कला

आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ!

मुक्तक

१) मुक्तक

मुटुमा गाँठो पार्दा पार्दै पनि सधैं बर्सिन्छ आँखाबाट आँसु

चोट र वेदनालाई सहन नसक्दा छचल्किन्छ आँखाबाट आँसु

जतिसक्दो लुकाउँछु भन्छु आँसु उति पीडा भार हुन्छ मनमा,

जब एकान्त पाउँछु तब निस्फिक्री झरिदिन्छ आँखाबाट आँसु।

२) मुक्तक

देश कतातिर जाँदै छ कसलाई के थाहा छ र

पदमा बस्नेलाई मोजमस्ती जसलाई के थाहा छ र

जनता महँगीको भुमरीमा पिल्सिएर बाँचिरहँदा पनि,

सरकार चुपचाप हेरेर बसिदिन्छ उसलाई के थाहा छर।

३) मुक्तक

सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ

असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ

बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ

आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।

४) मुक्तक

तिम्रो अनुहार नदेखेपछि मैले स्वीकार गरिन

कहाँको को हो थाहा छैन साथी अंगीकार गरिन

किन लुकेर आउने खुलेर आए स्वागत छ तिमीलाई,

परिचय नभएपछि मैले पनि केही विचार  गरिन।

५) मुक्तक

कति मिठा थिए तिम्रा ती बोलीवचनहरू

आज कठिनसाथ पार गर्दैछु अड्चनहरू

बितेका थिए तिनै यादहरूले मेरा रातदिन

तिमीले छोडेपछि सुन्ने गरेकी छु प्रवचनहरू।

४) मुक्तक

आँसु पिएर मैले जिउन जानेको छु

मनभित्र दुख लुकाउन जानेको छु

यहाँ दुखसुखको खेल रहेछ जीवन

वेदना लुकाई मुस्कुराउन जानेको छु।

५) मुक्तक

जीवनमा हरेक कुराको अनुभव लिनुपर्छ

आफूले केही पाउनु छ भने केही दिनुपर्छ

आधुनिक जमानामा लाग्दैन पुरानो,

उन्नतिको लागि सूर्यचन्द्रझैँ चम्किनुपर्छ।

६) मुक्तक

हावाको झोक्कासँगै आफू पनि बहन मन लाग्छ

जिन्दगीमा आइपरेका चोटहरू सहन मनलाग्छ

आफ्नालाई पीडा सुनाउनु बालुवामा पानी खन्याउनु हो 

आफूसँग जे छ त्यसैमा खुशी भै रहन मन लाग्छ।

७) मुक्तक

आफ्नो खुट्टामा टिक्न नसक्नेको जीवन हुँदैन

आफ्नै खुबीमा बिक्न नसक्नेको जीवन हुँदैन

अरूको बैशाखीमा जीवन कतिञ्जेल चल्ला

तल्लीन भै विद्या सिक्न नसक्नेको जीवन हुँदैन।

८) मुक्तक

दुखियालाई दुखीले नै साथ सहयोग जुटाउँछ

धनी त यहाँ सहयोगको सट्टा भाइचारा नै फुटाउँछ

सहयोग गरौं भन्ने भावना कहिले आउँला मानिसमा,

उल्टै मागेको भिख मान्छेले नै जबर्जस्ती लुटाउँछ।

९) मुक्तक

मनको मैलो सबै हटाइदिनु परपर नछर्नु

आफ्नो कर्तव्य गर्नु कहिल्यै ओझेल नपर्नु

दुखसुख सधैं आउँछ जान्छ जिन्दगीमा हेर

असल कर्म गर्नु तर भ्रष्टाचार नगर्नु।

१०) मुक्तक  

प्रेम यति सजिलै मागेर कहाँ पाइन्छ र प्रिय

प्रेम जताउन मनमा धेरै लगाव चाहिन्छ प्रिय

प्रेमको कुनै मूल्य नै हुँदैन पैसाले किन्नलाई

प्रेम साँचो छ भने तिम्रो घरसम्म धाइन्छ प्रिय।

- पारू अर्याल नेपाल 

प्रकाशित: १ मंसिर २०८१ १०:०७ शनिबार

# Muktak # Laghukatha