कला

अठासी वर्षीय कथाकार बास्ताेलाकाे ‘चिरफार’ लाेकार्पण तथा स्रष्टा सम्मान

सर्वदा साहित्य संगम,नेपालगन्जले युवा कवि भीम प्रज्वलको ‘कैयौं एकहरू’ र ८८ वर्षीय भुपेन्द्रप्रकाश बास्तोलाको ‘चिरफार’ कथासंग्रहकाे लाेकार्पण गरेकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि महानन्द ढकालले एक कार्यक्रम बीच यी दुई कृतिको लाेकार्पण गरेका हुन्। लाेकार्पण कृतिहरूबारे मन्तव्य राख्दै ढकालले पछिल्लो समय कृति प्रकाशन गर्नेहरूको सङ्ख्या तीव्र गतिमा वृद्धि हुनु राम्रो भएकाे तर कतिपय कृति पाठकहरूको हातमा पुग्न नपाउँदै हराउने गरेकाले फरक विषयवस्तु र फरक धारमा समातेर लेख्नुपर्ने चुनौती लेखकहरूसँग रहेको बताए।

प्राज्ञ ढकालले सिर्जनाहरूमा माटोको सुगन्ध आउनुपर्ने बताउँदै अन्यत्र कम पाइने र बाँकेमा भेट्टिने घसियार, पत्थरकट्टा र चिडीमारका कथाहरू अझै कम लेखिएकाले यी विषयहरूमा कलम चलाउन आग्रह गरेका थिए।

के.आर. ओली, मीना बराल र राजकुमार थारूले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै पछिल्लो समय लाेकार्पित कृतिहरू समग्रतामा आशालाग्दा भए पनि स्तरीय सिर्जनाका लागि लेखकहरूमा अध्ययन र अभ्यास हुनुपर्ने बताए।

उक्त कार्यक्रममा सल्यानका कवि बुद्धिप्रसाद रेग्मी, नेपालगन्जका बुद्धिजीवी प्राडा जनार्दन आचार्य र सुर्खेतका लेखक दलजीत रसाइलीलाई प्राज्ञ ढकालले दोसल्ला र प्रमाणपत्रद्वारा ‘सर्वदा साहित्य सम्मान’ ले सम्मान गरेका थिए।

सम्मानित व्यक्तित्वबारे सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले प्रकाश पारेका थिए। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीको सभाध्यक्षतामा भएकाे सो कार्यक्रममा जीतबहादुर शाह, प्रवेश शाह, गोल्डेन उद्भास, खेम बगर, इन्दिरा अधिकारी र दीपक आचार्य ‘जलन’ जस्ता कविले कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा पाँच दर्जन बढी साहित्यकारको उपस्थिति रहेको थियो।

प्रकाशित: १८ आश्विन २०८१ ०९:४६ शुक्रबार

# Chirfar kathasangraha