कला

साहित्यकार शर्मा सम्मानित

समाजसेवी तथा वरिष्ठ साहित्यकार हरिराज अर्याल शर्मा ‘नेसनल सोसल वेलफेयर’ अवार्ड २०२४ बाट सम्मानित भएका छन्। उपसभामुख इन्द्रिरा रानामगरले शर्मालाई सिजन मिडियाद्वारा काठमाडौंस्थित राष्ट्रिय नाचघरमा अवार्ड प्रदान गरेकी हुन्।

शर्मा कपिलवस्तु जिल्लाकै अग्रज समाजसेवी तथा साहित्यकारका रूपमा स्थापित छन्। पाँच दशकदेखि नै सामाजिक काममा अग्रसर उनले समाज सेवाका साथै कपिलवस्तु जिल्लाको साहित्यिक गरिमा र ओज श्रीवृद्धि गर्न महत्वपूर्ण योगदान गरेकाले अवार्ड प्रदान गरिएको हो।

७२ बर्से शर्माले नेपाल नेत्रज्योति संघ कपिलवस्तु शाखालाई तौलिहवा आँखा अस्पताल सञ्चालन गर्न तीन कठ्ठा र नेपाल बार एसोसिएसन कपिलवस्तु बार एकाइलाई भवन बनाउन ११ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए। त्यस्तै सामाजिक संस्था सेतो गुराँस बाल विकास संस्थालाई भवन बनाउन १० धुर र रेडियो परिवर्तनलाई भवन बनाउन पाँच धुर जग्गा निःशुल्क दान गरेका थिए।

नेपाली इतिहासमा त्रिभुवन, मदन र साझा पुरस्कार पाउने एक मात्र साहित्कार भवानी भिक्षुको प्रतिमा स्थापना गरी कपिलवस्तुको सदरमुकाम तौलिहवामा एउटा चोकको नामकरण पनि भवानी भिक्षु चोक गराएका थिए। उनका खण्डकाव्य, कविता संग्रह, बाल कविता, शोक काव्य र अवधी कविता गरी १६ वटा कृति प्रकाशित छन्।

प्रकाशित: २५ माघ २०८१ ०८:०१ शुक्रबार