१) जन्मदिन
सधैंझैं बिहान उठनासाथ एफएम खोलें। शुभप्रभातको बोलीसँगै तिथिमिति र तारिख बतायो एफएमले। सँगै सुतेकी बुढीले ‘बुढाको जन्मदिन पनि आउन लाग्यो’ भनिन्।
‘जन्मदिनमा पण्डित बोलाएर रूद्री पुजापाठ गरिराख्ने होइन है अर्कै तरीकाले जन्मदिन मनाउने सोचेको छु यसपालि।’ मैले भनें।
‘नास्तिक बुढो पुजापाठ गर्ने भन्यो कि मन पर्दैन यो बुढालाई? नयाँ किसिमले भनेको होटलमै गएर केक काटेर मनाउने हो कि?‘ बुढी फतफताइन्।
‘होटलमा गएर हैन गाउँमा जंगलबिच गएर मनाउने हो। मेरो जन्मदिन तुलसी रोप्ने एकादशीको भोलिपल्ट पर्छ। मध्य वर्षाको समय भएर त्यो बेला रोपेको कुनै पनि बिरुवा सर्ने पक्का जस्तै छ। मेरो उमेर कति भयो त्यति रूखकाे बिरुवा रोपेर मनाउने, जसले गर्दा वातावरण शुद्ध गर्न एक त्यान्द्रो मात्र भए नि सघाउ पुग्छ।’ मैले भनेँ।
‘अनि वृक्षरोपणचाहिं कहाँ गर्ने त बिरुवा कहाँबाट ल्याउने हो?’ बुढीको जिज्ञासा थियो।
‘मैले वडामा गएर बिरूवाको पनि व्यवस्था गरिसकेको छु। शनिवार परेकाले धेरैजसो साथीहरू आउन उत्साहित छन्। दुई जना पत्रकार साथी पनि बोलाएको छु किनकि यस्तो सन्देश अरूमाझ पनि पुर्याउनुपर्छ।
एकछिन अगाडिसम्म मेरो कुरा उडाइरहेकी मेराे बुढी पछि कुरो सुनेर भन्छिन्, ‘जन्मदिनमा वृक्षरोपण गर्नु राम्रो हो। समय पनि बिरुवा रोप्ने समय नै हो। वृक्षरोपण पनि गर्नुस् पूजापाठ भनेको पनि गर्नुपर्छ। एक महिनापछि मेरो जन्मदिन पनि यसरी नै मनाउने छु।’
‘धेरैले यस्तो विचार गरे फेरि हाम्रो देशमा ‘हरियो वन नेपालको धन’ को नारा सार्थक हुन समय लाग्दैन होला। नेता कलाकारहरूले शुरू गर्नुपर्ने काम हामीले गर्ने भयौं त कसो बुढी?’ मैले हाँस्दै भनें र बुढीको अनुहारमा आएको परिवर्तनलाई नियालें।
२) भुमरीभित्र
रीतालाई समाजसेवामा विशेष रुचि छ। उनी सोसल वर्क विषय लिएर विश्वविद्यालयमा मास्टर पढ्दै छिन्। पढाइसँगै एउटा एनजीओमा काम पनि गर्दै छिन्। पढाइ सकिएपछि राम्रो व्यापारी घरानामा विवाह पनि भयो।
जीवन सरल रूपमा चल्दै थियो। कामको सिलसिलामा रीतालाई पीडितहरूकाे विषयमा जिल्लातिर भ्रमण गैराख्नुपर्ने हुन्थ्यो। कहिलेकाहीं घन्टौं हिंडेर जानुपर्ने पनि हुन्छ। तर समाजसेवा रीताको रुचिको विषय हो। उनी काममा रमाई नै रहेकी थिइन्। तर घरमा भने उसलाई महिनामा दश दिन पनि घरमा बस्न नभ्याउने बुहारी भनेर परिवारले अलि मन अमिलो पारेका थिए। कहिले त आएर दुई दिन बस्न नपाउँदै तुरन्त बाहिर जानुपर्ने हुन्थ्यो उनलाई।
एक दिन तराईको एउटा गाउँमा बुहारीले दाइजो नल्याएको निहुँमा जलाएको केस अध्ययन गर्न जानुपर्ने भयो। रातभरको गाडी बिहानभरको गोरुगाडामा बसेर पनि एकडेढ घन्टा हिंड्नुपर्ने विकट गाउँमा घटना भएको रहेछ। त्यो दिन रीतालाई धेरै नै थकाइ लाग्यो। खाना पनि समयमा र गतिलो खान पाइनन्। गाउँले पनि अपराध लुकाउन सघाउने खालको हुँदा रीतालाई धेरै गाह्रो भयो। तैपनि काम फत्ते गरेर आइन् तर धपेडीले उनलाई सन्चो भएन त्यो दिन। भोलिपल्ट साँझ घर पुग्दा उनको शरीर थिलथिलो भएको थियो। घर पुग्नसाथ रीता आफ्नो कोठामा सुत्न गइन्। घरका परिवार सासुआमा र जेठानीहरूले ओठ लेप्र्याए।
श्रीमानचाहिँ व्यापारको सिलसिलामा हप्ता दिनको विदेश यात्राबाट फर्केका मात्र थिए। धेरै दिनको यात्रापछि श्रीमानको श्रीमतीसँग बातचित गर्ने माया साट्ने मुड थियो। रीता औषधि खाएर पल्टेकी मात्र थिइन्। श्रीमानले उत्सुकतासाथ रीताको हात तान्छन्। उनी आज हैन प्लिज भन्छिन् र गहिरो निन्द्रामा सुत्छिन्। त्यस्तो घटना उनीहरू बिच दुईतीन पटक भैसकेको थियो।
एक दिन रीताले मेसेन्जरमा ‘तिम्रो श्रीमानको त अर्कै केटीसँग लसपस रहेछ नि’ भन्ने खबर साथीबाट पाउँछे। उनलाई विश्वास लाग्दैन। उल्टै हकारेर पठाउँछिन्।
दुईचार दिनपछिको घटना हो। रीता घरमै थिइन्। श्रीमानसँगै एक केटा साथी सँगै आए र साथीलाई कोठाभित्र कुरा गर्दै गर्नू। म एकछिन माथि गएर आउँछु भनेर जान्छन्।
रीताले श्रीमानको साथीलाई भन्छिन्, ‘आजभन्दा पहिले त हजुरलाई कहिल्यै देख्या छैन, हजुरको पनि मेरो श्रीमानको जस्तै काम हो र?’ भनी सोध्छिन्। उनले नसोचेको जवाफ पाउँछिन्।
‘म हजुरको श्रीमानको कानुनी सल्लाहकार हुँ। हजुरको श्रीमान् हजुरसँग डिभोर्स चाहन्छन्। तपाईको माग के छ? सल्लाहमै टुंग्याउनु भए राम्रो हो। मलाई खुलस्त बताउनुस्, भन्छन्।’
रीता छाँगाबाट झरे जस्तै भइन्।
- सुरेन्द्रलाल भुजू
प्रकाशित: ४ वैशाख २०८२ १०:१८ बिहीबार