पछि सेनानी) इन्द्रबहादुर सिजापतिको कमान्डमा सोलु पुगेको टोलीले उचित ठाउँ छानी डिफेन्स पोजिसन तयार पारेर कडा सुरक्षा व्यवस्था मिलाएको थियो। भोलिपल्ट स्थानीय उपप्रधानपञ्चबाट विद्रोही तिल्पुङको जंगलमा बसेका छन् भन्ने खबर प्राप्त भएको थियो। स्थानसँग परिचित सेना र केही प्रहरी जवानलाई सिभिल पोसाकमा विद्रोहीको सुराकी गर्न पठाइएको टोलीले २०३१ मंसिर ३० गते तिल्पुङको जंगलभित्र ओडारबाट विद्रोहीकै सदस्य भूपू प्रहरी हबलदार (हेड कन्स्टेबल) शमशेरबहादुर पक्राउ भए। उनी खसी खरिद गर्ने निहु गरी सोलुको सदरमुकामतर्फ जाँदै गरेको अवस्थामा पक्राउमा परेका थिए। निजबाट सेनाले विद्रोही बसेको सम्पूर्ण ठाउँको विवरण पाएको थियो। प्राप्त भएको खबर र स्थितिबारे प्रतिवेदन तयार गरियो। त्यसपछि गुल्मपतिको कमान्डमा उक्त तिल्पुङ जंगलभित्र ओडारमा रहेका विद्रोहीमाथि आक्रमण गर्ने योजना बनाई विल्दारको एक टोली लिई सोलुको पुलमा एम्बुस थाप्न पठाइयो। सुबेदार तपबहादुरलाई डिफेन्स क्याम्प लास्ट लाइटपछि स्टान्टुमा राख्ने आदेश दिइयो।
२०३१ मंसिर ३० गते पक्राउ परेका शमशेरबहादुरसमेतलाई लिएर सोलुबाट साम्ले हुँदै तिल्पुङ ओडारतर्फ टोली प्रवेश गर्यो। उक्त ओडारभन्दा करिब एक सय ५० गज अगाडि रोकिएर ओडारको ‘रिकनसेन्स’ गर्न जाँदा कुनै पनि हर्कत नदेखिएको र आगो बालेको उज्यालो मात्र देखियो। केही बेर बसेर पुनः हेर्दा मानिसको छाया चलेको निश्चित भयो। उक्त स्थानबाट फर्केर आई आवश्यक निर्देशन दिई ओडारको माथिपट्टि रहेको प्वालबाट ग्रिनेड फाली ओडारको दायाँबायाँबाट फायर गर्दै ओडारभित्र प्रवेश गरियो। यसप्रकारले २०३१ पुस १ गते बिहान पाँच बजेसम्ममा ओडारमा आक्रमण गरी उक्त स्थान सेनाको कब्जामा आयो।
२०३१ पुस १ गते सैनिक कारबाहीबाट बची ओडारबाट भागेकाहरूलाई खोजतलास गर्दा रामप्रसाद राईलाई सोही जंगलमा फेला पारियो। सोलुखुम्बु लैजादै गर्दा उनको बाटोमा नै मृत्यु भयो। केही विद्रोही भने ओेडारबाट भाग्न सफल भए। ‘कटअफ’का रूपमा राखिएको प्रहरी इन्सपेक्टर भक्तबहादुर प्रधानको नेतृत्वमा रहेको प्रहरी टोलीले ठाडे भन्ने ठाउँमा गोली हानी विद्रोहीहरू अगममणि राई, मानबहादुर थापा मगर, चन्द्रबहादुर तामाङ र कृष्णप्रसाद लिम्बुलाई मारियो।
कप्तान यज्ञबहादुर थापाको गिरफ्तारी
तितरबितर भएर भागेका विद्रोहीलाई पक्राउ गर्न जिल्लाका सबै नाकामा नेपाली सेना र प्रहरी तैनाथ गरियो। विद्रोहीहरू भागेको ठाउँ खोजी गर्दै नेपाली सेना र प्रहरी सोलुखुम्बुतर्फ फर्किए। तिल्पुङ जंगलको ओडारबाट टोली नेता कप्तान यज्ञबहादुर थापा भागी आफ्नो घर गएको कुरा पत्ता लाग्यो। निजको पिछा गर्दै जाँदा कुइभिर गाउँको बाटो हुँदै चिसंखु भन्ने ठाउँमा एउटा बाहुनको घरनजिक पराल राख्ने मचानमा लुकेको खबर आयो। विभिन्न सम्भावित नाकामा तैनाथ रहेका फौजमध्ये रसुवाघाटमा एम्बुस थाप्न गएको नेपाली सेनाको टोलीलाई खबर गरियो। उक्त टोलीले पराल राख्ने मचानबाट थापालाई पक्राउ गर्यो।
नेपाली सेना, केही प्रहरी तथा स्थानीय प्रशासन र जनताको समेत सहयोगबाट विद्रोही नेता यज्ञबहादुर थापालाई पक्राउ गरियो। सो कुराको खबर सम्बन्धित ठाउँमा भएपछि केन्द्रीय तहबाट नै बयान लिन र छानबिन गर्नका लागि २०३१ पुस ६ गते काठमाडौंबाट गृहसचिव वीरेन्द्रप्रसाद शाह, डिआइजिपी चाँदबहादुर राई, डिआइजिपी दुर्लभकुमार थापा, प्रमुख सेनानी केशरबहादुर गड्तौला, अधिवक्ता भैरवप्रसाद लम्साल खटिनुभएको थियो।
यज्ञबहादुर थापाको बयान
वरिष्ठ अधिकृतहरूले यज्ञबहादुर थापालाई केरकार गरी बयान लिँदा विष्णुदल गुल्मका जमदार कर्णबहादुर बस्नेत र विष्णुदल गुल्मबाटै सरुवा भई बर्दबहादुर गणमा रहेका अमलदार भूपेन्द्रबहादुर बस्नेतलाई पोलेकाले कप्तान यज्ञबहादुर थापा र जमदार कर्णबहादुर बस्नेतलाई सैनिक कारबाहीका निमित्त काठमाडौं ल्याइयो।
अमलदार भूपेन्द्र बस्नेतलाई काठमाडाैंको छाउनी सङ्ग्रहालयमा ड्युटी बसिरहेकै समयमा सोही स्थानबाट पक्राउ गरी सैनिक कारबाहीका लागि हिरासतमा राखियो। ओखलढुंगा काण्डमा लागि पर्ने जम्मा ३५ जनामध्ये १६ जना चाहिँ सैनिक तथा प्रहरीको कारबाहीमा मृत्यु भयो। यज्ञबहादुरलगायत नौ जना पक्राउ परे भने गोपाल राई, मोहन गुरुङ, गणेश धिमालसमेत तनि जना भारतीय सीमा पार भई आएनन्।
त्यसैगरी दिपदेवान राई, ढाकबहादुर राई, महेश कर्मचा, लोकबहादुर गुरुङ, जशधन राई, केशर थुलुङ र शिवकुमार राई सैनिक कारबाहीबाट फुत्किएर बेपत्ता नै रहे। समातिएका यज्ञबहादुर थापालगायत अन्य सैनिकलाई तत्कालीन अदालती प्रक्रिया पूरा गरेर मृत्युदण्डको सुनाइएको थियो।
प्रकाशित: १३ वैशाख २०८२ ०६:२३ शनिबार