बलिउडका चर्चित फिल्म निर्देशक अनुराग कश्यपले ब्राह्मणविरोधी टिप्पणीलाई लिएर माफी मागेका छन्। तर उनले आफ्नो बयान फिर्ता लिन अस्वीकार गरेका छन्।
फिल्म ‘फुले’ को प्रदर्शनमा भएको ढिलाइबारे प्रश्न उठेपछि उनी विवादमा परेका हुन्। इन्स्टाग्राममा कश्यपले लेखेका छन्, ‘मलाई माफ गर्नुहोस्, तर यो माफी मैले गरेको पोस्टका लागि होइन, बरु त्यो एउटा लाइन (पङ्क्ति) का लागि जुन सन्दर्भबाट बाहिर निकालेर घृणा फैलाउन प्रयोग भइरहेको छ।’
उनले आफ्नी छोरी, परिवार, साथी र सहकर्मीले पाइरहेका बलात्कार र ज्यान मार्ने धम्कीभन्दा ठूलो कुनै कुरा नभएको पनि उल्लेख गरेका छन्। कश्यपले लेखे, ‘मैले जे भने, त्यो फिर्ता लिन सकिँदैन, म फिर्ता लिन्नँ। तपाईं मलाई चाहेजति गाली गर्न सक्नुहुन्छ। मेरो परिवारले केही भनेको छैन। यदि तपाईं मबाट माफी चाहनुहुन्छ भने, यो मेरो माफी हो।’ उनले ब्राह्मण समुदायसँग महिलालाई सम्मान गर्ने कुरा शास्त्रमा पनि उल्लेख गरिएको भन्दै कस्तो ब्राह्मण बन्ने निर्णय गर्न भनेका छन्।
यसबीच नयाँ दिल्लीमा कश्यपविरुद्ध उजुरी दर्ता गरिएको छ। कश्यपको टिप्पणी ‘घृणित, आपत्तिजनक, भडकाउने र अपमानजनक’ भएको आरोप लगाइएको छ। उनको बयानले साम्प्रदायिक तनाव बढाउन सक्ने कुरा उजुरीमा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अप्रिल १७ मा इन्स्टाग्राममा एक प्रयोगकर्तालाई जवाफ दिँदै कश्यपले लेखेका थिए, ‘ब्राह्मणहरूमाथि पिसाब फेर्छु, कुनै समस्या छ?’ भनेका थिए। एक प्रयोगकर्ताले ‘ब्राह्मणहरू तिम्रा पिता हुन्’ भन्ने टिप्पणी गरेपछि जवाफमा त्यस्तो भनेका थिए।
कश्यपको यो विवाद समाज सुधारक ज्योतिबा फुले र सावित्रीबाई फुलेको जीवनमा आधारित फिल्म ‘फुले’ को प्रदर्शनसँग जोडिएको छ। अखिल भारतीय ब्राह्मण समाज र परशुराम आर्थिक विकास महामण्डलले फिल्मको विषयवस्तुमा आपत्ति जनाएपछि अप्रिल ११ मा तय भएको प्रदर्शन मिति स्थगित भएको थियो। सेन्सर बोर्डले पटकथामा परिवर्तन सुझाएपछि फिल्म अब अप्रिल २५ मा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।
कश्यपले फिल्मविरुद्धको विरोध र भारतमा जातीय मुद्दा चित्रण गर्ने चलचित्रमाथिको प्रतिबन्धको आलोचना गरेका छन्। उनले आफ्नो करियरको पहिलो नाटक ज्योतिबा र सावित्रीबाई फुलेको जीवनमा आधारित रहेको बताए। प्रतीक गान्धी र पत्रलेखा अभिनीत यो बायोपिकको ट्रेलर अप्रिल १० मा सार्वजनिक भएपछि ब्राह्मण समुदायका केही सदस्यले यसले समुदायलाई गलत रूपमा चित्रण गरेको भन्दै आपत्ति जनाउँदै आएका छन्। एजेन्सी
प्रकाशित: ६ वैशाख २०८२ १६:३० शनिबार