कला

नेपाली समय

निबन्ध

मध्यदिनमा नयाँ सडक गेटछेउमा एक जना साथीलाई कुर्दै थिएँ। उनले दिउँसो तीन बजे आइपुग्छु भन्थे, साढे तीन बजेसम्म पनि आइपुगेनन्। यसो सोचेँ, नेपाली समय न हो, आधा घण्टाजति छ ढिलो भइहाल्छ नि। म पनि नेपाली समय भन्दै आधा घण्टा ढिलो गरेर आउनुपर्ने। म भने तीन बजे भेट्ने कार्यक्रम भएकाले ठिक समयमा नै पुगेको थिएँ। ‘ओहो, यो मध्यदिनमा पनि कति जाम, समयमै आइपुग्छु भनेको केही न केहीले ढिलो गराइहाल्ने’ भन्दै उनी पौने चार बजेतिर आइपुगे।

४५ मिनेटको त्यो कुराइ फलदायी भएकाले उनी ढिलो आए पनि म भने आत्तिएको थिइनँ। एक मनले त अझै केही समय नआए पनि हुन्थ्यो जस्तो ठानिरहेको थियो। म निबन्धको विषय खोज्दै थिएँ। त्यो कुराइबिच लेखनको एउटा अधकल्चो विषय भेटिएजस्तो लाग्दै थियो मलाई। एउटा अधकल्चो लेखकलाई अधकल्चो विषय भेटिनु चानचुने कुरा होइन। विषय जताततै हुँदा रहेछन्, तर अधकल्चो हेराइमा ती कुरिरहेका विषय पनि समात्न नसक्ने, यत्रतत्र छरिएर रहेका विषय पनि देख्न नसक्ने समस्या हुँदो रहेछ। जताततै भएका चिजवस्तु पनि देख्न नसक्ने यी आँखा देख्दा पनि कहिलेकाहीं त विरक्त लागेर आउने। तर त्यो कुराइमा भने यी अपजसी आँखाले जस पाए।

सबै हतारमा थिए। खुट्टाले हिँडेर नभ्याइने भएकाले होला, कुद्दै थिए सवारी साधनमा। कोही होलसेल बजारतिरबाट भारी बोकाएर मान्छेलाई खेदिराखेका थिए, कोही हातमा फूलपाती र फलफूलका थाली लिएर सङ्कटा मन्दिरतिर दौडँदै थिए। गेटनजिकैको गुँदपाक पसलमा पाउ, इमली, पुष्टकारी, बजारिया कुराउनी किन्नेको भिड कस्तो हो? किन्नेलाई पनि फुर्सद थिएन, बेच्ने पनि उस्तै बेफुर्सदी। त्यो परिदृश्य देख्दा लाग्थ्यो, मान्छे कति चलायमान, व्यस्त, अनुशासित, आत्मनिर्भर अनि बेमतलबी।

सबै मान्छेका कथा फरक फरक छन् पक्कै। सङ्कटा मन्दिर जानेहरूमध्ये कोही धर्म कमाउन जाँदै होलान्, कोही पाप पखाल्न हतारिँदै होलान्। होलसेल बजारबाट सामान बोकाएर ट्याक्सी पार्कतिर जाँदै गरेका व्यापारीको मनमा अनि भारी बोकिरहेको भरियाको मन फरक फरक उद्देश्यका लागि हतारिएको होला पक्कै। त्यो परिदृश्य हेर्दा व्यापारीभन्दा भरिया बढी हतारमा देखिन्थ्यो। उसको मनले यस्तै अरू भारी पनि बोक्न पाए बेलुका श्रीमती, छोराछोरीको मुहारमा खुसी ल्याउन सकिन्थ्यो भन्ने सोचिराखेको थियो होला। उनीहरूको कथा बाहिरबाट देखिएजस्तो भने पक्कै छैन।

धेरै मान्छेको बाहिरबाट देखिने कथा एउटा, भित्री वास्तविक कथा अर्को हुन्छ। गरिब, दुःखी देखिने भरियाका छोराछोरी भव्य, सभ्य र सक्षम पनि हुन सक्छन्, भारी बोकेर भाडाको कोठामा पुगेपछिको उसको खान्की र सामान्य बिस्तरामा लाग्ने निद्रा अनि देख्ने सपना त्यस्तै भव्य, सभ्य हुन सक्छन्। उसैका छोराछोरी होनाहार व्यक्ति बन्ने सङ्घर्ष गरिराखेका हुनसक्छन्।

उता सोही भरियालाई खेदिराखेको साहुजीका छोराछोरी पैसाको दुर्गन्धित खाल्डोमा अचेत अवस्थामा सुतिराखेका पनि हुन सक्छन्। उनीहरूले दुर्व्यसनलाई मनोरञ्जनको माध्यम बनाइराखेका पनि हुन सक्छन्। क्षणिक आनन्द नै जीवन हो भन्ने भाष्यले उनीहरूको दिमागमा डेरा जमाएको हुन सक्छ। भविष्यमा भरियाकी छोरीले व्यापारीको छोरालाई सुधारकेन्द्रमा उपचार गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

पौने घण्टाको कुराइमा उब्जेका मनोतरङ्ग मात्र हुन् यी। मन न हो, के के सोचिरहन्छ। मनले सोचेजस्तो हुन्छ नै भन्ने त कहाँ छ र। व्यापारीको छोरा देशको सफल, सज्जन अनि होनाहार सपुत बन्न पनि सक्छ, दुःख गरेर हुर्काएको, पढाएको भरियाको छोराले जिउँदै बुबालाई नर्कमा पुर्‍याइदिन पनि सक्छ।

यो त भन्न सकिँदैन तर दुःखमा हुर्केका बालबालिका, गाउँको माटोमा लडिबुडी खेलेका बच्चा बढी सङ्घर्षशील हुने र तिनै बालबालिकाले देशविदेशमा उच्च सफलता पाएको देखेको हुनाले मेरो मनमा भरियाकै छोरो मिहिनेती र सफल हुने परिकल्पना उब्जेको हुन सक्छ।

कोही पनि फुर्सदमा देखिँदैनथे। सबै दौडिराखेका थिए। फुर्सदमा त म मात्रै रहेछु कि जस्तो लाग्दै थियो मलाई। आनन्दले कुरिराखेको थिएँ साथीलाई। साथीलाई नभेटिनहुने त्यस्तो विशेष काम पनि थिएन। आफू फुर्सदिलो भएर हो कि सबैलाई हतारमा देखेको? लाग्दै थियो– सबै कहाँ जान दौडेका होलान् ? आखिर हिँडेर पुग्ने समय र दौडेर पुग्ने समयमा पाँच/दश मिनेटकै अन्तर पर्ने त हो नि। त्यो पाँच/दश मिनेटमा के नै कमाउने हो र? मेरो मनले यस्तै सोचिरह्यो सडकछेउमा उभिएर।

समय सदैव मूल्यवान् हुन्छ। पाँच/दश मिनेटको कुरा होइन, एक सेकेन्डको पनि ठुलो महत्त्व रहन्छ कहिलेकाहीं। तराईमा घटेको एउटा घटना सम्झन्छु। पूर्वपश्चिम सोझो राजमार्गमा तीव्र गतिमा मोटरसाइकल कुदिरहेको थियो। आकाशमा गरुडले सर्पलाई समातेर उडाइराखेको थियो।

उचाइमा उडिरहेको गरुडको पन्जाबाट फुत्केको सर्प तीव्र गतिमा कुदिरहेको मोटरसाइकलको पछाडि बसेको युवकमाथि खस्यो र युवालाई टोक्यो। सर्पको टोकाइबाट उक्त युवकको मुत्यु भयो।

यो घटनाले दर्साउँछ सेकेन्ड–सेकेन्डको महत्त्व। एक सेकेन्डको मात्र फरक परेको भए बाँच्थ्यो त्यो युवक। एक सेकेन्डमा धेरै मिटर अगाडि बढिसकेको हुन्थ्यो मोटरसाइकल। सडकमा कुदिरहेका एम्बुलेन्सलाई पनि समयको महत्त्व त्यत्ति नै हुन्छ। केही मिनेटको सडक जाम वा सडकमा गरिने आन्दोलनले एम्बुलेन्सभित्रको बिरामी मर्न सक्छ।

सडक जाम गरेर आन्दोलन गर्ने वा बिच सकडमा भाषण गरेर नेता बन्नेहरूले त्यही सडक हुँदै हृदयाघातले छटपटाइरहेको बिरामी आउँदै छ, आगोभित्र छटपटाइरहेका मान्छेलाई उद्धार गर्न हिँडेको दमकललाई त्यही बाटो सबैभन्दा छोटो र छिटो पर्छ भन्ने किन सोच्न नसकेका होलान् ? यति पनि मनन गर्न नसक्ने राजनीतिक दल र तिनका नेताको राजनीतिक अस्तित्व किन समाप्त नभएको होला ? त्यस्ता नेता र दलका पछि लाग्ने कार्यकर्ता र जनताको विवेक कति कमजोर होला ? यस्ता प्रश्न उब्जन थाल्छन् मनभरि। अनि लाग्छ– समय मूल्यवान् छ। एक मिलिसेकेन्डले पनि ठुलो अर्थ राख्न सक्छ जीवनमा।

कुनै कार्यक्रममा पुग्यो, आधा घण्टा ढिलो सुरु हुन्छ कार्यक्रम। यात्राका लागि कहीं हिँड्यो, बस वा हवाईजहाज आधा घण्टा ढिलो हुन्छ। परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेर समयमा नै बुझाउँछु भन्ने सोच्यो, एक दिन ढिला नै बुझाइन्छ। बिहान पाँच बजे उठेर यो काम गर्छु भन्ने योजना बनायो, उठ्दा साढे पाँच बजिसकेको हुन्छ। अर्थात् गाउँदेखि सहरसम्म, बिहानदेखि बेलुकासम्म हामीले गर्ने अधिकांश काम ठिक समयमा गर्दैनौं। किन यस्तो हुन्छ? समय त अविराम हिँडिरहेको छ। समयले हामी पनि अविराम हिँडौं भन्ने अपेक्षा राख्छ। तर हाम्रो यात्रामा अनेक अड्चन आउँदा रहेछन्। मन, थकान, लोभ, साथी, परिवार, पैसा, काम वा कार्यक्रमको औचित्यहीनता, कर्मअनुसार न्यून प्रतिफल आदि समयका अड्चन रहेछन्।

यस्ता अप्ठ्यारा वा अड्चन आफ्नो ठाउँमा होलान्, समयमै गर्न सकिने र गर्नुपर्ने काम पनि ढिला गर्ने अनि ‘नेपाली समय’को नकारात्मक बिम्ब निर्माण गर्ने मनोवृत्तिले देशकै अपमान भएको छ, सबै नेपाली ढिला छन् भन्ने भाष्य फैलिएको छ। यो दुःखद कुरा हो।

केही दिनअघि म एउटा सांस्कृतिक कार्यक्रममा गएको थिएँ। प्रमुख अतिथि एक बहालवाला मन्त्री रहने तय भएको थियो। कार्यक्रम सुरु हुने समय एघार बजे भनेर निम्तो गरिएको थियो। म पौने एघार बजे नै कार्यक्रम स्थलमा पुगेँ। कार्यक्रम स्थल सुनसान थियो। दुईतीन जना भाइहरूले मञ्च तयार पार्दै थिए। साढे एघार बजेतिर अधिकांश आवश्यक मान्छे जम्मा भए।

प्रमुख अतिथिको व्यस्तताले कार्यक्रममा एक घण्टा ढिलो सुरु हुने भयो भन्ने जानकारी उद्घोषकले गराए। बाह्र बज्यो। सभा बाह्र पनि बजिसक्यो। उद्घोषकले माइक समाते, लाग्यो आएछन् मन्त्री डेढ घण्टा ढिलो गरेर भए पनि। ‘क्षमा चाहन्छु, कार्यक्रम तोकिएको समयभन्दा झन्डै डेढ घण्टा ढिलो भइसकेको छ। प्रमुख अतिथिज्यूले भर्खरै पार्टीको विशेष बैठक भएकाले आउन नसक्ने जानकारी गराउनुभयो।

अब कार्यक्रम सुरु गर्ने अनुमति माग्छु,’ उद्घोषकको यो कुरा सुनेपछि लाग्यो, ‘समयलाई यसरी अपहेलना गर्ने मन्त्रीले कसरी सम्हाल्छन् मन्त्रालय? उनीमाथि त देशले सकारात्मक परिवर्तनको ठुलो अपेक्षा राखेको छ। ती मन्त्रीलाई जनताले कति सम्मान गर्छन्, उनको इज्जत कति छ, त्यो थाहा छैन तर समयको इज्जत त ठुलो छ नि। यस्तै व्यक्तिका कारण हो ‘नेपाली समय’को भाष्य निर्माण गरेर यो पवित्र भूमिलाई ढिलो साबित गर्ने। नेपाली समयका नाममा अनवरत हिँड्ने इमानदार समयको अपमान गर्न पाइन्छ ? इमानदार समयमाथि शङ्काको वातावरण निर्माण गर्ने पात्रले बोक्नुपर्छ अपमानको भारी।

दुईचार वर्ष विदेश बसेर देश फर्केका साथीहरूले ‘नेपाली समय’ भन्दै हामीलाई अनि देशलाई हेपेको देख्दा साह्रै चित्त दुख्छ। उनीहरूले हामीलाई सिकाउँछन् समयको पाठ। ‘नेपालमा त कुनै काम पनि समयमा हुँदैन। कार्यक्रममा गयो, सधैं सुरु हुन ढिलो नै हुन्छ। एउटा बाटो बनाउन, पुल बनाउन पनि पाँच/दश वर्ष लगाउने। विदेशमा हेर त, एक वर्षमा कति ठुलो काम हुन्छ। यस्ता घर त एक हप्तामा बनाउँछन्। हामीले तलब पनि पन्ध्र–पन्ध्र दिनमा थाप्छौं। तिमीहरूले तलब पाएकै छौ?’

यस्तो सुन्दा अत्यन्त दुःख लाग्छ। समयमा काम नगर्ने नेता, जनता जो सुकै होस्, चिथोर्न मन लाग्छ। एकैछिन पछि आफंैले समयमा नगरेका कामको फेहरिस्तले मन भरिएर आउँछ। सम्झन्छु, समयमा कार्यालय नपुग्दा बढेको मनको ढुकढुकी, समय गुज्रिसकेपछि रातभरि काम गर्दाका पीडा, ढिलो कार्यक्रममा पुग्दा छुटेको खादा र आसनग्रहण, घण्टौं कुराउँदा साथीहरूको अमिलिएको मन अनि समयको अपमानले बिग्रेका सम्बन्धहरू। अनि लाग्छ, ‘नेपाली समय’ बिम्बको संस्थापकमध्येको एक म आफैं पनि हुँ।  

प्रकाशित: २६ माघ २०८१ ०९:४६ शनिबार

# Nagarik ko 'Akshaar' # Nagarik # Poem