कला

विपुल पोख्रेलको ‘माया जाग्यो’ सार्वजनिक

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले महासंघको आफ्नो कार्यकाल पश्चात गीतसंगीतको यात्रालाई निरन्तरता दिएका छन्। उनी यसअघि पनि गीत लेखनको यात्रामा थिए। जतिबेला उनी दाङस्थित रेडियो स्वर्गद्धारी एफएममा सम्पादकका रूपमा आबद्ध थिए।

२० वर्षअघि मायाप्रेम तथा देशभक्ति गीत लेखनमा रहेका पोख्रेलले त्यो बेला लेखेको गीतको भिडियो केही दिनअघि मात्रै सार्वजनिक गरेका छन्। आफूले बीस वर्षअघि रेकर्ड गराएको ‘माया जाग्यो’ बोलको गीतको भिडियो पोख्रेलले भर्खरै मात्रै सार्वजनिक गरेका हुन्। यो गीतमा पोख्रेलको रचना र माधव अनुरागीको स्वर तथा संगीत रहेको छ। 

‘स्वर्गद्धारी एफएममा मेरो आबद्धता भएका बेला मेरो गीत लेखनको यात्रा निरन्तर चलेको थियो,’ पोख्रेल भन्छन्, ‘पत्रकार महासंघ संगको मेरो आबद्धता भएसंगै गीत लेखनको यात्रामा ब्रेक लाग्न पुग्यो, अध्यक्षको कार्यकाल पूरा भएपछि फेरि गीतसंगीतको यात्रामा जोडिएको छु, साहित्यप्रतिको प्रेम फेरि जागृत भएको छ।’

कसैप्रति रहेको माया व्यक्त गर्न नसक्नुको कथालाई यो गीतले बोलेको छ। कसैप्रति अथाह प्रेम मनभित्रै रहे पनि उसलाई भन्न नसक्दाको पीडा भाव गीतले बोलेको छ। ‘कसैलाई अधिक माया गर्दा पनि भन्न नसकेका सत्यताहरू थुप्रै हुन्छन्,’ पोख्रेल भन्छन्, ‘त्यही भन्न नसकेको प्रेमको कथालाई गीतका माध्यमबाट उजागर गर्न खोजेको हु।’

यो गीतको भिडियो दाङमै छायाँकन गरिएको हो। भिडियोमा दाङका कलाकार सुदन थापा मुख्य भूमिकामा देखिएका छन् भने खुशी केसीले उनलाई साथ दिएकी छिन्। यसैगरी गीतकार पोख्रेल आफू पनि यो भिडियोमा देखिएका छन्। उनी मुख्य कलाकार थापाका बाबुको भूमिकामा देखिएका छन्। यसैगरी पिताम्र रिजाल, बिरु चौधरी, भूवन थापालगायतका कलाकारहरू भिडियोमा अटाएका छन्। भिडियोको निर्देशन अमृतमान ओलीले गरेका छन्। यो गीत पोख्रेलले विपुल पोख्रेल नामक आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन्।

महासंघको यात्रा पश्चात साहित्यीक यात्रालाई निरन्तरता दिएका पोख्रेलको केही समयअघि मात्रै ‘बोल, मन खोल’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा पोख्रेलको रचना, पत्रकार देवेन्द्र बस्नेतको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको छ। ‘गीत संगीतको यात्रालाई फेरि निरन्तरता दिने क्रममा दुईवटा गीत पछिल्लो समय सार्वजनिक भएका छन्,’ पोख्रेलले भने, ‘यो यात्रालाई निरन्तरता दिने सोचका साथ अगाडि बढेको छु।’

प्रकाशित: ६ माघ २०८१ ०८:५१ आइतबार

#Nepali Music #Bipul Pokhrel