कला

रहस्य

लघुकथा

"अनि हाकिम बुढाले केही भनेनन् राजेशजी!" अशोकले हातमा राखेको सुर्ती मोल्दै सहकर्मी राजेशलाई सोध्यो।

राजेशले मुखको पान प्याच्छ थुक्दै भन्यो, ‘अहँ, केही भनेनन्!’

"ए गजब भएछ नि। मलाई एकदिन ढिलो गर्दा पनि कम्ती रिसाएनन् बुढा!" अब यस्तो नगर्नु भन्दै हकारे।" उसले केही दिन पहिलाको घटना सुनायो।

दुई दिनकाे छुट्टी लिएर घर गएको राजेश ५ दिनपछि मात्र अफिस आएको थियो। तैपनि हाकिमले केही भनेका थिएनन्। अशोक दङ्ग परेर कारण बुझ्न खोज्दै थियो।

"होइन के भएछ बुढालाई नत्र त यसरी चुपचाप बस्ने मान्छे त होइनन! बिर्सने रोग लागेछ कि?" अशोकले अचम्म मान्दै भन्यो।

‘अँ केको बिर्सिने रोग लाग्ने नि! अलिअलि त आफूले पनि टेक्निक लगाउनुपर्छ नि अशोकजी!’ राजेशले अशोकको आशंका मत्थर पार्न खोज्यो।

अशोकले उत्सुकता देखायो, "एए कुरा त्यसो पो! के हो नि त्यस्तो राज!"

म घरबाट फर्कदा लोकल कुखुरा र लोकल जीवनजल उपहार ल्याइदिएको थिएँ। बुढा बेस्सरी खुशी भए। उसले ठट्यौली पारामा रहस्यको पर्दा खोल्यो।

"अनि पाँचै दिनको काज स्वीकृत!"

-गीता तिवारी    

प्रकाशित: १ पुस २०८१ ११:२१ सोमबार