कला

आक्रान्त

पाँच लघुकथा

१) आक्रान्त

रामु एक्लै फत्फतायो, ‘केके को भार धानोस्? यो धरतीले पनि! उड्ने र गुड्नेको हल्लाले मेरो कान नै पाकिसक्यो।’

आमाले कराउनुभयो, ‘खाना खानु परेन? कलेज जान ढिलो पनि भएनछ कि?’

उसले आमा नजिक गएर भन्यो, ‘अलि बिस्तारै बोले हुन्न आमा! पढ्न बसेको चारैतिरको हल्लाले कान बन्द, दिमाग शून्य भैसक्यो। यो तालले त म परीक्षामा असफल हुन्छु होला।’

‘व्यस्त सहरको बीचमा, सडकको छेउमा घर बनाएपछि यस्तै हो, बाबु! बानी पर्नु  पर्छ। सबै सहज हुन्छ नि!’ आमाले सम्झाउनुभयो।

रामु झनक्क भयो, ‘वातावरण प्रदूषण, गरिबी, कमिशन, भ्रष्टाचार, प्राकृतिक प्रकोप, सामाजिक र राजनीतिक विकृति केकेमा बानी पर्नुपर्ने हो कुन्नि?’

२) त्रिशक्ति

विज्ञान, प्रकृति र धर्मलाई पृथ्वी र चराचर जगतको निकै चिन्ता लागेछ। उनीहरू एउटा रूखमुनि बसेर चिन्तन गरिरहेका थिए। अचानक धर्मले विज्ञानलाई आक्षेप लगायो, 

तेरो कारणले हो नि, मान्छेले आज योग र आध्यात्म बिर्सिदै गएको छ। प्राणीमध्ये श्रेष्ठ मानवबाट पृथ्वी सुन्दर बन्नेछ भन्ने आशा थियो। ऊ नै अशान्त, भय र विवशतामा बाँचिरहेको छ।’

प्रकृतिले सही थाप्दै भनिन्, ‘हो नि, मानव जीवन मात्र हो र? यिनीहरूले त हामी प्रकृतिमाथि पनि समस्या थोपरेका छन्। हावा, पानी, माटो एकैसाथ प्रदूषित भएका छौँ।’

दुवैका कुराले विज्ञान रुष्ट भयो र भन्यो, ‘यसमा मेरो के दोष? मलाई प्रयोग गर्ने मानव चेतनालाई भन न! म त ज्ञान र विवेकले सही प्रयोग गरे वरदान हुन्छु, गलत प्रयोग गरे श्राप!’

प्रकृतिले असन्तोष जाहेर गर्‍याे, ‘मैले जीवनलाई चाहिने सम्पूर्ण कुरा त दिएकै थिएँ। यी मानिसहरूलाई ठूलो हुने र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा बढ्यो। उनीहरूको आफ्नै कारणले त हो, सृष्टिका अन्य प्राणीको तुलनामा सुख शान्ति गुमाउनुपरेको छ।’

विज्ञानले प्रकृतिलाई लोपार्दै भन्यो, ‘ईस्! मेरा वरदानबाट पृथ्वीमा कति सभ्यता र विकास भएको छ, ध्यान दिएको छस्?’

धर्मले घमण्ड गर्‍याे, ‘तिमीहरूले जति फुर्ति गरे पनि आपतविपत पर्दा मान्छेले हे भगवान! भनेको सुनेका छेनौ?’

अलि पर बसेर उनीहरूका कुरा सुनिरहेको मानिसले सोच्यो, ‘त्रिशक्ति मिलेर राम्रो विषयको उठान गरे भनेर कान थापेको त! थुइक्क, यिनीहरू पनि अन्त्यमा हाम्रा नेता जस्तै झगडा पो गर्न थाले।’

३) उपहार

एकपछि अर्को वक्ता क्रमश: बोल्दै थिए। तालीको कर्कल ध्वनिले वक्तालाई उत्साहित गर्दै थियो। मेरो छोराको बोल्ने पालो आयो। म मेरो कम्प्यूटरतिर एकाग्र भएँ।

उसले  बोल्न सुरू गर्‍याे, ‘आज सूचना तथा प्रविधि दिवसको अवसरमा हाम्रो विद्यालयले प्रविधिको महत्त्व विषयमा यसरी जुम प्रविधिबाट वक्तव्य कार्यक्रम राख्नु सान्दर्भिक मात्र नभएर हामी विद्यार्थीको व्यक्तित्व विकासमा गरिएको एउटा महत्त्वपूर्ण अवसर पनि हो। हाम्रो देश सानो भए पनि प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। प्रविधिको विकासले विश्व एउटा गाउँजस्तो भएको छ। संसारभरिका मानिससँग हाम्रो प्रविधिमैत्री सम्बन्ध बनेको छ। जनता सूचनाको हक र प्रविधि सेवाबाट लाभान्वित छन्। विगतमा कोरोनाकालभरि अनलाइन कक्षा सञ्चालन गरेर हामी विद्यार्थीको शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु नपरेको अवस्था भन्दै थियो, अचानक नेट अवरूद्ध भयो।

ऊ पल्लो कोठाबाट कराउँदै म समक्ष आयो र भन्यो, ‘मामु, नेट चेक गरिस्यो न! मेरो बोल्ने बेलामा यसलाई बिग्रिनुपर्ने?’

के भएछ त? म यता उता बुझ्न थाले। नेट प्रदायक अफिसमा सम्पर्क गरेँ। यतिमा थिच् र उतिमा थिच् भनेर अह्राइरह्यो। झर्को लाग्यो। डाटा खोलेर फेसबुक हेरेँ।  फेसबुकका भित्ताभरि जनताका गुनासाहरू पोखिएका रहेछन्। निमेषभरमै जानकारी पाएँ, इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवाप्रदायकहरूले व्याडविथ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवा अवरूद्ध भएको रहेछ। वास्तविकता छोरालाई भने। अझै नेट कनेक्सन होला र वक्तव्य सकूँला भनेर पर्खेर बसेको छोरा रन्थनियो।

उसले भन्यो, ‘आजको विशेष दिनमा  गणतन्त्र नेपालले जनतालाई दिएको सुन्दर  उपहार मानौँ कि’’

४) सुझाव

चौतारामा बसेर ऊ एक्लै  बिलौना पोखिरहेको थियो। उसका अगाडि गुडिरहेको एउटा गाडी टक्क रोकियो। एकजना  मान्छे ओर्लिए र सोधे, ‘ तिमी को हौ?’

उसले घुँक्कघुँक्क गर्दै बतायो ,‘म पारि गाउँको मान्छे हुँ।’

‘किन यो अवस्थामा यहाँ बसेको त?’ उनले फेरि प्रश्न राखे।

उसले रून बन्द गर्‍याे र आफ्नो व्यथा पोख्यो। उसको कथा सुनेपछि उनले हाँस्दै भने, ‘लाछी रहेछौ। भूकम्पले घर भत्कायो। घर नभएर स्वास्नीले छाडी भनेर यसरी बौलाहा जस्तो रूने हो त?’

ऊ निरीह जस्तै बनेर जीवनका रहर र चाहनाहरूको बिलौना पोख्न थाल्यो। उनलाई दया लाग्यो। मानवता देखाउँदै सोधे, ‘मेरो ड्राइभर बन्छौ त?’

उसले नकार्‍याे। उनले धेरै बाटाहरू देखाएर सम्झाए।

ऊ बोल्यो, ‘यस्ता जाबो कामबाट कहिले प्रगति गर्नु र?’

उनले सम्झाए, ‘काम पनि जाबो हुन्छ त? मिहिनेत र लगनले छिटै प्रगति गर्न सक्छौं नि!’

ऊ मूक बस्यो। उनले सुटुक्क भने, ‘छिट्टै प्रगति गर्नु छ भने मजस्तै राजनीतिक दलमा लाग्छौ त?’

५) निर्णय

समाज बटुलेर बाजेले समस्या तेर्स्याएँ, ‘आफूखुसी गरेर कुजातसँग भाग्ने दलबहादुरकी  छोरी कमलीलाई के सजाय गर्ने?’

पढेलेखेका बुज्रुकहरूले कमलीको उमेर र स्वतन्त्रताको विषय उठान गरे। समयले फड्को मारेको वर्तमान अवस्थामा जातीय भेदभावको प्रश्न उठाउनु जायज छैन भनेर सुझाव पनि दिए। केही नवयुवकले विद्वानहरूका विचारको कदर गर्दै भने, ‘यसलाई सामाजिक समस्याको रूपमा लिएर झमेला नगरौँ।’

समाजका पण्डित भनाउँदाहरू कुर्लिए, ‘बाजेको नुन खाएर हुर्किएकी कमलीले बाजेको नाक काटेकी छे। यसलाई गाउँमा बस्न दिनु हुँदैन। सम्बन्धविच्छेद गराउनुपर्छ।’

अधिकांशले उसलाई गालीगलौज गर्न थाले। ऊ भने मनमनै सोच्दै थिई, ‘बिहे त हामी दुवैले गरेका हौं तर म नारीमाथि मात्र किन आक्षेप थोपरेको होला?’

सबैका कुरा सुनेपछि बाजेले उनीहरूलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनाउन के लाग्दै थिए, हठात् बाजेकी छोरी बोलिन्, ‘कमली दिदीको देवरसँग म पनि बिहे गर्दै छु, बुबा! त्यसबेला हजुर मलाई के गर्नु हुनेछ?’

बाजे खङ्ग्रङ्ग भए तर छिटै सम्भालिएर भने, ‘ल गाउँबासीहरू, दुई छोरीको बिहे धूमधामले गर्ने तयारीमा हामी सबै जुटौँ।’

प्रकाशित: २६ पुस २०८१ १०:४८ शुक्रबार

# Muktak # Laghukatha