प्रसिद्ध कलाकार के. के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ।
कर्माचार्यको जीवनीलाई बालसाहित्यकार विजयराज आचार्यले लेखेको सो कृतिको वरिष्ठ कलाकार हरिप्रसाद शर्माले सार्वजनिक गरेका हुन्। विवेक सिर्जनशील प्रकाशनले प्रकाशनमा ल्याएको र नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा साहित्य, राजनीति, कला क्षेत्रका वरिष्ठ व्यक्तिहरूले कलाकार कर्माचार्यको जीवन, संघर्ष र सफलताबारे बोलेका थिए।
जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा आधारिेत भई लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशहरूलाई आकर्षक सन्दर्भ चित्रका रूपमा रङ्गीन कला चित्र कलाकार कर्माचार्य आफैंले बनाएका छन्।
एउटा कलाकारको संघर्षको कथा र व्यथासँगै त्यो बेलाको काठमाडौंको जीवनशैली र बस्ती, बसोबासका विविध पाटालाई कलाकार कर्माचार्यले कलात्मक रूपमा उतारेको र कर्माचार्यको जीवनीलाई लेखक आचार्यले सजीव रूपमा प्रस्तुत गरेको कार्यक्रममा वक्ताहरूले बताएका थिए।
बालसाहित्यकार विजयराज आचार्यका यसअघि १३५ भन्दा बढी बालसाहित्यका पुस्तक प्रकाशित छन्। उनी विवेक सिर्जनशील प्रकाशन प्रालिका संस्थापकसमेत हुन्। सो बालसाहित्य कृति ‘हिलोमा फुलेको फूल’ को मूल्य तीन सय रहेको छ।
प्रकाशित: १८ कार्तिक २०८१ १४:२० आइतबार