कला

जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो!

मुक्तक

१) मुक्तक

मानव मनमा मानवता र धर्म हराएछ,

नाङ्गै हिँड्छ मान्छे लाज र सर्म हराएछ।

आफ्नै यहाँ दुश्मन बनी धस्ने गर्छन् छुरा,

कोमल  हृदयमा आजकल मर्म हराएछ।

२) मुक्तक

अन्धकारमा जुनेलीको जून बोकेर आउनु,

सनाट्टामा मिठो मधुर धुन बोकेर आउनु।

बैगुनीझैं भए सब यहाँ आफ्ना भन्ने जति,

तिमी आउँदा मेरो प्रिय गुन बोकेर आउनु।

३) मुक्तक

यस्तो लाग्छ पीडा व्यथा र भयमा चल्दैछ,

देख्नेले भन्छन् मेरो जीवन लयमा चल्दैछ।

हृदयभरि बोकेर सधैं अभिशप्त पीडाहरू,

अर्कैका लागि जिन्दगी सञ्चयमा चल्दैछ।

४) मुक्तक

सुध्रियो हेर्दा हेर्दै उसले पुरानो लत बदल्यो,

लागेको उसको त्यो कुलतको खत बदल्यो।

चाहँदा हर चिज बदल्न सम्भव हुने रहेछ,

ऊ आफैंले आज आफ्नो किस्मत बदल्यो।

५) मुक्तक

शब्दभावमा चेतनाको सन्देश छोड्न सकूँ,

मै हुँ भन्दै हिँड्नेहरूको अहम तोड्न सकूँ।

बनाइ एक साझा बाग स्रष्टा सर्जकहरूको,

साहित्यको बिरुवा रोपी हरदम गोड्न सकूँ।

६) मुक्तक

शब्दहरूको बहार बनी दिलभित्रै पस्न सकूँ,

चेतनाको शीतको थोपा बनी सधैं खस्न सकूँ।

गर्न सकूँ  सम्मान सधैं स्रष्टा सर्जकहरूलाई,

अविस्मरणीय बनी सबको मनमा बस्न सकूँ।

७) मुक्तक

बदला लिनै अहंता मिसाई गलत तागत पठायो,

ढाकेर आफ्नो अनुहार बजारमा इज्जत पठायो।

थाहा छ उही हो अपराधी भ्रष्टाचारी र देशद्रोही,

जसले कुकृत्य ढाक्न निर्धालाई हिरासत पठायो।

८) मुक्तक

मेरो मात्र खेदो खन्छन् काट्छन् जहिल्यै मेरै कुरा,

प्रहार गर्छन् हरदम मलाई करौती र धारे छुरा।

मेरा आफ्ना भन्नेहरू नै मलाई हिजो आज हजुर,

उठीबास नै लाउँछु भन्दै मिली लागेका छन् पूरा।

९) मुक्तक

जहिल्यै तिनले मुटु छेड्ने वचन र बोली हान्छन्,

मुखमा अमृत व्यवहारले सधैं विष घोली हान्छन्।

आफ्नाहरू नै प्रगतिमा रिस डाहा र आरिष गर्दै,

तेरो छाती फुटाइदिन्छु भन्दै ताकी गोली हान्छन्।

१०) मुक्तक

छैन हाम्रो हृदयभित्र धर्म संस्कार केही नि छैन,

ऐंचोपैंचो सद्भाव सहयोग सदाचार केही नि छैन।

मपाईत्व धाक र रवाफ देखाउँदै ठुला बन्छौ,

हाम्रै अस्तित्वलाई यहाँ मान्ने आधार केही नि छैन।

- नवराज पोखरेल नवशिला

प्रकाशित: १७ माघ २०८१ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App