कला

प्रज्ञाविमर्श

कविता

अचेल रहरलाई मुस्किल छ जिउन

विषादीको बिगबिगी जित्छ खेतबारी

भुस बालुवा कसमसले जित्छ खाद्य

धूर्तहरूको बोलबालाले पिट्छ व्यवहार

धुवाँधुलोलाई पौंठेजोरी खेलाउँछ सहर

छिनछिनमा अर्थहीन विवाद मच्चाउँछ घर

स्वार्थ लोभलालसा ईर्ष्या र घृणा पाल्छ मन

श्रमलाई जस नदिई आलस्य पत्याउँछ तन

लुटपाट घुस कमिसनको तार जोड्छ विधि

मान्छे स्वयं ढाँटछल प्रदर्शनमा व्यस्त रहन्छ

स्वाधीन देशको मानमर्दनमा पुरुषार्थ देख्छ

कूटनीतिको भागबन्डा चलाउँछ शासन

गफ,गफले ठग्छ यहाँ  निमुखो जीवन

वाङमयी सम्पदा विनाशको चल्छ होडबाजी

विज्ञविमर्शमा निर्णय लिने गलत बानी छैन

म,मैमत्त छु कसैको प्रज्ञान आवश्यक छैन

यो माटाको चिन्ताले म किन पिरोलिने

कसैले नलिएको जिम्मेवारी मैले लिने?

किन गर्ने यो उत्पादन बढाउने दुस्साहस

हो, बाले सङ्घर्ष गरे छोराले खान्छ व्याज

आजको भौतिक सुख छाडेर देशको कुरा?

अनुहारमा दाग बस्ने डर सताउँदैन मलाई

इतिहास जित्नेको लेखिन्छ थाहा छ मलाई

उज्यालो खोज्न निस्केको यात्री अवश्य हुँ

तर म साझा बत्तीमा तेल नथप्ने बहादुर हुँ

ढुक्क हुनुहोस् महाशय म, मै हुँ इमान हैन

माटो पानीको पिरबेथामा मलम लाउने र

संवेदना उभिन पाउने विवेकी आँगन हैन

हो महाशय, मलाई देश कूटनीति स्वाभिमान

नैतिक मूल्य कर्तव्यबोध यी आदर्शमा चासो छैन

म, मै हुँ, माटो पानीको बेथा बल्झिरहनुपर्छ

अनि, अनि पो बल्ल! हुन्छ, हुन्छ

उपचारको प्रतीक्षा गराइरहन मिल्छ!

प्रकाशित: १ फाल्गुन २०८१ १०:५० बिहीबार

# Poem # Laghukatha # Muktak # Niyatra