कला/संस्कृति

‘कपन साहित्य समाज’ काे ‘कविता क्यालेन्डर’ लाेकार्पण

‘कपन साहित्य समाज’ ले ‘कविता क्यालेण्डर-२०८२’ काे लाेकार्पण तथा नयाँ वर्ष-२०८२ को शुभकामना आदानप्रदान गरेकाे छ।

स्थापना कालदेखि नियमित रूपमा प्रकाशन गरिंदै आएको कविता क्यालेण्डर-२०८२ मा विभिन्न स्रष्टाकाे छाेटाेमिठाे सिर्जना अटाइएकाे छ।

समाजको आफ्नै भवन, यात्री स्मृति कक्ष, आकाशेधारा कपनमा सम्पन कार्यक्रममा उपस्थित झन्डै ५० साहित्यकारले एकसाथ कृतिकाे लाेकार्पण गरेका थिए।

समाजका उपाध्यक्ष डा. विष्णु केसीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. जगत उपाध्यायले विधागत अनुसन्धानात्मक कृतिहरूको प्रकाशनतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेका थिए।

त्यस्तै विशेष अतिथि कवि तथा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले साहित्यिक गतिविधिमा कपन साहित्य समाजको निरन्तरताप्रति धन्यवादका साथै आगामी दिनमा अझै थप परिष्कृतताका साथ सफलताको शुभकामना प्रदान गरेकी थिइन्।

समाजका सचिव त्रिलोचन आचार्यले उपस्थित अतिथि कविहरूलाई स्वागत गरेका थिए। समाजका महासचिव लक्ष्मण अधिकारीले चलाएकाे उक्त कार्यक्रममा ३९ कविले क्यालेण्डरमा प्रकाशित कविताको वाचन गरेका थिए।

कार्यक्रमका सभापति डा. विष्णु केसीले समाजका साहित्यिक गतिविधिमा सक्रिय सहभागिताका लागि साहित्यकारहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै थप सशक्त सहभागिताका लागि हार्दिक अनुरोध गरेका थिए।

प्रकाशित: १ वैशाख २०८२ १०:४५ सोमबार

# Poem # Nagarik