कला

अभागी

लघुकथा

विवाह गरेको ६ वर्ष नै पुग्नै नपाई ५ वर्षको छोरालाई टुहुरो पारेर उषाको पतिको देहावसान भयो। भएको एक्लो छोराको देहावसानले उषाकी सासू पागल जस्तै बनेकी थिई। आखिर महिलाको शत्रु महिला नै हुन्छन् भने जस्तो ...यो अल्च्छिनी बुहारी र बाउटोकुवा नातिले मेरो छोराको मृत्यु भएको हो भन्दै बुहारीलाई रातदिन कचकच गर्न थालिन्।

भर्खरको कलिलो जवानीमा प्रवेश गरेकी सोझी बुहारीको विवाह गरेको छोटो समयमा आफ्नो खसम गुमाएर एक्लो जीवन बिताउन परेको पीडा र अत्याचारलाई टुलुटुलु हेर्नुबाहेक केही गर्न नसकेका रोगी ससुराले बुहारीलाई अर्को केटा खोजेर आफ्नो भविष्य सुरक्षित गर भनेर सुझाव दिएपछि पल्लो जिल्लाको शिक्षक उमाकान्तसँग उषाले आफ्नो लगनगाँठो कसिन्।

समाजको अन्धविश्वास तोड्ने नाउँमा पच्चीस वर्षीया विधवा उषा र उनको ५ वर्षको छोरालाई अपनाउन राजी भएका थिए उमाकान्त। उषाको जोवन देखेर लठ्ठ परेका उमाकान्त पत्नीलाई सारै माया गर्थे भने छोरा उत्सवलाई पटक्कै रुचाउँदैनथे। आफ्नै सन्तानसरह माया गर्छु भनी उषालाई वाचा गरेका थिए। उनको अगाडि छोरालाई खुबै माया गरिटोपल्थे पनि।

भर्खर स्कुल जान थालेको उत्सव एक साँझ भुईंको चकटीमा बसेर चिया पिउँदै गृहकार्य गर्दै थियो। उमाकान्त घरभित्र छिर्दा खुट्टाले गिलासमा लागेर चिया सबै पोखियो। रिसले आँखा रातोरातो पर्दै "यो गिलास किन हिंड्ने बाटोमा राखेको तेरो सोमत छैन?" भन्दै कान निमोठिदिए।

उत्सव कान सुमसुमाउँदै चुपचाप गृहकार्य गरिरह्यो। भोलिपल्ट बिहान उमाकान्त त्यहीं चकटीमा बसेर केही घरेलु हिसाबकिताब लेख्दै मिलाउँदै चिया पिउँदै थिए। उत्सव उठेर आँखा मिच्दै बैठक कोठातर्फ आयो। उत्सवको खुट्टा चियाको गिलासमा ठोक्कियो। चिया सबै पोखियो। उमाकन्त रिसले चुर हुँदै कान समातेर एक थप्पड लगाए।

”कहीं नभएको अल्च्छिना, तेरो आँखा छैन? भुईंमा हेरेर हिंड्नु पर्दैन? अर्काको बाछो चाट्यो मुखभरि रौं।” 

प्रकाशित: १२ पुस २०८१ १३:२९ शुक्रबार

# Poem # Story # Laghukatha Saundarya # Niyatra # Lokarpan # Nagarik ko 'Akshaar' # Laghukatha # Women are the enemy of women # Superstition of society