कला/संस्कृति

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!

मुक्तक

१) मुक्तक

मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ,

दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ।

वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,

मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।

२) मुक्तक

तिम्रो सावन हेर्दै म धेरैबेर रुझिरहें,

बदलिएको आकाशबाट म झरिरहें।

सायद तिम्रो दर्दमा मेरो पीडा रहेछ,

त्यसैले त तिम्रो आँसुसँगै म बगिरहें।

३) मुक्तक

मलाई रातको अर्थ नलगाउ मेरो साथमा पनि जून छ,

गाउन नसकौंला अर्को कुरा गुनगुनाउन सक्ने धुन छ।

थाह छ यहाँ बोल्नेको पिठो बिक्ने नबोल्नेको केही छैन,

तैपनि कोसिस जारी छ ममा पनि संयम र धैर्यको गुण छ।

४) मुक्तक

छुनै नसक्ने आकाशको गन्तव्य के गर्नु,

कहीं प्रायोजितमा लेखेको मन्तव्य के गर्नु।

जहाँ दिल छ त्यहाँ शील छ सदा सन्तोषी,

कर्मै नगर्ने छली निकालेको वक्तव्य के गर्नु।

५) मुक्तक

पलपल सानासाना खबरले नि अखबार चलेथ्यो,

आज खिइएको छ जमानामा नि तरबार बलेथ्यो।

महत्त्व सबैको हुन्छ छोटो र खोटो नभन कसैलाई,

समय साछी, सानै ढुङ्गा हिलेर नि दरबार ढलेथ्यो।

६) मुक्तक

जति सम्झिए पनि हँसिया आफैंतिर सोझेको हुन्छ,

आफ्नै छाया पनि उज्यालोको डोब खोजेको हुन्छ।

अरे सबै यहाँ आफ्नै मतलबीमा मात्र हिंड्दो रहेछ,

तारा पनि आफ्नो बयान मात्र रातमा रोजेको हुन्छ।

७) मुक्तक

फलाम हुँ म औजार बनेर रमिएको छु,

सुनको टुक्रा हुँ गहना बनेर सजिएको छु।

अहम्को ताजमा गरमको कुनै तुक छैन,

ममा म छैन वश, नरम बनेर बसिएको छु।

८) मुक्तक

बेहिसाब छ जिन्दगी कहीं जोडिन्छ कहीं टुक्रिन्छ,

खुला पाना हो जिन्दगी, सारा या रंगीन खुलिन्छ।

अरे नियति नै भन्दै आँखा नमिच्नु बदलिन सक्छ,

सपना न हो जिन्दगी फूलसँगै काँडा पनि झुलिन्छ।

९) मुक्तक

चर्चा र आदर्शको कुरा त धेरै सुनेको छु,

घुमाउरो पाराको यस्तै अदाकारी बुझेको छु।

ताली बजाउन लगाउने खप्पिस माहिर छन्,

आफू केन्द्रित प्रशंसा सुनाउने धेरै देखेको छु।

१०) मुक्तक

हो आकाशका छाती ठुलो र अनन्त फिंजिएको छ,

कञ्चन निल अनुभूत काया आँखाभरि सजिएको छ।

हुरीबादल कसिंगरले धमिल्याउन खोजिरहन्छन्,

किन्तु सत्य क्षण छैन यकिन र विश्वास भरिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८१ १२:५१ बिहीबार

# Laghukatha Samaj Nepal # Laghukatha Saundarya # Nagarik ko 'Akshaar' # Pustak Lokarpan # Pustak Samiksha # Kala yatra # Nagarik # Flute melody