कला

जेजे हुनुपर्ने हो उजेलैमा हुनुपर्छ!

गजल

१) गजल

जेजे हुनुपर्ने हो उजेलैमा हुनुपर्छ,

दिन ढलेपछि ढल्यो बेलैमा हुनुपर्छ।

हातै नभएकाको पनि भाग्य होला,

हात छन् भाग्य हत्केलैमा हुनुपर्छ।

नबोल! भित्ताको पनि कान हुन्छ,

समातिएछ फेरि ऊ नेलैमा हुनुपर्छ।

कोक्रामा बच्चाको रुवाइ लामो भो,

सायद नानीको आमा मेलैमा हुनुपर्छ।

जित्न मलाई कहिल्यै दिँदैन भाग्यले,

मलाई हराउने नियम खेलैमा हुनुपर्छ।

मैले जस्तो दुःख सायद गर्यो कसैले,

मेरो जीवनी हातका ठेलैमा हुनुपर्छ।

२) गजल

दैव नै दोषी छौ मेरो मान्छे प्यारो बनायौ,

सहज यात्रालाई किन अप्ठ्यारो बनायौ!

हाम्रो सहयात्रा चितासम्मकै थियो प्रभु,

मेरो संसारलाई किन अँध्यारो बनायौ!

सृष्टि पनि आफै गर्छौं संहार पनि आफैं,

तिम्रो भूमिका खै के पत्यारो बनायौ!

मेरो खुसी तिमीले पनि देख्न सकेनौ है,

उसको मनमा मेरो किन बस्यारो बनायौ!

न उषा न लाली अन्धकार भयो जीवन,

नफलाउने बालीको किन ख्यारो बनायौ!

३) गजल

आमा शब्द जस्तो पवित्र नाम देखिन मैले,

तिम्रो सेवा जस्तो पवित्र काम देखिन मैले।

मन्दिरतिर किन धाउनु तिम्रै समीप रहूँ म,

तिम्रो काख जस्तो पवित्र धाम देखिन मैले।

खुशी हुन रमाउन मान्छे पुग्छन् कहाँकहाँ,

तिम्रो बास जस्तो पवित्र ठाम देखिन मैले।

आउँदा पनि खाली नै हो जाँदा पनि उस्तै,

तिम्रो माया जस्तो पवित्र दाम देखिन मैले।

गर्छ जस्ले तिम्रो सेवा उ ठूलो साधक हो,

त्यही छोरा जस्तो पवित्र राम देखिन मैले।

४) गजल

म आधार शिविर, तिमी शिखर हुनुपर्छ,

म फराकिलो आँगन, तिमी घर हुनुपर्छ।

यो मायाको बन्धन टुट्नु हुँदैन कहिल्यै,

म माटो भै जाउँला, तिमी पत्थर हुनुपर्छ।

देख्नेहरूले पनि डाह गरून् सधैंभरि,

म पत्रिका बनौला, तिमी खबर हुनुपर्छ।

मनैको माया लुकाउन पो किन पर्यो?

म आँट बनौला, तिमी निडर हुनुपर्छ।

तिमीबिना म र मबिना तिमी अधुरो,

म भरिपूर्ण प्रकृति, तिमी नजर हुनुपर्छ।

धर्ती र सूर्य जस्तै हाम्रो यात्रा अटुट छ,

म टिप्पणी बनौला, तिमी सदर हुनुपर्छ।

५) गजल

फुल्नु मात्र कहाँ हो र! फल्नु पनि जिन्दगी हो।

आँधी हुरी हुण्डरी बीच बल्नु पनि जिन्दगी हो।

सूर्यमुखी फूलको र सूर्यको जस्तै नाता बनोस्,

एकोहोरो माया देखाउँदै चल्नु पनि जिन्दगी हो।

जीवनभरि सुखसयल के लेख्थ्यो र भावीले!

पीडाको जाँतोमा जीवन दल्नु पनि जिन्दगी हो। 

सूर्यलाई हेरेर आँफैलाई सम्झाउन सक्नुपर्छ मैले

विहान दिउँसो साँझ जस्तै ढल्नु पनि जिन्दगी हो।

सगरमाथा जस्तै चुलिन कहाँ सकिएला सधैंभरि,

पहिलो, दोस्रो, शिविर तिर गल्नु पनि जिन्दगी हो।

नाम तिनैको रहन्छ जसले संसार जितेका छन्,

सत्कर्ममा लाग्दा जोखिम मल्नु पनि जिन्दगी हो।

जन्मको मात्रै होइन प्रभु मृत्युको पनि लेखा हुन्छ,

कर्तव्य पुरा गरेर चितामा जल्नु पनि जिन्दगी हो।

- बलराम पौडेल

प्रकाशित: २४ माघ २०८१ १३:१८ बिहीबार