सूर्यको पहिलो किरणले सुनौलो रङमा रङ्याएको हिमाललाई हेर्ने सपना प्रिय लाग्छ। त्यो उज्यालो बिहान, जब हिमालले आफ्नो सुनौलो आवरण ओढ्छ, मानौं कुनै नवयौवना सौन्दर्यले आफ्नो अस्तित्वलाई फक्राउँदै छ। यो दृश्यले मनभित्रको भावना जुरुक्क उठाइदिन्छ। प्रकृतिसँगको यो यात्रा आँखाले देखिने दृश्य हो। यो आत्मा र प्रकृतिबिचको प्रेमिल संवाद पनि हो।
मेरो यात्रा काठमाडौंको व्यस्त जीवनबाट सुरु भएको थियो। सहरको कोलाहल, धुलो र धुवाँबाट मुक्त भएर म आफूलाई हिमालको काखमा पुर्याउने योजना बुन्दै थिएँ। चिसो हावाको झोक्कासँगै सुनको जलपले नुहाएका हिमाली सौन्दर्यमा विलीन हुने मेरो उत्कट अभिलाषा थियो। पहाडका शिरदेखि खोँचसम्म पुगी हिमाली उचाइमा पुगेर सुनौलो रङ छरिएको कल्पना मेरो मनमा उर्लिएको थियो। यसपटकको गन्तव्य थियो– अन्नपूर्ण उपत्यका अर्थात् अन्नपूर्ण आधार शिविर।
वीरेठाँटीबाट कच्ची भिरालो बाटो हुँदै झिनुको उकालो लाग्दा हिँड्नुको थकाइले पाइला अगाडि बढ्नै मान्दैन। गन्तव्यसम्म पुग्नुपर्ने अझै कैयौं उकालो र ओरालो बाटो छिचोल्नु छँदैछ। हिमालसँग प्रथम मिलनको अपार खुसी मिल्ने कुरा बताउँदै मनलाई सम्झाउँदै पाइला चाल्नुको विकल्प थिएन।
खच्चडले बिगारेको धुलाम्मे उकालोबाट आँखाले पहिलोपटक देख्यो चाँदीजस्तै चम्किला हिमालका शिखर। पहाडहरूका पत्रैपत्रपछि ती शिखरहरूमा बिहानको घुर्मैलो उज्यालो परेको थियो। मौसम सफा नभएकाले हिमाल र पहाड राम्ररी देख्न सकिँदैनथ्यो। तथापि त्यो उज्यालो झिल्काले प्रकृतिको काखलाई सुशोभित बनाइरहेको थियो। यो दृश्यले हेर्दै उकालो चढेको थकाइ बिर्सिंदै उत्सुकताले पाइला लम्किन्थ्यो।
गाउँहरू पार गर्दै जाँदा मानिसहरूको सरल जीवनशैली देखिन्थ्यो। उनीहरूको मुस्कान हिमालको उज्यालो जस्तै निष्कपट थियो। उनीहरूले मलाई चिया र तातो दालभातले स्वागत गरे। पहाडमा पुग्दा, मानिसहरू आफ्ना रीतिरिवाज र संस्कृतिजस्तै प्रकृतिसँग पनि जोडिएका देखिन्छन्। आत्मीयतापूर्ण मित्रवत् भावना उनीहरूको पहिचान हो।
झिनुको उकालोलाई मध्यदिनको घाममा पैतालासम्म पसिना चुहाउँदै छिचोल्नु गाह्रो थियो। तैपनि आँटेपछि र आँखाले राताम्मे गुराँसको स्वागत पाएपछि हिमाल भेट्नुको भोकले अब खुरुखुरु ओरालो झार्न थालिसकेको थियो। छुम्रोङको थाप्लोबाट धमिलो भए पनि अन्नपूर्ण र हिउँचुली देखेपछि पाइलाले फड्को मार्न थाल्यो। ढुंगा बिछ्याइएको बाटो हुँदै ओरालो बाटो एकैछिनमा झरियो।
तल्लो सिन्वा हुँदै माथिल्लो सिन्वाको उकालो काट्न निकै कठिन भयो। सानो झालुङ्गे पुल टेकेर पारि पुग्दा दुई वटा घर मात्र देखिए। बारीमा मकैका तीनपाते पिपिरा हुर्किंदै थिए। मान्छेको चहलपहल देखिएन। बाटोमा पनि कमै यात्रीको आवतजावत थियो। घुम्ती उकालोमा लठारिएका, बटारिएका, बाङ्गिएका अग्ला रुखहरू भेटिन्थे। तिनमा सुनाखरी फुलिरहेका देखिन्थे। बल्ल सिन्वाको सिकुवामा पुगेर थकाइ मार्दा आराम मिल्यो। आफू आएको बाटो फर्किएर हेर्दा धेरै पहाड छिचोलिसकेकोले अबको यात्रा केही होइन भन्ने हिम्मत बढ्थ्यो।
दुवै सिन्वालाई उछिनिसकेपछि अब यात्राले साँच्चै गति समातिसकेको आभास हुन थाल्यो। हिँडेर थाकेका पर्यटकहरू दिउँसै बास बस्ने तर्खरमा थिए। बेस्वादको चियाको महङ्गो मूल्य तिरेर म फेरि बाटो लागें। जंगलको तेस्र्रैतेर्सो बाटो हुँदै अगाडि बढेँ। पारिपट्टि घनाजंगल र डरलाग्दो पर्वत–शृंखला ठडिएको देखिन्थ्यो। लाग्थ्यो– त्यहाँ कैयौं वन्यजन्तु होलान्। तर त्यहाँ अहिलेसम्म मानिसको पाइलासम्म परेको छैन।
अन्नपूर्ण आधार शिविर पुगेर फर्किनेहरूको अनुहारमा झल्किएको खुसी हेर्दै त्यस्तै खुसी भेट्ने हतारोले छिटो–छिटो मेरा पाइला लम्किन थालिरहे। पाइलाले फड्को मार्न थाल्नुअघि मैले धेरै कुरा सोचेँ– राताम्मे गुराँसको स्वागत, अनन्त हिउँको लुकाई, उकालो र ओरालोको असहज खेल। त्यसै समय मैले महसुस गरें, यो यात्रा हिमालसम्मको यात्रा मात्रै होइन, यो जीवनको यात्रा पनि हो। जीवनका उकालो र ओरालोहरूसँग जस्तो।
यस यात्रामा कैयौं घुम्तीहरू आउँथे। कुइनेटा, देउराली र भन्ज्याङहरूले पर्खिरहेका हुन्थे। एउटा कठिन मोड काटेपछि फेरि त्यस्तै अर्को मोड आउँदा खुट्टा लग्लग काम्न थाल्थ्यो। तथापि चिटिक्कका फराकिला चिप्लेटी ढुंगा बिछ्याएर बनाइएका चौतारी, गुराँसका राताम्मे जंगल देख्दा थाकेको ज्यान बिसाइहाल्न मन लाग्थ्यो।
बाटोको तलतिर, मास्तिर गुराँसका बोटमा ढकमक्क फुलिरहेका लालीगुराँसका फूलहरूको निश्चल सौन्दर्य हेर्दै हिँड्नु। कोइलीको विरह भाका सुन्दै र अरू चराका चिरर्बिरको गुञ्जनमा मुग्ध हुँदै गन्तव्यतिर लम्किनु बेग्लै यात्राको अनुभव हुन्थ्यो।
यो यात्रा मेरो संवेदनशीलतालाई ताजगी दिने थियो। मैले पाएको यो शान्ति र सरलता यस्तो लाग्थ्यो जीवनका सबै जटिलताबाट मुक्त हुनु हो। प्रकृतिका स्वाभाविक दृश्य र आवाजहरूले मेरो मनको हिँडाइको दुखाइ निको पार्न पर्याप्त थियो।
सिन्वाबाट बेम्बोसम्म पुग्न घनाजंगलको सुनसान बाटो निकै कहालीलाग्दो पनि थियो। त्यसमाथि बेम्बो पुग्ने बेलामा थाकेको खुट्टा र भोकाएको आत्माले ओरालो सिँढी झर्न कम मुस्किल थिएन। मोदीखोलाको किनारमै अवस्थित बाँसघारीले जंगल भरिएको ओसिलो स्थान थियो बेम्बो।
मास्तिरबाट झर्ने र तलतिरबाट आउनेहरू यही स्थानमा रहेका होटलमा बास बस्दारहेछन्। मैले पनि बेम्बो गेस्ट हाउसमा आफूलाई बिसाएँ। त्यहाँको नियमानुसार ‘प्याकेज’ मा खाने र बस्ने सुविधा ग्रहण गरें। तर पैसा तिरेअनुसार खानपानमा खासै स्वाद पाउन सकिएन। भोकाएको बेला त यस्तो भने अरू बेला कसरी घाँटीबाट निल्न सकिएला र? भन्ने सोच्दै भोलि बेलुका अन्नपूर्ण आधार शिविरको आँगनमा बास बस्न पुगिने मिठो परिकल्पनाले ओछ्यानमा पल्टिएँ।
भोलिपल्ट बिहान बेम्बोबाट उकालो लाग्दा बाटैभरि बाँसका झाङ, गुराँसका बोट र लेउझेउले ढाकेका बडेमानका रुखहरू पदयात्रीको बाटै छेकेर ठडिएका भेटिए। केहीबेरको हिँडाइपछि एक सय आठ वटा छहरा रहेको भनिने ठाउँ आयो। ‘पोजङ्यम बराह थान’बाट पारिपट्टि आकाशैबाट झरिरहेझै छहराबाट झरना वेगले तल मोदीखोलामा झरिरहेको मनोरम दृश्य देखियो।
केही तेर्सोबाटो अब त्यो मन्दिरबाट ठाडो उकालोतिर लम्कियो। बेम्बोबाट हिँडेको लगभग डेढ घण्टापछि दोभान भन्ने ठाउँ आयो। यहाँ खानेबस्ने सुविधासहितका केही होटलहरू थिए। त्यहाँबाट फटाफट हिँडेर हिमालय पुग्दा एक ठाउँमा हिउँ जमेको चिप्लो बाटो निकै जोखिमको थियो।
त्यहाँको चिसो हिमाली हावाले शरीरमा स्पर्श गर्दा गर्मीले धपक्क बलेको ज्यानमा शीतल शक्ति मिल्थ्यो। सन्नाटामय त्यो एकान्त परिवेशमा हावाको आवाजले प्रकृतिसँगको सामीप्य महसुस गराउँथ्यो। म आफैंलाई यहाँ यति सानो र शान्त अनुभूति भइरहेको थियो।
हिमालको शिखरले जीवनका सारा चिन्ताहरूलाई हराउँदै हिमाल जस्तै चोखो र उच्च कुरा सोच्न सिकाउँथ्यो। यात्रीहरू थकाइ मारिरहेका थिए। उनीहरूमा पाइला सार्नुको पछाडि नमिठो पीडाबोध थियो। तर अन्नपूर्ण हिमाललाई अघाउँजी हेर्न पाउँदा औधी खुसी भएको अनुभव बाँडिरहेका थिए। उनीहरू त्यही खुसी बोकेर फर्किरहेका थिए। एकछिनको विश्राममा उनीहरूको सन्तुष्टिको अनुभव मैले सुन्न पाएँ। यसले मेरो पाइलालाई झन् सक्रिय र मनलाई झन् उत्सुक पार्न मद्दत गरिदियो। यिनै ऊर्जामय आँटले मेरा पाइला रुखो भूमिको एकलास पाटोमा लगातार लम्किरहे।
हिमालयपछि देउराली पुग्दा ३२०० मिटरको उचाइमा पुगिएछ। अब रुखहरू पातलिँदै जान थाले। हिउँ जमेका थुप्राहरू भेटिन थाले। चट्टानबाट फुत्त झरेर बगिरहेका झरनाहरू धेरै देखिए। सिक्रीटाट रुखहरू पनि छिनभर हेर्नका लागि राम्रा थिए। हरियाली बनजंगल अब थिएनन्। उकालिँदै पाइला हिँडिरहेका थिए।
एबिसीमा पुग्न लाग्दा हिमपात सुरु भयो। रोकिएला भनी होटलमा खाजा खाइसक्दा पनि हिउँ झर्ने क्रमले विश्राम लिएन। दिउँसै अँध्यारो भएर आयो। कतिपय यात्री त्यहीँ बसे। केहीले एबिसीतिर पाइला चाले। म पनि उनीहरूकै पछि लागेँ। यहाँबाट बिस्तारै जाँदा एबीसी पुग्न दुई घण्टा लाग्ने जानकारी मिल्यो।
‘बसे बसिन्छ, हिँडे पुगिन्छ’ भन्ने कुरालाई मनन गर्दै हिँडन थालें। वरपर हिउँले भरिएको थियो। हुस्सुले केही देखिँदैनथ्यो। हिउँको बाटो, हिउँ परिरहेको त्यसमाथि उकालै–उकालोमा सजिलै गन्तव्य पुग्न हम्मैहम्मे नै थियो। बाटो सुनसान थियो। बनजंगल केही थिएन। चराको चिर्बिर केही सुनिदैनथ्यो। हिउँ झरिरहेको एकनाश गति थियो। मेरा पाइला दश पाइला उक्लिँदै, उभिँदै उँधो हेर्दै, उँभो नियाल्दै फेरि उही क्रममा उकालो लम्किरहेको थियो।
यो हिउँयात्रा अनुभूतिमय भइरह्यो। हिउँमा टेकेको आफ्नै पाइलाको आवाजबाहेक अरू केही सुनिँदैनथ्यो। कतै हिउँले बाटो हराउँथ्यो। कतै हिउँमा खुट्टा जाकिन्थ्यो। सफा मौसम भइदिएको भए हिउँले भरिभराउ भूमि र वरिपरिका हिमालहरू कति सुन्दर देखिन्थे होलान् भन्ने सोच्दै म अन्नपूर्ण फेदी पुग्ने हतारोमा हिँडिरहेँ।
बिहानको शीतल बतासले चिमोट्दै सम्झायो– जहाँ म आएको छु, यो कुनै साधारण ठाउँ होइन। अन्नपूर्ण, हिउँचुली र माछापुच्छ्रे हिमालयका चुचुराहरूलाई नजिकबाट हेर्ने मेरो जीवनको पहिलो यो यात्रा।
हिमालको यो सुनौलो छवि अनेक दृश्यहरूको समायोजन र यो एउटा प्रेरणा थियो। जस्तै सूर्यले हरेक बिहान हिमाललाई आफ्नो कोमल किरणहरूको उज्यालोले सजाउँछ, हामी पनि आफ्नो जीवनलाई उज्यालो सोच, नयाँ ऊर्जा र सकारात्मक भावले रङ्ग्याउन सधैं उत्सुक रहन्छौं। प्रकृतिको यो पाठले मेरो मनमा एउटा नयाँ विचार रोप्यो– परिवर्तन भनेको प्रकृतिको सबैभन्दा सुन्दर सत्य हो।
यही सत्यले घुमन्ते स्वभावलाई सिर्जनशील पार्न मद्दत गर्छ। पुरानो सोँच र शैलीलाई त्यागेर नवजीवनको मार्गमा हिँड्न प्रेरित गरिरहन्छ। ती हिमालहरूलाई म हेर्दै सोँच्दै थिएँ– समयको चक्रसँगै हिमालको यो सुनौलो स्वरूप हरेक दिन नयाँ हुन्छ। जस्तो कि जीवन पनि, जो हरेक बिहान नयाँ आशा र सपना लिएर बिउँझिन्छ। हिमालको यो स्वरूपले मलाई एक क्षणका लागि समयको सबै सीमा तोडेर अनन्ततामा हराउने मौका दिएजस्तो लाग्यो।
लाग्थ्यो– सामुन्ने बसेका ती हिमालहरूले मानिसलाई केही कुरा भन्न खोजिरहेका थिए। ती चुचुराहरू सायद हाम्रो व्यस्त जीवनलाई सम्झाइरहेका थिए– शान्ति, सुन्दरताको मर्म र प्रकृतिसँगको सहजीवन। मानिसले बिर्सिएको प्रकृतिसँगको नाता यहाँ पुगेर फेरि झल्कन्छ। त्यस बिहानको घाम, सुनौलो हिमाल र चिसो हावाको स्पर्शले एउटा नयाँ कविता जन्मायो। त्यो कविता थियो– जीवन र प्रकृतिको सुन्दर सह–अस्तित्व। म आफ्नै मनभित्र एउटा हिमालको चुचुरोझैं उभिएर, शून्यताको गहिराइमा हराउँदै थिएँ।
त्यस दिन बिहानको कलिलो घामसँगै मैले एउटा नयाँ यात्रा सुरु गरेँ– बाहिरी दृश्य मात्र होइन, भित्री शान्तिको। हिमालको सुनौलो रङले नुहाएको मेरो आत्माले त्यो यात्रालाई अनन्त बनाइरहने छ।
जब घामले हिमाललाई पूर्ण रूपमा आफ्नो रङले रङ्ग्यायो, त्यो दृश्यले मभित्र एउटा अनौठो शान्ति र गहिरो आकर्षण ल्यायो। सुनको जलपले नुहाएको हिमाल मानौं कुनै नवयौवना थियो, जसको सौन्दर्यले सारा संसारलाई मोहनी लगाउँथ्यो। त्यही सौन्दर्यले हरेक मान्छेलाई आधारातमै उठेर यहाँ आउन प्रेरित गर्छ।
मैले पहिलोपटक ‘सुनले नुहाएको हिमालको नवयौवना सौन्दर्य’ शब्द सुनें। त्यहाँका पुराना कथाहरू, मानिसहरूको जिउँदो सम्झनाहरू र हिमालका अनन्त शिखरहरू सबैको बीचमा यी शब्दहरू जस्तै एक सम्मोहक धुनजस्तो गुञ्जिरहेका थिए। के छ यी शब्दहरूको पछाडि ? के यिनले हामीलाई हिमालको रहस्यमय सौन्दर्य र विशालता बुझाउन चाहन्छ ?
यस दृश्यमा मैले ‘सुनले नुहाएका हिमालहरू’को सौन्दर्य अनुभव गरेँ। यो दृश्य यस्तो लाग्थ्यो कि यसले आकाश र पृथ्वीको सिमाना नाघेको छ। यसको पवित्र र विशाल पक्षले मसँग प्रत्यक्ष संवाद गरिरहेको थियो।
सोचेँ– वास्तवमा मैले के खोजिरहेको थिएँ? आफूलाई यति थकित गराएर जिउज्यानलाई गलाएर के मैले हिमालको सौन्दर्यलाई आत्मसात गर्न सकेँ? मैले के चाहन्थेँ, वा मैले त्यस सौन्दर्यसँग एक गहिरो जीवन अनुभवको खोजी गरिरहेको थिएँ?
यो मेरा लागि एउटा अविस्मरणीय यात्रा थियो। सुनको जलपले नुहाएका हिमालहरूकोसौन्दर्यले मेरो आँखालाई खुसीको उत्सवमा सामेल गरायो। यसले मेरो हृदयमा सधैंभरिका लागि प्रगाढ छाप छोड्यो। त्यही छाप मेरो लेखनको प्रेरणा बन्यो। यो यात्रा र यात्राका सम्झनाहरू अनेकौं भएर जीवनभरि रहिरहने छन्।
प्रकाशित: ३० चैत्र २०८१ ११:१९ शनिबार