कला

कवि लाकोजूको सैंत्तिसाैं कृति ‘घामको पर्खाल’ काे परिचर्चा

कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ माथि परिचर्चा भएको छ। ‘हामी र हाम्रो कृति समाज’ को आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकार तथा समालोचक श्रीहरि फुयाँलले लाकोजूको ‘घामको पर्खाल’ वर्तमान नेपाली कविताको क्षेत्रमा हस्तक्षेपकारी भूमिकाका साथ देखापरेको विचार पोख्दै लाकोजूका कविता निकै बलशाली रहेको विचार व्यक्त गरेका छन्।

लाकोजूको कविता पढ्दै गर्दा आफूले क्षेत्रप्रताप अधिकारी, हरिभक्त कटुवाल, भूपि शेरचन आदिलाई सम्झेको विचार पनि पोखेका छन्। कवि लाकोजूका कविताहरू आन्तरिक लय तथा पाँचै अनुप्रासले युक्त भएकाले कविताहरू उच्च कोटीको बनेको विचार कार्यक्रमका प्रमुख वक्ता श्रीहरि फुयाँलले बताए।

परिचर्चा कार्यक्रममा साहित्यकार विजयध्वज थापा, मदन नेपाल, कवि रविन्द्र आशिष शैली, गोपाल पौड्याल, कवि उत्तम विचार, मिना चौलागाई, सुभद्रा अधिकारी, कवि पूर्ण श्रेष्ठ, लव खड्का लगायतले मन्तव्यसहित  ‘घामको पर्खाल’ काे कविता वाचन गरेका थिए।

कवि नवराज पोखरेल नवशिलाले सहजीकरण गरेको सो परिचर्चा कार्यक्रममा सूर्य लाकोजूको ‘घामको पर्खाल’ बारे व्यापक चर्चा भएको थियो। देशप्रेम, राजनीति, सामाजिक बेथिति, प्रेमप्रणय लगायत समसामयिक विषयमा रचिएका लाकोजूका कविताहरू मार्मिक र हृदयस्पर्शी रहेको विचार पाठकीय टिप्पणी गरेका साहित्यकारहरले व्यक्त गरेका छन्।

कवि लाकोजूका ‘स्पर्श’, ‘मेरो मन मेरो मीत’, ‘घामको चुम्बन’, ‘मेरो घाम’, ‘घाम फुल्ने याम’ र ‘घामको पर्खाल’ गरी छ कवितासङ्ग्रह प्रकाशित छन्। कविताकै उपविधा गीत, मुक्तक र हाइकुमा पनि उनको कलम चलेको देखिन्छ। कथा, सांस्कृतिक निबन्धमा पनि उनको कलमले निरन्तरता पाइरहेकै छ। ३८ कृतिका सर्जक लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत संलग्न छन्।

प्रकाशित: ११ कार्तिक २०८१ ११:५५ आइतबार

# Poet Surya Prasad Lakoju # Ghamko Parkhal #Current affairs