कला

‘पूर्णबहादुरको सारंगी’को सफलता चलचित्र बोर्डले ‘सेलेब्रेट’ गर्ने

चलचित्र विकास बोर्डले ‘पूर्णबहादुरको सारङ्गी’को सफलताको खुसी ‘सेलेब्रेट’ गर्ने भएको छ। बोर्डका अध्यक्ष दिनेश डिसीले पूर्णबहादुरको सारंगीले नेपाली सिने उद्योगमा ल्याएको उभारलाई लिएर ‘सेलेब्रेट’ गर्ने जानकारी दिएका हुन्। 

‘हामीले पहिल्यै पूर्णबहादुरको सारंगीले स्वदेशमा ५० करोडको व्यापार गरे सेलेब्रेसन गर्ने भनेका थियौँ,’ अध्यक्ष डिसीले नागरिकसँग भने, ‘केही खचपच भएर ५० करोड नै त पुग्न सकेन । तर पनि सिनेमाले नेपाली उद्योगमा जुन बहार ल्याएको छ, त्यसका लागि सेलेब्रेसन गर्छौँ।’ 

अध्यक्ष डिसीका अनुसार पूर्णबहादुरको सारंगीले नेपालमा ४७ करोड ४७ लाखको व्यापार गरेको छ। यस्तै विश्वभरबाट ७५करोड बढीको व्यापार गरेको उनले बताए । ‘यसको वस्तुगत परीक्षण त भइसकेको छैन । तर, उहाँहरूले विश्वभर ७५ करोडको व्यापार भएको सूचना पाइएको छ । जुन आफैमा निकै उत्साहप्रद सन्देश हो,’ अध्यक्ष डिसीले भने । 

पूर्णबहादुरको सारंगीले सिनेमा हलसम्म नपुग्ने दर्शकलाई तानेको, सिने क्षेत्रमा नयाँ ऊर्जा थपेको र नयाँ पुराना फिल्मकर्मीलाई प्रेरित गरेकाले त्यसको सेलेब्रेसन गर्नुपर्ने अध्यक्ष डिसी बताउँछन् । ‘उहाँहरू आफै आइतबार सेलेब्रेसन गर्दै हुनुहुन्छ । हामी(बोर्ड)ले पनि विशेष समयमा सेलेब्रेसन गर्छौँ । ताकि अन्य फिल्मलाई पनि हौसला मिलोस्,’ उनले भने । 

विजय बरालको मुख्य अभिनय रहेको पूर्णबहादुरको सारंगीले यस वर्ष नेपाली फिल्म इन्डस्ट्रीमा निकै ठुलो छाप छाडेको छ । 

प्रकाशित: ११ माघ २०८१ १९:०१ शुक्रबार

#Purna badhur ko saragi #Nepali Cenema