कला/संस्कृति

जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो!

मुक्तक

१) मुक्तक

श्रद्धाञ्जलीको लिस्टमा एक नाम उसको राखिदिनु,

चोटै चोटले जिउँदै लास, मात्र एउटा कात्रो खापीदिनु।

धड्किनै छोड्यो मुटु शिथिल छन् उसका नाडीहरू,

डाक्टर कोरोनाले मरेको भन्दै अखबारमा छापीदिनु।

२) मुक्तक

जौहरीले जाँचेको हिरा पनि नानाभाती निस्क्यो,

सधैं गलत ठानेको व्यक्ति पनि बरु जाती निस्क्यो।

हे दैव! कसरी बुझ्नु स्वभाव र गुण मानिसकाे!

यात्री जब मझधारमा थियो, माझी घाती निस्क्यो।

३) मुक्तक

अधर्मको सागरमा सत्य लुकाएर असत्य लेखिन्छ,

सर्वत्र घीनलाग्दो छ आरोप-प्रत्यारोप मात्र देखिन्छ।

कोही चाहन्नन् आफ्नै आङको छारो टकट्क्याउन,

र त अरूलाई हिलो छ्यापेर आफ्ना गल्ती छेकिन्छ।

४) मुक्तक

भद्रताको बनावटी खोल ओढ्छन् असभ्यका झुन्डहरू,

अझै आधा घैंटोझैँ छचल्किन्छन् अल्पविद्याका कुण्डहरू।

पाउभरिको भ्यागुता धार्नी सम्झन्छन् अनि उफ्रन्छन् यसै,

र त सडकभरि छ्यापछ्याप्ती छन् विनाधडका मुण्डहरू।

५) मुक्तक

जतिजति फेरियौ सरकार, उदाङ्गो छ देशको नीति,

पुग्दैन मजदुरहरूका झुपडीमा बाङ्गो छ देशको नीति।

जस्ले भेट्यो पकेटमा हाल्यो सम्झ्यो आफ्नै पेवाझैं,

निस्के सबै भ्रष्टचारी लुछे लुटे नाङ्गो छ देशको नीति।

६) मुक्तक

भोकमा पटुका कस्ने र हुने खानेको भिन्दै जात छ,

हे काल आ, मलाई लैजा भन्नेहरूको बेग्लै जमात छ।

दु:खमाथिको दुखेसो कहिल्यै नसकिने भयो दु;खीको,

दुष्ट यमराजको सोचमा पनि हुने नहुनेमा पक्षपात छ।

७) मुक्तक

कसरी भन्नू र निराधार मन पराउँछन,

अलिअलि हो र भरमार मन पराउँछन्।

अनुहारको सुन्दरतामा वशीभूत हुनेहरू,

रचना भन्दा नि रचनाकार मन पराउँछन।

८) मुक्तक

मेरो सुख शान्तिको घरबार छ भनेर घमण्ड के गर्नु,

तिम्रो झुपडी त मेरो दरबार छ भनेर घमण्ड के गर्नु!

समय बित्दा भुत्ते हुन्छ र खिया लाग्छ खुकुरीमा पनि, 

हो मसँग धारिलो तरबार छ भनेर घमण्ड के गर्नु र!

९) मुक्तक

जेठको घामपानी जस्तै छ सरकार अचम्म लाग्छ,

आँखा छन् पदमा मात्र पदकै दरकार अचम्म लाग्छ।

जनतालाई कुल्चेर पैतालामुनि सधैं राज गर्छन् ,

देश लुट्ने दुष्टहरूको छ अनेक प्रकार अचम्म लाग्छ।

१०) मुक्तक

यहाँ निष्कपट, निश्छल चुलबुलेहरूको पनि कमी छैन,

जताततै पोखिने कुरौटे छुलछुलेहरूको पनि कमी छैन।

कसैको साथ सौहार्द देख्दा डाहाले खप्न नसकी बरा,

सम्बन्धहरू बिगार्दै हिंड्ने सुलसुलेहरूको पनि कमी छैन।

प्रकाशित: २४ फाल्गुन २०८१ ११:४४ शनिबार